Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

ओमिक्रोनको जोखिम छ तर आत्तिनु पर्दैन

Thursday, January 6, 2022 National Power

काठमाडौँ- नेपालमा कोरोना विषाणुको नयाँ प्रजाति फैलिने सम्भावना बढेको छ तर चिकित्सकहरूले नआत्तिन बरू स्वास्थ्य सुरक्षाका उपायहरू पालना गर्न सुझाव दिएका छन् । भारतमा कोरोनाको ओमिक्रोन प्रजातिका कारण कोभिड–१९ का सङ्क्रमित नयाँदिल्ली र नेपालसँग सीमा जोडिएको विहारमा समुदायस्तरमा फैलिइसकेकाले नेपालमा जोखिम बढेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि नेपालमा कोरोनाको नयाँ ओमिक्रोन फैलिन सक्ने भएकाले सचेत हुन सुझाव दिएको छ । महाशाखाले ओमिक्रोन फैलिन नदिन सतर्कताका लागि अनुरोध गर्दै स्वास्थ्य निर्देशनालय, जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहलाई परिपत्र गरिसकेको छ ।

ओमिक्रोन फैलिने र त्यसले जटिल रूप लिने सम्भावना बढेको हो भन्ने प्रश्नमा मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले यही बेला ओमिक्रोन फैलिन्छ भनेर भन्न नसकिने तर भारतमा फैलिँदा नेपालमा पनि फैलिन सक्ने सम्भावना भने रहेको बताउनुभयो ।
नेपालमा ओमिक्रोन फैलिहाले त्यसको सामना गर्न सक्नुपर्ने भन्दै उहाँले यही स्थितिलाई ध्यानमा राखेर सतर्कता अपनाउनुपर्ने बताउनुभयो । ओमिक्रोन फैलिइहाले नेपालमा कोभिड–१९ को दोस्रो लहरमा भन्दा बढी सङ्क्रमित हुनसक्ने आकलन चिकित्सकहरूको छ ।
यसअघि दोस्रो लहरमा बढीमा एकै दिन नौ हजार दुई सय जना सङ्क्रमित थपिएका थिए । दोस्रो लहरमा दैनिक एक सयभन्दा बढीको मृत्यु भएको थियो । त्यस बेला अस्पतालहरूमा सहज रूपमा शय्या, अक्सिजन, आईसीयू र भेन्टिलेटरसमेत पाउन मुस्किल भएको थियो ।
यता इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक तथा जनस्वास्थ्यविज्ञ डा। बाबुराम मरासिनीले पुस र माघभर ओमिक्रोन फैलिन सक्ने सम्भावना कम रहेको बताउनुभयो । उहाँले अन्य देशमा पनि ओमिक्रोनको स्थिति हेर्दा अत्यधिक रूपमा सर्ने तर मानिसलाई अस्पतालको शय्या कम आवश्यक पर्ने र मृत्यु पनि कम गराउने भएकाले डराउनुपर्ने अवस्था नरहेको जानकारी दिनुभयो ।

उहाँले सरकारको भनाइ र गराइ फरक हुने गरेको भन्दै सरकारले गरेको आकलन नेपालमा मेल नखाने बताउनुभयो । जाडोभर कोरोनाको लहर नआउने भन्दै उहाँले फागुनबाट भने कोरोनाको अर्को लहर आउन सक्ने बताउनुभयो ।
ओमिक्रोनले अस्पताल बस्ने र मृत्यु कम हुने गरेको भन्दै उहाँले ओमिक्रोनभन्दा अन्य प्रजाति आएको अवस्थामा भने सतर्कता अपनाउनुपर्नेमा जोड दिनुभयो । अमेरिका, बेलायत, भारतलगायतका देशमा पनि अहिले दैनिक दुई÷तीन लाख जनामा ओमिक्रोन देखिएको भन्दै उहाँले सङ्क्रमणअनुसार अस्पतालमा भर्ना हुनुपर्ने अवस्था र मृत्यु नभएको बताउनुभयो ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। कृष्ण पौडेलले देशभरका स्वास्थ्य कार्यालयलाई कोरोना भाइरसको ओमिक्रोन भित्रिन नदिन पूर्वतयारीसाथ सात बुँदे निर्देशन जारी गरेको जानकारी दिनुभयो । “यसको अर्थ देशमा ओमिक्रोन फैलिसक्यो भन्ने होइन”, डा। पौडेलले भन्नुभयो– “अन्य देशमा फैलिने क्रममा रहेकाले नेपालमा सतर्कता अपनाउनुपर्छ भन्ने सन्देश हो ।” उहाँले सातवटै स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला स्वास्थ्य कार्यालय र ७५३ वटै स्थानीय तहलाई ओमिक्रोनको सङ्क्रमण भित्रिन र फैलिन नदिन प्रभावकारी उपाय अपनाउन आग्रह गर्दै सात बुँदे निर्देशन जारी गरेको उल्लेख गर्नुभयो । जनस्वास्थ्य मापदण्डको पूणपालना गरी भीडभाड हुन नदिने, मास्कको प्रयोग गर्ने तथा हात धुनुपर्ने उहाँले बताउनुभयो ।

यस्तै समुदायमा जोखिम क्षेत्र पत्ता लगाई एन्टिजेन परीक्षण गर्न तथा पहिचान भएका सङ्क्रमितलाई उचित व्यवस्थापन गर्न, नजिकैका सम्पर्कको पहिचान गरी क्वारेन्टाइन तथा कोरोना परीक्षण गर्नसमेत आग्रह गरिएको छ । सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनले ओमिक्रोन फैलिन सक्ने सम्भावनालाई नकार्न नसकिने बताउनुभयो । उहाँले सीमा नाकाबाट आउने यात्रुको प्रोटोकल अनुसारको परीक्षण तथा व्यवस्थापन गर्नुपर्ने, खोप लगाउन छुटेका पहिचान गरी खोपमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सहप्रवक्ता डा। अधिकारीका अनुसार नेपालमा हालसम्म ११ हजार ६०१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । सबैभन्दा पहिला २०७७ जेठ २ मा काभ्रे राम्चेकी एक सुत्केरी महिलाको मृत्यु भएको थियो ।