Sunday 12th October 2025

    विजया दशमी २०८२ : धार्मिक, साँस्कृतिक र सामाजिक पर्व    ई. दिपेन्द्रलाई खानेपानी मन्त्री बनाउन जेनजीको माग    सोफा हब काठमाडौंले सुरु गर्यो ‘दशैँ–तिहार झटका अफर’, थाइल्यान्ड भ्रमणदेखि फ्रिजसम्म उपहार    राजनीतिक अस्थिरताका कारण नेपालमा बलिउड फिल्मको छायाङ्कन रोकियो    जेनजी आन्दोलनमा सुदूरपश्चिमले गुमायो सात युवा

नाजिरको नृत्यको तारिफ

Friday, July 25, 2025 National Power

काठमाडौं- चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ को गीत ‘म फूल हुँ कि काँडा’ सार्वजनिक भएसँगै दर्शकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ । पछिल्लो समय सानो विषयमा समेत आलोचना गर्ने प्रवृत्ति बढ्दै गएको भए पनि, यस गीतले भने शतप्रतिशत प्रशंसा बटुल्न सफल भएको छ । गीतको लोकप्रियता मात्र होइन, यसमा नृत्य तथा अभिनय गर्नुभएका अभिनेता नाजिर हुसेनको कला र क्षमताले विशेष चर्चा पाइरहेको छ । युट्युबलगायत सामाजिक सञ्जालमा उहाँलाई ‘बहुमुखी अभिनेता’ भन्दै प्रशंसा गर्नेहरू बढिरहेका छन् ।

दर्शकहरू नाजिरलाई अभिनय प्रतिभा उजागर गर्ने ‘पूर्ण बहादुरको सारंगी’ जस्तै एउटा विशेष चलचित्र आवश्यक रहेको प्रतिक्रिया दिइरहेका छन् । विजय थापा लेख्नुहुन्छ, ‘नाजिर, तिमी एक महान् अभिनेता हौ । उत्कृष्ट पात्रहरूमा अभिनय गरिरहनु । विवादबाट टाढा रहनु, शुभकामना ।’

चलचित्रमा नाजिरले ट्रान्सवुमन (तेस्रोलिंगी महिला)को भूमिका निर्वाह गर्नुभएको छ । दर्शकहरूले उहाँको गेटअप हेरेर ‘के साँच्चै नाजिर नै हो ?’ भनी अचम्म प्रकट गरेका छन् । ‘वाउ, हृवाट अ पर्फर्मेन्स !’ भन्ने प्रतिक्रिया सामान्यजस्तै भएको छ । रिसभ आले लेख्नुहुन्छ, ‘साँचिकै भन्नुपर्दा मैले पहिलोपटक भिडियो हेर्दा नाजिरलाई चिन्न सकिन । दोस्रो पटकमात्र पहिचान गर्न सकेँ । अभिनयको लागि सलाम ।’
गीतमा शब्द लेखु सहयात्रीको छ भने स्वर मनिषा पोखरेलको र संगीत लेखु स्वयंको छ । समुन्द्र भट्टको निर्देशनमा बनेको चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’ भदौ १३ गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्र ट्रान्सवुमनको जीवन संघर्ष र समाजसँगको अन्तक्र्रिया प्रस्तुत गर्ने उद्देश्यका साथ निर्माण गरिएको हो । यसमा नाजिरसँगै सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीको अभिनय छ ।

नेपालमा पहिलोपटक लैंगिक तथा यौनिक अल्पसंख्यक पात्रलाई पूर्णरूपमा केन्द्रमा राखेर निर्माण गरिएको यस चलचित्रको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले खरिद गरिसकेको छ । चलचित्रको सम्पूर्ण पोष्ट–प्रोडक्सन कार्य विदेशमै गरिएको छ । एडिटिङ, कलर ग्रेडिङ, साउन्ड डिजाइन, मिक्सिङ र ब्याकग्राउण्ड म्युजिक हलिउड स्तरमा गरिएको छ । ‘ग्ल्याडिएटर-२’ मा स्वर दिएकी हलिउड गायिका लिजा जेरार्डले यस चलचित्रमा समेत स्वर दिनुभएको छ भने संगीतकार मार्सेलो दि फ्रान्सिसीले ब्याकग्राउण्ड स्कोर तयार पार्नुभएको छ ।

चलचित्र नेपाली तथा हलिउड प्रोडक्सन हाउसको संयुक्त लगानीमा बनेको हो । आकाश बुढाथोकी र भि-भन्से जानुबोनको लगानी रहेको चलचित्रका कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुनुहुन्छ । सहनिर्मातामा अनुपम श्रेष्ठ रहनुभएको छ । चलचित्रको छायांकन आलोक शुक्लाले गर्नुभएको हो । ‘गुन्यु चोलो : द ड्रेस’ अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा समेत छनोट भइसकेको छ ।