Friday 13th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

सुजाताले गरिन् काँग्रेस सभापतिको उम्मेदवार बन्ने घोषणा

Saturday, October 31, 2020 National Power

काठमाडौं – नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टी सभापतिको उम्मेदवार बन्ने घोषणा गरेकी छिन् । उनले पार्टीको चौंधौं महाधिवेशनमा सभापतिका लागि उम्मेदवार बन्ने घोषणा गरेकी हुन् ।

‘पार्टीको पुरानो साखलाई फिर्ता गरेर देशलाई एउटा निकास दिने दृढ संकल्प र अठोटका साथ म पार्टीको चौधौं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने निर्णय गरेकी छु,’ सुजाता कोइरालाले भनिन् । उनले पार्टीमा योगदान गरेका अग्रज तथा युवापुस्ताबीच समन्वय गरी अगाडि बढ्ने संकल्प गरेको बताउँदै सबैलाई सहयोगको आग्रह समेत गरेकी छिन् ।

पार्टीलाई पुर्नजिवन दिनुपर्ने बेला भएको भन्दै सबैले अब रुपान्तरित भएर बढ्नुपर्ने बेला आएको बताइन् । ‘आज पार्टीमा निरन्तर योगदान गरेर संगठन गरेरका साथीहरु भूमिकाविहिन हुनुभएको छ,’ कोइरालाले भनिन्, ‘पार्टीमा त्याग गरेका इमान्दार नेता तथा कार्यकर्ताहरुको उचित मूल्यांकन भइराखेको छैन ।’

कोइरालाले पार्टी नेतृत्वको चर्को आलोचना गर्दै देश र जनतामा भन्दा आफू केन्द्रित भएको आरोप लगाइन् । उनले भनिन्, वीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई लगायतको दुरदृष्टि र योजनाले पार्टीले विभिन्न कालखण्डमा ठूलै भूमिका पाएको थियो ।

पार्टीभित्र नेता कार्यकर्ताको ठूलो पंक्तिमा चरम निराशा छाएको औल्याउँदै कोइरालाले काँग्रेस शिथिल हुँदा सिंगो मुलुक नै अधिनायकवादतर्फ जाने खतरा बढेको बताइन् । पार्टी र देशलाई संकटबाट जोगाउन पनि आफूले काँग्रेसको नेतृत्व गर्ने दिशामा पाइला बढाएको बताइन् ।

काँग्रेसभित्र चौधौं महाधिवेशनमा एक दर्जन जति नेतृत्वका आकांक्षी भइरहँदा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाको उम्मेदवारी घोषणालाई अर्थपूर्ण मानिएको छ । कोइराला परिवारभित्रै सुजातासहित महामन्त्री डा. सशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि सभापतिका आकांक्षी हुन्।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री भइसकेकी सुजाता कोइराला पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाकी छोरी हुन् । उनका पिता लामो समय काँग्रेस सभापति थिए । सुजातासँग लामो समय काँग्रेसको विदेश विभागको नेतृत्व हाँकेको अनुभव समेत रहेको छ ।