Monday 30th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

गण्डकीदेखि पश्चिम भोलिदेखि मौसम सुधार हुने

Friday, February 4, 2022 National Power

काठमाडौं – पश्चिमी न्यून चापीय प्रणालीका कारण देशभर बदली र वर्षा भइरहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात पनि भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानाङ्गका अनुसार आज देशभर नै घाम लाग्ने सम्भावना छैन । ‘यो प्रणाली अलि ठूलो भएकाले आज दिनभर नै हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यद्यपि लगातार झरी हुने छैन,’ उनले भने । केहीबेर पानी पर्ने, रोकिने, फेरि पानी पर्ने भइरहने मौसमविद प्रधानाङ्गको भनाइ छ ।

यो प्रणालीले काठमाडौं आसपासका क्षेत्रमा पनि हिउँ पार्ने मौसमविद प्रधानाङ्गले बताए । ‘हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात भइरहेकै छ,’ मौसमविद प्रधानाङ्गले भने, ‘काठमाडौं उपत्यका आसपासमै पनि हिउँ पर्छ ।’ चन्द्रागिरि डाँडामा रातिदेखि नै हिमपात भइरहेको छ । हिमपात र वर्षाका कारण देशभर चिसो बढेकाले सतर्कता अपनाउन उनले आग्रह गरे ।

मौसमविदका अनुसार आइतबारदेखि पश्चिम नेपालका जिल्लाहरुमा मौसममा सुधार आउने छ । तर गण्डकी प्रदेशदेखि पूर्वतर्फ भने भोलि पनि बदली र हल्का वर्षा नै हुने मौसमविद प्रधानाङ्गले बताए । आज गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन, चटयाङसहित असिना पानी पर्ने महाशाखाले जनाएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना पनि छ ।