Thursday 2nd May 2024

    ८६ बर्षिया ज्योती कोईरालाको लोपोन्मुख गितहरुको संग्रहको विमोचन    ‘माइती घर’का नायक सिपी लोहनीको निधन    लोक गायक कस्तुप पन्तलाई मातृ शोक    श्रमिकको बारेमा‘वफवान’को अभियान,गीतमार्फत दोहोरीसाँझदेखि मसाज सेन्टरसम्मका यथार्थ चित्रण    ‘आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण’ : अध्यक्ष सिंह

पिपिई माग्ने स्वास्थ्यकर्मीको जागिर गयो

Wednesday, April 22, 2020 National Power

दाङ -दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना भाइरसको उपचारमा संलग्न स्वास्थ्यकर्मीलार्ई पिपिई मागेको भन्दै जागिरबाट निकालेको छ । प्रतिष्ठानले डाक्टर र स्टाफ नर्स गरी दुईजनालाई जागिरबाट हटाएको हो । प्रतिष्ठानका पदाधिकारीको कार्यशैलीबाट आजित हुँदै डा.सृष्टि चौधरी र स्वास्थ्यकर्मी सिमेन्द्र खड्काले पदबाट राजीनामा दिएका छन् । यो संकटको समयमा स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुको साटो अनावश्यक रूपमा धम्क्याउने, स्वास्थ्य सामग्री माग्दा जागिरबाटै हटाइदिने गर्न थालेपछि बाध्य भएर डा.चौधरी र खड्काले राजीनामा दिएको प्रतिष्ठानमा कार्यरत एक स्वास्थ्यकर्मीले बताए ।

प्रतिष्ठानमा कार्यरत चिकित्सक डा.अमृता श्रेष्ठलाई पिपिई मागेको भन्दै जागिरबाट हटाइएको छ । पिपिई माग गर्दा पनि नपाएपछि डा.श्रेष्ठले बिरामी जाँचिरहेको तस्बिर खिचेकी थिइन् । उनले प्रतिष्ठानको इमर्जेन्सी वार्डमा कार्यरत स्वास्थ्यकर्मीले खोलेको फेसबुक ग्रुपमा यस्तो संवेदनशील अवस्थामा सुरक्षाका लागि पिपिई माग गर्नुपर्ने लेखेकी थिइन् । प्रतिष्ठानले यही विषयलाई आधार बनाएर भदौ महिनायता कार्यरत श्रेष्ठलाई १ वैशाखबाट लागू हुने गरी कामबाट हटाएको हो । ‘माग गर्दा पनि नपाएपछि मैले पिपिई नलगाई बिरामी जाँचिरहेको तस्बिर खिचेकी थिएँ । त्यो तस्बिर एउटा फेसबुक पेजमा सार्वजनिक भयो,’ उनले नयाँ पत्रिकासँग भनिन्, ‘त्यति गर्दा पनि नपाएपछि हाम्रो इमर्जेन्सीमा कार्यरत स्वास्थ्यकर्मीको फेसबुक ग्रुपमा पिपिई माग गर्नुपर्ने कुरा लेखेकी थिएँ । यही निहुँमा मलाई जागिरबाट हटाइयो ।’

यस्तै, घोराही–१५ घर भएकी स्टाफ नर्स प्रकृति डिसीलाई प्रतिष्ठानले पिपिई माग्दा जागिरबाट हटाएको छ । १६ महिनादेखि प्रतिष्ठानमा कार्यरत उनलाई १ वैशाखदेखि काममा नआउन भनी पत्र थमाइएको छ । सरकारले प्रतिष्ठानमै कोरोना संक्रमित बिरामीको परीक्षण गर्ने ल्याब स्थापना गरेको छ । चैतको पहिलो साता प्रतिष्ठानमा कोरोनाको आशंका गरिएका बिरामी भर्ना भएका थिए । बिरामी भर्ना भएपछि मेडिकल वार्डमा कार्यरत डिसीले प्रतिष्ठानसँग पिपिई माग गरेकी थिइन् ।

तर, प्रतिष्ठानले पिपिई उपलब्ध नगराएपछि उनले आफ्नो फेसबुकमा ‘कमजोर प्रशासन’ भनेर लेखिन् । ‘नेपालमा सुरक्षा सामग्रीविना चिकित्सकलाई कोरोनाको बिरामी उपचारका लागि खटाउनु भनेको सिपाहीलाई हतियारविना युद्धमा खटाउनु हो,’ उनले लेखेकी थिइन्, ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको यस्तै लाजमर्दो अवस्था छ ।’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने करारको म्याद सकिएकाले स्वास्थ्यकर्मीलाई हटाएको बताएको छ । प्रतिष्ठानका कामु रजिस्ट्रार कैलाश देवले म्याद सकिएकाले हटाएको बताए । ‘करारको म्याद सकिएकाले डाक्टर र स्टाफ नर्सलाई हटाएको हो । केहीले आफैँले राजीनामासमेत दिनुभएको छ,’ उनले भने, ‘सरकारले कार्यरत कर्मचारीलाई बिदा नदिने भनेको छ । तर, म्याद सकिएकालाई थप्ने भनेको भए हामीलाई थाहा छैन ।’
लेखक : भुपेन्द्र वली (नयाँ पत्रीकाबाट सभार)