Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

अमेरिकासँग युद्धको अवस्था

Friday, April 13, 2018 National Power

३० चैत, काठमाडौं – रुसले अमेरिकासँग युद्धको अवस्था बन्ने चेतावनी दिएको छ । सिरियामा रसायनिक ग्यास आक्रमणको विषयले यतिबेला अमेरिका र रुसबीच कटुता बढ्दै गएको छ । र, दुवै देशले आक्रमण गर्ने चेतावनी दिँदै आएका छन् । पछिल्लो पटक संयुक्त राष्ट्रसंघका लागि रुसी राजदूत बेसिली नेभेन्जियाले यदि अमेरिकाले सिरियामा आक्रमण गर्छ भने अमेरिका र रुसीबीच युद्धको वातावरण बन्ने बताएका हुन् । उनले युद्धका कुनै पनि सम्भावनालाई इन्कार गर्न नसकिने बताए ।

उनले अमेरिकाको रवैयाले विश्व शान्ति खलबलिने चेतावनीसमेत दिए । आउँदा केही घण्टामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रो र व्रिटेनका प्रधानमन्त्री टेरीजा मेसँग सम्पर्क गर्न सक्ने र विद्रोही नियन्त्रित सिरियाको क्षेत्रमा भएको रसायनिक हमलाको जवाफ कसरी दिने भनेर छलफल गर्न सक्नेछन् । यद्यपि ह्वाइट हाउसले अहिले नै सैन्य कारवाहीकोबारेमा कुनै निर्णय भइनसकेको स्पष्ट पारेको छ ।

यसअघि सिरियाको विद्रोही नियन्त्रित क्षेत्र डुमामा रसायनिक हमला हुँदा कयौं व्यक्ति मारिएका थिए । सो आक्रमणमा सिरियाका सेनालाई सघाउँदै आएको रुसको हात रहेको आरोप अमेरिकाले लगाउँदै आएको छ । तर, रुसले आरोप अस्वीकार गर्दै आएको छ । पछिल्लो आक्रमणपछि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो ल्याटिन अमेरिका भ्रमणसमेत रद्द गरेका थिए । भ्रमण रद्दलार्इ आक्रमणको सम्भावनासँग जोडेर हेरिएको थियो ।

त्यसअघि ट्विटरमार्फत ट्रम्पले आक्रमणको सामना गर्न तयार रहन चेतावनी दिएका थिए । ११ अप्रिलमा ट्रम्पले भनेका थिए, ‘रुस आफ्नो साथी सिरियामाथि भएको मिसाइल आक्रमण हेर्न तयार भए हुन्छ ।’ त्यसलगत्तै ट्रम्पले ल्याटिन अमेरिका भ्रमण रद्द गरेपछि अब आक्रमण गर्ने अनुमान गरिएको थियो । तर, त्यसको चौबीस घण्टापछि फेरि अर्को ट्विट गर्दै ट्रम्पले भनेका छन्, ‘मैले कहिले पनि भएको छैन कि सिरियामाथि कहिले आक्रमण गर्छौं । छिट्टै पनि हुनसक्छ या फेरि कहिल्यै नहुन पनि सक्छ । जे भए पनि मेरो प्रशासन अमेरिकाले उक्त इलाकामा इस्लामिक स्टेटलाई लखेट्नका लागि राम्रो काम गरेको छ । यसकालागि कसैले पनि हामीलाई धन्यवाद भनेका छैनन् ।’