Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

वडा स्तरिय माध्यमिक तह वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Sunday, March 20, 2022 National Power

मायालु लामा/ काठमाडौँ
नेपालमा सामाजिक रुपान्तरणको सुरुवात जयस्थिति मल्लका पालादेखि सुरु भएको पाइन्छ। नेपालको संविधान २०७२ ले राज्य सञ्चालन र समाजको दैनिकीमा प्रत्येक्ष असर पार्ने उद्देश्य सहित विभिन्न अग्रगामी सामाजिक रुपान्तरणका प्रावधानहरुको व्यवस्था गरेको छ। तर, राम्रो कानुनको निर्माणले मात्रै समाजको निर्माण भने हुँदैन। त्यसका लागि कानुनको प्रभावकारी कार्यान्वयन गरिनुपर्दछ ।

सामाजिक रुपान्तरण गरी समतामुलक समाजको निर्माणका लागि बालबालिकाहरुको पनि उतिकै भूमिका रहेको पाईन्छ । उनीहरुलाई कितावी ज्ञानका साथै समसामायिक महत्वपूर्ण विषयको बारेमा पनि जानकारी गराउनुपर्छ । राष्ट्रको सम्मुन्नत विकास र संसार सामु चिनाउन बालबालिकाको नै मुख्य भुमिका रहन्छ । समाजलाई राम्रो बनाउन बालबालिका र किशोरावस्थादेखि नै प्रशिक्षत गर्दै लानुपर्नेमा जोड दिए । समाज र देशको भविष्य भनेकै युवाहरुको काँधमा हुने भएकाले उनीहरुलाई बाल्यावस्था र किशोरावस्थामै प्रशिक्षित गर्न सके रुपान्तरण संभव हुनेछ ।

त्यसैलाई, मध्यनजर गर्दै विभिन्न संघ संस्था, प्रशासन, स्थानीय निकायका साथै विद्यालयहरुले पनि बालबालिका लक्षित कार्यक्रमहरु गर्दै आएको पाईन्छ । यसैबिच, शनिबार बुढानीलकण्ठ नगरपालिका वडा नं १० ले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा पनि विभिन्न विद्यालयका विद्यार्थीहरुले समाज रुपान्तरणका लागि वडाको भूमिका कस्तो रहन्छ र आगामी दिनमा के गर्दा उचित होला भन्ने विषयमा आ आफ्ना भनाई राखेका थिए ।

बाल सचेतना केन्द्र नेपालको संयोजनमा ”समाज रुपान्तरणको लागि मेरो वडा मेरो सपना” शिर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा रिलायन्श एकेडेमीमा अध्ययनरत छात्रा प्रश्ना थपलिया प्रथम भएकी छन् । वडास्तरीय वक्तृत्वकला प्रतियोगितामा वडा भित्रका ९ वटा विद्यालयका १० जना प्रतिस्पर्धीको सहभागिता रहेको थियो ।

त्यस्तै उक्त प्रतियोगितामा रिलायन्श पब्लिक स्कुलका ओजस्वी निरौला द्धितीय, त्रिनेत्र विद्या निकेतनकी सुस्मिता बस्नेत तृतीय र जुगल ईगिलिस मेडियम स्कुलकी शुदिक्षा थापा मगरले सान्त्वना स्थान हासिल गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम,द्वितीय,तृतीय र सान्त्वना स्थान प्राप्त गरेका विद्यार्थीहरुलाई क्रमशः रु ५ हजार ,२ हजार ५ सय, १ हजार ५ सय रूपैंया र १ हजार नगर पुरस्कार सहित प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा.राजन भट्टराईले वक्तृत्वकला प्रतियोगिताले विद्यार्थीहरुमा निहित प्रतिभालाई प्रस्फुटन गर्ने अवसर समेत प्रदान गरेको विचार व्यक्त गरेका थिए । यस्तै, बाल सचेतना केन्द्र नेपालका अध्यक्ष बाबु राम फुयालले आफुहरुले विभिन्न समयमा विभिन्न स्वास्थ्य, शैक्षिक, सामाजिक तथा साँस्कृतिक, महिला हरुका लागि शिपमुलक कार्यहरु समेत गर्दै आएको बताए ।

प्रतियोगितामा वडा अध्यक्ष नवराज भट्टराई, वडा प्रतिनिधिहरु,वडा नं १२ का वडा अध्यक्ष शम्भुप्रसाद भट्टराई, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, बाल सचेतना केन्द्र नेपालका सम्पूर्ण सदस्य, सल्लाहकार, समाजसेवी राजु कार्की, राजन थापा पत्रकार लगायत स्थानियको उपस्थित रहेको थियो ।