Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

दुई छोरी जन्माउनेलाई महानगरपालिकाले ६ हजार दिने !

Thursday, July 19, 2018 National Power

३ साउन, बिराटनगर – बिराटनगर महानगरपालिकाले छोरी जन्माउनेलाई प्रोत्साहनस्वरुप ३ हजार रुपैयाँ ‘पुरस्कार’ दिन थालेको छ । पहिलो सन्तानका रुपमा छोरी जन्माउनेले ३ हजार पाउँछन् भने दोस्रोपटक छोरी जन्माउनेलाई थप ३ हजार दिने महानगरले घोषणा गरेको छ । दुईवटी छोरी जन्माउने बिराटनगरबासीले अब महानगरबाट ६ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

छोरी जन्माएवापत पैसा पाउनका लागि आमाबाबुले केही शर्तहरु भने अनिवार्यरुपमा पालना गर्नुपर्ने महानगरपालिकाले मापदण्ड तोकेको छ । जस्तो– २० बर्ष उमेर पूरा गरेकी आमा हुनैपर्छ । गर्भ बसेपछि कम्तिमा ७ पटक चेकजाँच गरेको हुनैपर्छ । बच्चा घरमा नभएर स्वास्थ्य संस्थामै जन्माएको हुनुपर्छ । र, आमा नेपाली नागरिक नै हुनुपर्छ । महानगरपालिकाले ‘छोरी बचाऊ’ योजना अन्तर्गत गत आर्थिक बर्षमा १९ वटै वडाबाट पहिलो छोरी जन्माउने ५६ दम्पतिलाई ३र३ हजारका दरले १ लाख ६८ हजार रुपैयाँ वितरण गरिसकेको उपमेयर इन्दिरा कार्कीले अनलाइनखबरलाई बताइन् । बिराटनगरका रोनी विश्वकर्मा र मनिष विश्वकर्मा दम्पतिले पहिलो सन्तान छोरी पाएपछि बिराटनगर महानगरपालिकाले बधाइसहित ३ हजार नगद प्रदान गरेको थियो ।

पहिलो सन्तान जन्मेपछि लिङ्ग पहिचान गरेर गर्भ तुहाउने परम्परा विकसित भइरहेकाले त्यसलाई निरुत्साहित गर्न ३ हजार पुरस्कार प्रदान गर्ने योजना ल्याएको उनले सुनाइन् । छोरी बचाउ अयिभानका लागि गत आर्थिक वर्षमा महानगरपालिकाले ६ लाख रुपैयाँ छुट्याएको थियो । यो अभियानलाई महानगरले चालु आर्थिक बर्षमा पनि निरन्तरता दिएको छ । महानगरमा चालु आर्थिक बर्षका लागि १० लाख रुपैयाँ छुट्याइएको छ ।

साथै अब महानगरपालिकाले ‘छोरी पढाऊ’ अभियान पहिलोपल्ट सञ्चालनमा ल्याएको छ । यसका लागि १० लाख रुपैयाँ विनियोजन गरिएको उपमेयर कार्कीले जानकारी दिइन् । महानगरपालिकाले ‘छोरी बचाऊ, छोरी पढाऊ’ योजनासँगै सरकारी विद्यालयका पढ्ने छात्राहरुका लागि सेनिटरी प्याड वितरण गर्न पनि योजना अघि सारेको छ । चालु आर्थिक बर्षका लागि सेनिटरी प्याड वितरण गर्न १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जनाएको छ ।