Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

भारी वर्षाको सम्भावना, सतर्क रहन सरकारको अपिल

Saturday, June 30, 2018 National Power

१६ असार, काठमाडौं – मनसुन सक्रिय भएकाले केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रमुख नदीहरुमा जलस्तर बढ्ने क्रममा रहेकाले चुरे र मध्यपहाडका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । आगामी तीन दिन पूर्व र पश्चिमका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ । ‘देशका पूर्व र पश्चिमका धेरैजसो स्थानमा हल्कादेखि मध्यम र एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ,’ मौसम पूर्वानुमान महाशाखाले जारी गरेको सूचनामा लेखिएको छ, ‘मध्य र आसपासका केही स्थानहरुमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।’

त्यसैले जल तथा मौसम विज्ञान विभागको बाढी सतर्कता केन्द्रले पनि शनिबार बिहान ६ बजे अर्को सूचना जारी गरेर सतर्क रहन र प्रतिकार्यको लागि तयारी अवस्थामा रहन भनेको छ । सूचनामा लेखिएअनुसार वागमती, रिउ खोला, मेची, बक्राह, कन्काई, कमला, खाडो, रातु, गागन लगायत आसपासका चुरे र महाभारतबाट बहने अन्य नदीहरुको बहाव खतराको तहसम्म पुग्ने अनुमान छ । त्यसैले बाढी सतर्कता केन्द्रले सूचनामा लेखेको छ, ‘नदी तटीय क्षेत्रमा गर्नुपर्ने कार्यहरु भोलि ९आइतबार०देखि सतर्कताका साथ गर्नहुन तथा प्रतिकार्यको लागि तयारी अवस्थामा रहन अनुरोध छ ।’

आइतबार दिउँसोदेखि चुरे र महाभारतबाट बहने प्राय नदीहरुको बहाव खतराभन्दा माथि जाने अनुमान छ । त्यसैले तराई, चुरे र मध्यपहाडी क्षेत्रका नदी तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरुमा बस्नेहरुले सोमबारसम्म सतर्कता अपनाउनुपर्ने सूचनामा उल्लेख छ । कन्काई, कोसी, कमला, वागमती, नारायणी, पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरुमा पनि बहाब बढ्दो क्रममा छ । तर यी नदीहरुमा शनिबार नै खतराको तह पार गर्ने सम्भावना भने कम रहेको सूचनामा उल्लेख छ ।