
काठमाडौं – काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा खुकुलो बनाएकामा जनप्रतिनिधिले असन्तुष्टि जनाएका छन् । उपत्यका नगरपालिकाका फोरमका उपाध्यक्ष चिरिबाबु महर्जन र सचिव मदनसुन्दर श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गरी निर्माणसँग सम्बन्धित पसल– व्यवसाय खुला गरेकामा असन्तुष्टि जनाएका हुन् ।
‘यसले गर्दा निषेधाज्ञाको खासै अर्थ र उपादेयता नरहने तथ्यलाई ध्यानमा राखी अतिआवश्यक बस्तु र सेवालाई विहान ११ बजेसम्म मात्र खोल्न सकिनेसम्मलाई कायम राख्दै अन्य समयमा पसल–व्यवसाय सञ्चालनमा रोक लगाउने गरी अविलम्ब निषेधाज्ञा आदेश सुधार गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिन्छ’ विज्ञप्तिमा भनिएको छ ।
बुधबार काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको निषेधाज्ञाको आदेशमा निर्माणसँग सम्बन्धित पसल व्यवसाय र छोटो ढुवानी दिउँसो २ देखि राति ९ बजेसम्म खुला गर्न सकिने उल्लेख गरिएको छ । प्रशासनको निर्णयपछि बिहीबारदेखि उपत्यकामा निर्माणसँग सम्बन्धित व्यवसाय खुलेको छ ।