२३ असोज,पर्वत – जिल्लाका विभिन्न स्थानमा दुई दिनसम्म सञ्चालित मुटुरोग परीक्षण शिविरमा झण्डै ८०० जनाको मुटु परीक्षण गरिएको छ ।
जिल्ला सदरमुकाम कुश्माबजार र फलेवास नगरपालिकास्थित देवीस्थानमा छुट्टाछुट्टै शनिबार र आइतबार सञ्चालित शिविरबाट उक्त संख्याका बिरामीको परीक्षण गरिएको हो ।
आइतवार कुश्मामा सञ्चालित शिविरमा झण्डै ५०० र शनिबार फलेवासमा सञ्चालित शिविरमा २५० भन्दा बढीको परीक्षण गरिएको आयोजक लायन्स क्लब अफ शिवालयले जनाएको छ ।
पर्वत समाज बेल्जियमको आर्थिक सहयोग, लायन्स क्लब अफ शिवालय कुश्मा, पर्वतको आयोजना र मुटु जोगाउ काठमाडौँको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरबाट कुश्मा नगरपालिकालगायत बागलुङ जिल्लाका नागरिकलाई प्रत्यक्ष फाइदा पुगेको कार्यक्रम संयोजक डिआर शर्माले जानकारी दिनुभयो ।