
काठमाडौं – चलचित्र पत्रकार संघ नेपालको नेतृत्वमा समिर बलामीले पुनः बाजी मारेका छन्। शनिबार राति सम्पन्न संघको १०औँ महाधिवेशनबाट उनले दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा जित दर्ता गर्दै आफ्नो नेतृत्वलाई निरन्तरता दिएका हुन्। बलामीले निकटतम प्रतिद्वन्द्वी जीवन पराजुलीलाई पराजित गर्दै बलामीले विजय हासिल गरेका हुन्।
नयाँ कार्यसमितिमा उपाध्यक्ष (संगठन) मा रघुनाथ सापकोटा र उपाध्यक्ष (कार्यक्रम) मा कुमार आचार्य निर्विरोध चयन भएका छन्। उपाध्यक्ष (महिला) पदमा दिपज्योति थापा विजयी भएकी छन्, जसले महिला नेतृत्वको सशक्त उपस्थिति झल्काएको छ।
महासचिवमा गोपी कृष्ण चापागाई निर्वाचित हुँदा सचिवमा मदन रिजाल र सचिव (समावेशी) मा महम्मद जालिम निर्विरोध चयन भएका छन्। त्यसैगरी, कोषाध्यक्षमा मनिष अन्जान र सह–कोषाध्यक्षमा अर्जुन गुरागाईं विजयी भएका छन्।
सदस्य पदमा ८ जना उम्मेदवार निर्विरोध चयन भएका छन्, जसमा सोजना विक लोहार, सुशील नेपाल, दिनेश थापा, नवीन चापागाई, रतनबहादुर चन्द, युवर्ण पौडेल, दिपराज क्षेत्री र सालिकराम न्यौपाने रहेका छन्।
नवनिर्वाचित कार्यसमितिले आगामी तीन वर्षसम्म चलचित्र पत्रकारिताको अधिकार संरक्षण, पेशागत सुदृढीकरण र नेपाली फिल्म क्षेत्रको समग्र विकासका लागि प्रभावकारी भूमिका खेल्ने विश्वास लिइएको छ।