Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

नेपालकै पहिलो वाटर एटीएम ललितपुरमा, एक लिटर पानीको मूल्य १० रुपैयाँ

Tuesday, March 5, 2019 National Power

ललितपुर – काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा ललितपुर महानगरपालिकाको प्राङ्गणमा वाटर एटीएमको उद्घाटन गरिएको छ ।

खानेपानी मन्त्री बिना मगरले मंगलबार नेपालमा पहिलो पटक वाटर एटीएमको उद्घाटन गर्नुभएको हो । उद्घाटनपछि उहाँले एटीएमबाट पानी निकालेर पिउनुभएको थियो । यस्तो प्रविधि नेपालमा पहिलो पटक सार्वजनिक भएको बोर्डका कार्यकारी निर्देशक डा. संजीवविक्रम राणाले जानकारी दिनुभयो ।

पहिलो पटक शुभारम्भ गरिएको वाटर एटीएम मेसिन काठमाण्डौ उपत्यकाका बीस ठाउँमा जडान गर्दै लगिने कार्यकारी निर्देशक राणाले बताउनुभयो । उद्घाटनपछि कार्यक्रममा बोल्दै मन्त्री मगरले बाटोमा हिंड्ने बटुवाको प्यास मेटाउने कार्यमा वाटर एटीएम सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले पिउने पानीको गुणस्तरलाई सधैं ध्यान दिइ कहीँ कतै चुक्न नदिन बोर्डलाई निर्देशनसमेत दिनुभएको छ । उहाँले भन्नुभयो, ‘हामीले किनेर खाने बोतलको पानी कहिलेकाँही त्यसै फालिरहेका हुन्छौं । जति चाहिने हो त्यति पानी पिउनका लागि वाटर एटीएम एकदमै उपयोगी छ । धेरै प्यासीहरुको प्यास मेटाउन वाटर एटीएम सफल हुनेछ ।’

वाटर एटीएमलाई नेपालीमा पँधेरो नामाकरण गरिएको छ । यस एटीएमबाट २ सय मिलिलिटर र एक लिटर पानी झारेर पिउन पाइने व्यवस्था गरिएको छ । २ सय मिलिलिटर पानीको मूल्य दुई रुपैयाँ र एक लिटर पानीको मूल्य १० रुपैयाँ राखिएको छ ।

यस एटीएममा दुई रुपैयाँको सिक्का हालेपछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटीएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाइने व्यवस्था गरिएको छ ।

बोर्डले सुपिङ इन्टरनेशनल कम्पनीसँग सहकार्य गरेर यस्तो प्रविधि भित्र्याएको हो । वाटर एटीएम मेसिन सञ्चालन गर्ने सम्बन्धमा बोर्ड, महानगरपालिका र सुपिङ कम्पनीबीच त्रिपक्षीय सम्झौता भएको छ ।