Saturday 3rd January 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

पाँचखाल कुरुप बन्दै सरोकारवाला मौन

Sunday, June 3, 2018 National Power

२० जेठ ,काभ्रे /अरबिन्द्र गौतम   – ‘पाँच वर्षअघि पलाञ्चोक भगवती मन्दिरको डाडाँबाट नियाल्दा पाँचखालको रूप अर्कै थियो । सबैतिर हराभरा देखिन्थ्यो,’ बुधबार पलाञ्चोक मन्दिरको छेवैमा उभिएर पाँचखालका सामाजिक अगुवा श्रीकृष्ण धिमालले भने, ‘अहिले हेर्दै यो ठाउँ उराठलाग्दो छ, कालो धुवाँबाहेक केही देखिन्न।’

उनीमात्रै होइन, यो ठाउँबाट पुगेर पाँचखाललाई नियाल्ने जोसुकै पनि दंग पर्छन्, सहरको रूप देखेर । कुनैताका कृषि उत्पादनले हराभर देखिने ठाउँ अहिले सुक्खा छन् । सबैतिर इँटा भट्टामात्रै देखिन्छन् । भट्टाका कारण स्वच्छ श्वास फेर्न नपाएपछि धेरै युवा त्यसको विरोधमा जागेका छन् । उनीहरू भट्टाले सहर बिगार्न थालेपछि आफूहरू भट्टा बन्द गराउने अभियानमा जुटेको बताए।

‘हामीले यसको विरोध गर्न थालेको धेरै भयो,’ स्थानीय नारायण कार्कीले भने, ‘धुवाँधुलोले बच्चा बिरामी पर्न थालेपछि बसाइँसम्म सर्नुपर्ने बाध्यता छ । तर, यो समस्या अरुलाई सामान्य लाग्यो ।’ उनले सिंगो समुदाय नै भट्टा बन्द गराउन जुट्दा पनि सरोकारवाला निकायले भट्टा सञ्चालकहरूलाई संरक्षण गरेको आरोप लगाए ।

स्थानीय टंक ढकाल ९७९० ले पनि बिहान उठ्दा पाँचखाल उपत्यकामा कालो मुस्लो देखिने गरेको बताए । उनले भने, ‘लुगा सुकायो कालै हुन्छ, गाईवस्तुलाई खुवाउने घाँसपात कालै हुन्छ, धुवाँकै कारण स्वच्छ हावा लिन पाइँदैन, १० वर्षदेखि भट्टाको कालो मुस्लो सहँदै आएका छौं।’

पाँचखालभित्र २० मिटर दूरी नजिक सञ्चालन भएका ६ वटाभन्दा बढी भट्टाले पूरै सहरलाई कुरूप र प्रदूषित बनाएको छ । यी भट्टा पाँचखाल नगरपालिकाको ७, ८, ९ र १२ मा सञ्चालित छन् । जय भिमसेन इँटाभट्टा, कालिञ्चोक भगवती इँटाभट्टा, उपकार इँटाभट्टा, नवदुर्गा इँटाभट्टा सुवर्णेश्वरीलगायत भट्टा नगरपालिकामा समेत दर्ता छैनन् । २४ सैं घण्टा सञ्चालनमा आउने भट्टाले कालो धुवाँ फाल्ने गरेको स्थानीयको भनाई छ।