Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

सार्क समिति र बिमस्टेकको बैठक काठमाडौंमा हुने

Sunday, January 22, 2017 National Power

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को बैठक यही माघ महिनामा नेपालमा हुने भएका छन् । 

 


 क्षेत्रीय सङ्गठन सार्क र बिमस्टेकको अध्यक्ष नेपालले यही माघ १९ र २० गते सार्क कार्यक्रम समितिको र २३ देखि २५ गतेसम्म बिमस्टेकका तीन तहका बैठकआयोजना गर्न लागेको हो । हरेक वर्ष कम्तीमा कार्यक्रम समितिका दुईवटा बैठक हुनुपर्ने सार्कको प्रावधानअनुसार सदस्य मुलुकका सहसचिव सम्मिलित ५३ औँ बैठक हुन लागेको परराष्ट्र मन्त्रालयको क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले  बताए ।
 

यसैगरी माघ २३ गते बिम्स्टेकको सत्रौँ संयुक्त कार्यदल, २४ गते सत्रौँ उच्च पदाधिकारी तयारी बैठक र २५ गते सदस्य देशका विदेश मन्त्रालयका सचिवको सत्रौँ बैठक निर्धारण भएको उनले बताए । 

सार्क सचिवालय सञ्चालनलगायत बजेटसँग सम्बन्धित विषयमा कार्यक्रम समितिको ५३ औँ बैठक केन्द्रित हुने जानकारी दिँदै उहाँले बिमस्टेक बैठकमा बिमस्टेकले प्राथमिकता तोकेका सामाजिकआर्थिक विकासका १४ क्षेत्रमा भएका प्रगतिको समीक्षा गरिने बताउनुभयो । 

पाकिस्तानमा आयोजना हुने सार्क शिखर सम्मेलन स्थगन भएकाले अध्यक्षता हस्तान्तरण नभएको नेपालले उक्त बैठक आयोजना गर्नुपरेको हो । बिमस्टेकको चौथो शिखर सम्मेलन यसै वर्ष नेपालले आयोजना गर्ने सन्दर्भमा तीन तहका बिमस्टेक बैठक राजधानीमा हुन लागेका हुन् । सार्क कार्यक्रम समितिको बैठकमा अफगानिस्तान, बङ्गलादेश, भुटान,भारत, मालदिभ्स, पाकिस्तान र श्रीलङ्काका अधिकारीले सहभागिताको सुनिश्चितता गरिसकेका छन् । 

त्यसैगरी, बङ्गलादेश, भारत, म्यान्मा, थाइल्याण्ड र श्रीलङ्काका अधिकारीले पनि बिमस्टेक बैठकमा भाग लिने निश्चय भइसकेको छ । बिमस्टेकले गरिबी निवारण, व्यापार तथा लगानी, यातायात र सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, कृषि,मत्स्यपालन, वातावरण तथा विपद् व्यवस्थापन, जनस्वास्थ्य, सदस्य देशका जनताजनताबीचको सम्पर्क विस्तार,प्रतिआतङ्कवाद र अन्तरदेशीय अपराध नियन्त्रण तथा जलवायु परिवर्तनलाई प्राथमिकताका क्षेत्रमा राखेको छ ।