Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

पछिल्लो एक सातामा कोरोना संक्रमित हुनेभन्दा निको हुने चार गुणा बढी

Friday, July 17, 2020 National Power

पछिल्लो एक हप्तायता नयाँ कोरोना संक्रमित थपिनेको संख्या भन्दा निको हुनेको संख्या चार गुणा बढी देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो एक हप्तामा ८ सय २२ जना नयाँ संक्रमित थपिँदा ३ हजार ३ सय ४७ जना निको भएका छन्। यसरी निको हुने संख्यामा उल्लेख्य सुधार आएको छ।

बिहीबार १ सय ६७ जना नयाँ संक्रमित थपिँदा २ सय १३ जना निको भए। यस्तै बुधबार १ सय १६ जना संक्रमित थपिए। जसमा ६ सय ९८ निको भएर घर फर्किए। मंगलबार पनि १ सय १६ जना संक्रमित थपिएका थिए भने ३४ जना डिस्चार्ज भएका थिए। उक्त दिन मात्र निको हुने भन्दा थपिने संक्रमित बढी देखिएको हो।

सोमबार भने १ सय ४४ संक्रमित थपिँदा एक हजार ७ सय ५ जना निको भए। यो अहिलेसम्म एकैदिन बढी निको भएकाको संख्या हो। आइतबार पनि १ सय ४७ निको भएर घर फर्किंदा जम्मा ८२ जना संक्रमित थपिए। यस्तै, शनिबार ७९ जना संक्रमित थपिए भने ४ सय ३१ जना निको भए। शुक्रबार भने झन्डै थपिने र निको हुने संख्या बराबर भयो। १ सय १८ जना संक्रमित थपिँदा १ सय २० जना निको भएर घर फर्किए।

यसरी हेर्दा पछिल्लो एक हप्तामा मंगलबार बाहेक सबै दिन थपिने भन्दा निको हुनेको संख्या बढी छ।मन्त्रालयकै तथ्यांक अनुसार पछिल्लो एक हप्तामा ३२ हजार ६ सय ८३ जनाको पिसिआर परीक्षण गरिएको छ। जसमा बिहीबार ४९४१, बुधबार ५०९०, मंगलबार ४४२२, सोमबार ५८५६, आइतबार ३९१६, शनिबार ३६४८ र शुक्रबार ४८१० जनाको परीक्षण गरिएको हो।

आजको परीक्षण संख्या भने दिउँसो ४ बजेको नियमित प्रेस ब्रिफिङमा जानकारी गराइनेछ।मन्त्रालयले पछिल्लो समय क्वारेन्टिनमा बस्ने मानिसहरूको संख्या कम भएकाले परीक्षणको संख्या घटेको बताउँदै आएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक परीक्षण क्षमता १० हजार बढी रहेकाले आवश्यक परे परीक्षण बढाउन सकिने बताए। अहिले देशभर रहेका २५ वटा प्रयोगशालाहरूबाट औसत साढे ४ हजार जनाको परीक्षण हुँदै आएको छ।