Wednesday 11th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

प्रधानमन्त्रीले आफूमाथि तानावाना बुन्ने काम जारी रहेको भन्दै प्रचण्डसँग असन्तुष्टि पोखे

Wednesday, April 29, 2020 National Power

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सचिवालय बैठक बुधबार बोलाउने सहमति भएको छ।

बैठक बोलाउने सहमति हुनुअघि सो भेटमा प्रधानमन्त्री ओलीले आफूमाथि षड्यन्त्र भएको भन्दै आक्रोश व्यक्त गरेका थिए। पार्टीका नेताहरूको सुझावमा आफूले लचक भएर अध्यादेश फिर्ता गरे पनि आफूमाथि षड्यन्त्र गरिएको भन्दै प्रधानमन्त्रीले रोष व्यक्त गरेको एक नेताले बताए।

प्रधानमन्त्रीले आफूमाथि तानावाना बुन्ने काम जारी रहेको भन्दै प्रचण्डसँग असन्तुष्टि पोखेका थिए।

जवाफमा प्रचण्डले स्थायी कमिटी बैठक बोलाउन भनेर २० जना सदस्यले लेखेर दिएकाले त्यसको मिति तय गर्न सचिवालय बैठक बस्न जरूरी भएको बताएका थिए।

सचिवालय बैठक बुधबार बोलाउन प्रधानमन्त्रीले सहमति जनाए पनि स्थायी कमिटी बैठक बोलाउनेबारे उनले केही भनेनन्। प्रचण्ड र नेकपा नेता माधव नेपालसँगको भेटमा प्रधानमन्त्रीले स्थायी कमिटी बैठक अहिले नै बोलाउन आनाकानी गर्दै आएका छन्।

‘दुई अध्यक्षले अहिलेसम्म उठेका विषयमा आ-आफ्ना धारणा राख्नुभयो। एकअर्काको कुरा सुनाउने काम भयो,’ प्रचण्डनिकट एक स्थायी कमिटी सदस्यले भने, ‘मुख्य कुरा, अहिलेलाई सचिवालय बैठक राख्न दुई अध्यक्ष सहमत भएका छन्। बाँकी कुरा त सचिवालयले नै निर्णय गर्छ होला।’

यसअघि वैशाख ८ गते नेकपा सचिवालय बैठक बसेको थियो। उक्त बैठकमा सरकारले ल्याएको अध्यादेशबारे छलफल भएको थियो। सचिवालयका अधिकांश सदस्यले अध्यादेश फिर्ता लिनुपर्ने धारणा राखेका थिए भने प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र पार्टी महासचिव विष्णु पौडेलले अध्यादेशको बचाउ गरेका थिए।

विधानअनुसार कमिटी बैठक तीन महिनाभित्र बोलाउनुपर्नेमा सो समय कटिसकेकाले पनि बैठक तुरुन्तै बोलाउनुपर्ने सदस्यहरूको माग छ। स्थायी कमिटी बैठक बोलाउनुभन्दा पहिला सचिवालय बैठक बोलाउन प्रचण्डसहितका सचिवालय सदस्यले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए।

प्रधानमन्त्रीले भने सचिवालय बैठक बोलाउनभन्दा पनि सचिवालयका नेताहरूसँग छुट्टाछुट्टै कुराकानीमा जोड दिएका दिँदै आएका छन।

बालुवाटारले यसअघि मंगलबार सचिवालय बैठक बोलाउने बताएको थियो। तर मंगलबार प्रधानमन्त्री ओलीले सचिवालय बैठक नबोलाई अध्यक्ष प्रचण्डलाई छलफलका लागि डाकेका थिए।

बालुवाटार जानुअघि प्रचण्ड वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। बुधबार बस्ने सचिवालय बैठकमा स्थायी कमिटी बैठकको मिति तोक्न माग गर्ने प्रचण्ड-नेपाल पक्षका नेताहरूको तयारी छ।