Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

बंगलादेश बाट नेपाल सम्म बस सेवा सञ्चालन गर्ने तयारी

Sunday, December 31, 2023 National Power

ढाका –  बंगलादेश रोड ट्रान्सफोर्ट कर्पोरेसन (बीआरटीसी)ले नेपाल र भारतमा चारवटा नयाँ अन्तर्राष्ट्रिय रुटको बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सस्तो हुने भएकाले धेरै मानिसहरू बसमा यात्रा गर्न इच्छुक देखिएकाले यस्तो योजना बनाइएको हो ।

बीआरटी अधिकारीहरूका अनुसार चार नयाँ रुटहरूमा चट्टोग्राम–कोलकाता, ढाका–गान्टोक (सिक्किम), बारिसाल–कोलकाता र ढाका–नेपाल रहेका छन् । डेली सनका अनुसार बीआरटीसीले सन् २०१८ मा नै ढाका–नेपाल रुटबारे सर्वेक्षण गरेको थियो । दुईवटा बसमा ८० जना प्रतिनिधि बोकेर परीक्षण यात्रा गरिएको थियो ।  तर, यसको सुरुवात भने हुन सकेको थिएन ।
त्यस्तै, चट्टोग्राम–कोलकाता रुट व्यावसायिक रूपमा सफल हुने सर्वेक्षणमा पाइएको छ । यसका लागि बीआरटीसीले रोर्ड ट्रान्सपोर्ट र ब्रिजेज मन्त्रालयलाई प्रस्ताव पठाइसकेको छ । त्यहाँबाट उक्त प्रस्ताव अन्तिम निर्णयका लागि विदेश मन्त्रालय पुगिसकेको छ ।
ढाका–गान्टोक–दार्जिलिङ रुटका लागि पनि सन् २०१९ मा नै सर्वेक्षण र परीक्षण यात्रा सम्पन्न भइसकेको छ । यसका लागि दुवै देशको सहमतिको पर्खाइ रहेको छ । बारिसाल–कोलकाता रुटमा भने खासै प्रगति हुन सकेको छैन । ‘ढाका–नेपाल बस रुटमा कुरा धेरै अघि बढेको छ । तर, यसका लागि केही समय लाग्नसक्छ । किनभने यहाँ तीनवटा देश संलग्न हुन्छन्,’ बीआरटीसीका अध्यक्ष एमडी ताजुल इस्लामले डेली सनसँग भने, ‘यहाँ भूराजनीतिक स्वार्थ पनि जोडिएको छ ।’

बंगलादेशले सन् १९९९ मा पहिलोपटक ढाका–कोलकाताको अन्तर्राष्ट्रिय बस सेवा सुरु गरेको थियो । हाल ढाका–कोलाकातासहित अगरताला–ढाका, ढाका–सिलोङ–गुवाहाटी र ढाका–खुल्ना–कोलाकता गरी चारवटा अन्तर्राष्ट्रिय रुटहरू रहेका छन् ।