
बझाङ – कोरोना संक्रमितको संख्या बढन थालेपछि जिल्ला प्रशासन कार्यालयले बझाङका तीन वटा स्थानीय तहका पाँच वटा वडा सिल गरेको छ । डिसिसिएमसीको बैठकले दुर्गाथली गाउँ पालिकाको वडा नम्बर ४, ५ र ७, खप्तडछान्ना गाउँपालिकाको वडा नम्बर ६ र छबिस पाथिभेरा गाउँपालिकाको वडा नम्बर ६ लाई पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको हो ।
दुई दिनको अवधीमा ७० जनालाई कोरोना संक्रमण पुष्टि भएको दुर्गाथली गाउँपालिकाको वडा नम्बर ४ र ५ लाई भदौ १५ देखि २८ गतेसम्म सिल गर्ने निर्णय गरिएको छ भने सोही गाउँपालिकाको वडा नम्बर ७ लाई भदौ २१ गतेसम्मका लागि सिल गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै खप्तडछान्ना गाउँपालिकाको वडा नम्बर ६ र छबिस पाथिभेरा गाउँपालिकाको वडा नम्बर ६ लाई पनि भदौ २१ गतेसम्मका लागि पूर्णरुपमा सिल गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।
यता दुर्गाथली गाउँपालिकामा शनिबार र आइतबार संक्रमण पुष्टि भएका ७० जना समुदायका सबैसँग घुलमिल भएको पाइएको छ । सिल गरिएका वडामा संक्रमितहरुको सम्पर्कमा गएकाहरुको परीक्षणका लागि कन्ट्याक्ट ट्रेसिङ गर्न गएका स्वास्थकर्मीहरुले संक्रमितहरु क्वारेन्टाइन छोडेर घर गएको र सबैसँग घुलमिल भएको पाइएको बताए ।
‘एउटै चुरोट तीन–चार जना बसेर खाएका रहेछन्,’ स्वास्थ्य कार्यालय बझाङका फोकल पर्सन नारायण जोशीले भने, ‘खाना खान क्वारेन्टाइनमा जाने र दिनभर गाउँघरमा आएर तास खेल्ने गरेको समेत पाइयो ।’ उनले संक्रमितहरु व्यापकरुपमा समुदायमा घुलमिल भएकोले कन्ट्याक्ट ट्ेरसिङ गर्न समेत गाह्रो भएको बताए ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा शनिबार वडा नं ४ को एउटै टोलका २० जना र वडा नं ५ का ३ जनामा संक्रमण देखिएको थियो । आइतबार वडा नं ४ का थप १९ जना, वडा नं ५ का २७ जना र वडा नं ७ का १ जना गरी जम्मा ४७ जनामा संक्रमण पुष्टि भएको थियो ।