Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

समझदारी र सहमतिमा देश र जनतालाई अघि राखेर काम गरे समस्याको हल निस्कन्छ : प्रचण्ड

Saturday, July 11, 2020 National Power

चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको विश्वास गुम्न नदिने बताउनुभएको छ ।
नेपाल कम्युनिस्ट पार्टी माडीद्वारा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले कम्युनिस्ट आन्दोलनलाई ऐक्यबद्ध बनाउनका लागि जनताले साथ दिएको भन्दै जनताको विश्वास गुम्न नदिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पार्टी एकताबद्ध बनाउँदै समाजवादको बाटोमा हिँड्नका लागि जनताले विश्वासका साथ मत दिएका हुन् । त्यसमा कहीँ कसैले चुक्नु हुँदैन । हतारमा निर्णय गरेर भोलि पछुताउने समय नआओस् भन्ने नै हो ।’ अध्यक्ष दाहालले अब पार्टी दुर्घटनामा नजाओस् र देश दुर्घटनामा नजाओस् भन्नका लागि पार्टीभित्रको विवाद मिलाउन लागिपरेको बताउनुभयो ।

उहाँले थप्नुभयो, ‘कुनै न कुनै समझदारी र सहमतिमा देश र जनतालाई अघि राखेर काम गरे समस्याको हल निस्कन्छ’, उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको चाहना पनि सहमति र समझदारी गरेरै अघि बढ्ने रहेको छ ।’ कार्यकर्ताहरुलाई निर्देशन दिँदै अध्यक्ष दाहालले हतार गरेर कुनै खालका गतिविधि नगर्न आग्रह गर्नुभयो ।

कार्यकताहरु एकताको पक्षमा दृढ भएर उभिने समय आएको उहाँको भनाइ थियो । यस अवसरमा उहाँले कोरोना सँगसँगै बाँच्न र हिँड्न सिक्नुपर्ने बताउनुभयो । यद्यपि सचेत भने हुनुपर्ने उहाँको भनाइ थियो । आफू निर्वाचित भएको माडी क्षेत्रमा अरूले गरेजस्तो सामान्य विकास निर्माणले नहुने भन्दै दीर्घकालीन महत्त्व राख्ने महत्त्वपूर्ण आयोजनाहरु अघि बढेको उहाँले बताउनुभयो ।

निकुञ्ज ऐन संशोधन प्रक्रियामा रहेको, आकाशे पुलका लागि अध्ययन गर्न एक करोड रुपैयाँ विनियोजन भएको र चक्रपथ निर्माण गर्ने योजना रहेको पनि उहाँले बताउनुभयो । यस अवसरमा माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले माडीमा भएका विकास निर्माणका बारेमा जानकारी गराउनु भएको थियो । शनिबार नै दाहालले बाढीले बगाएर मृत्यु भएकाको घरमा पुगेर जानकारी लिनुभएको थियो ।