Friday 29th March 2024

    पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा सुरु    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’

शिक्षा क्षेत्रमा राज्यले धेरै लगानी गरेको छ तर अनुगमन छैन : निर्देशक प्रताप वैद्य ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान

Monday, August 23, 2021 National Power

 काभ्रेपलान्चोक – कोरोना भाइरसका कारण अहिले विश्वभर स्वास्थ्य संकट सिर्जना भएको छ । दिनप्रतिदिन कोरोना भाइरसबाट मानिसहरू संक्रमित बनिरहेका छन् । कोरोना भाइरसका कारण मृत्यु हुने संख्या पनि बढ्दो क्रममा छ । गाउँघरमा अझै मास्क कसरी लगाउने, हात साबुनपानीले नियमित धुने जस्ता सावधानी नअपनाउँदा भाइरस सर्ने क्रम बढिरहेको छ । विशेषगरी बालबालिकाको जीवनमा यो भाइरसले झन् बढी प्रभाव पारेको छ ।
अहिले विद्यालय जाने उमेरका बालबालिका विद्यालय बन्द भएकाले घरमै बसेका छन । कोरोनाले गर्दा नियमित पठनपाठनलाई भने असर गरिरहेको छ । अनलाइन प्रणाली बाट पठनपाठन भएपनि खासै प्रभावकारी नभएको शिक्षकहरु बताउँछन् । विद्यालय सञ्चालन नभए पनि घरमा समय निकालेर अध्यन गर्ने विद्यार्थी कमै पाइन्छ । विद्यालयमा दिनभरि पढेको र घरमा साँझ–बिहान एक दुई घन्टा मात्रै पढेको धेरै फरक हुने ज्ञानकुन्ज शैक्षिक प्रतिस्ठानका विद्यार्थीहरु बताउँछन् । कोरोना पछिको शिक्षा क्षेत्र, निजि विद्यालय बन्द हुँदा पर्ने संचालक लाई मार, आफ्नो विद्यालयमा पठनपाठन गर्ने विद्यार्थीहरु लाई के कस्ता गतिविधि भैरहेको छ आदि बिषयमा ज्ञानकुन्ज शैक्षिक प्रतिस्ठानका निर्देशक प्रताप वैद्य सँग नव क्षितिज साप्ताहिकको लागि अरबिन्द्र गौतमले गरेको विशेष कुराकानी ; 

निजी विद्यालयमा कोरोना कहरको प्रभाव, सकारात्मक प्रभाव : नकारात्मक प्रभाव ?
वर्तमान समयमा कोरोनाले सर्वत्र विश्वमा नै विकराल अवस्थामा पुगेको छ । यस बाट हाम्रो मुलुक पनि अछुतो छैन ।कोरोनाको सकारात्मक प्रभाव भन्ने त खासै हैन तर शिक्षा क्षेत्रमा यसले आजको प्रविधिलाई प्रयोग गर्न सबैलाई अग्रसर तुल्याएको छ । समस्याको बिचमा पनि जीविकोपार्जनका लागि मानिसहरूले नयाँ नयाँ सोच तथा विचारलाई अघि सारी डिजिटल जीवनतर्फ मोडेको छ भने ः नकारात्मक प्रभावको कुरा गर्नुपर्दा यसले आज विश्वको सबै कुनाको मानिसमा एक प्रकारको डर पैदा गरेको कारण मानसिक अवस्थामा समेत गहिरो चोट पुर्याएको छ भने उपचार पद्धति कठिन भएकाले मानवीय क्षति समेत भएको छ ।

जोखिम व्यवस्थापनमा कहाँ चुक्यो हाम्रो शिक्षा प्रणाली ?
जोखिम व्यवस्थापनको कुरामा चाहिँ भन्नुपर्दा हामी र हाम्रो शिक्षा प्रणाली समय सुहाउँदो र समयको माग अनुरूप नभएकाले प्रविधिमैत्री हुन नसकेको देखिन्छ । आज अनलाइन कक्षाको कुरा गर्दा पनि धेरैको पहुँच पुग्न नसक्दा कयौँ बालबालिकाहरू शिक्षाबाट बञ्चित भई झन् त्यतिकै बाहिरी क्रियाकलापमा सक्रिय हुन पुग्दा कोरोना संक्रमणको जोखिम भयाभव देखिन्छ ।
महामारीको बिचबाटै शिक्षण क्रियाकलाप व्यवस्थित तरिकाले निरन्तरता दिन सकिन्छ ?
सबै विद्यार्थीमा इन्टरनेटको पहुँच भएको अवस्था र विद्यालयले पनि खास किसिमको खाका तर्जुमा गरी त्यसलाई व्यवस्थित ढङ्गले अघि बढाउन सके निश्चित रूपमा सम्भव छ । अहिले हाम्रो विद्यालय यो ढङ्गबाट अघि बढ्न प्रयत्नरत छ ।

अनलाइन शिक्षा प्रणाली कत्तिको प्रभावकारी छ ?
अघि माथि उल्लेख गरिए बमोजिम कक्षा सञ्चालन गरिदा प्रभावकारी बनाउन सकिएको र सकिने तर इन्टरनेटको अवस्थाले गर्दा कहिले विद्यार्थीमा त कहिले शिक्षककोमा समस्या आउँदा अझै सोचे अनुरूप प्रभावकारी हुन नसकेको देखिन्छ ।

अनलाइन शिक्षा पद्धतिबाट अध्ययन अध्यापन गराउँदा के कस्तो समस्याहरू आउँछन् ?
भौतिक कक्षामा जस्तो उपस्थिति नहुने, सबैले कक्षाकार्य तथा गृहकार्य सही ढङ्गले नगर्ने, इन्टरनेटमा बारम्बार समस्या आइरहने हुँदा बाधा सिर्जना हुने आदि समस्या अध्ययन अध्यापन गराउँदा देखिन्छ ।

अनलाइन प्रणालीबाट अध्ययन अध्यापन गराइरहँदा अभिभावकहरू के भन्छन् ?
अधिकांश अभिभावकहरूले विश्वमा फैलिरहेको महामारीको बिच विद्यालय सञ्चालन नभएको अवस्थामा पनि आफ्ना छोराछोरीले शिक्षा आर्जन गर्ने अवसर पाएको र आफ्नो सन्ततिको ख्याल घरमै गर्न पाएकोेमा खुसी व्यतm गरेको अवस्था छ भने इन्टरनेट तथा अन्य कारणले अनलाइन कक्षामा आफ्ना छोराछोरीलाई सहभागी गराउन नसक्नुभएका अभिभावकहरूले भने भौतिक कक्षा नै व्यवस्थित रूपमा सञ्चालन गरेको भए हुन्थ्यो भन्ने मनसाय अभिभावकहरूले हामीमाझ राखेका छन् ।

ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा अध्ययन गर्न विद्यार्थीहरू के भन्छन् ? उनीहरूको प्रतिक्रिया के छ ?
यस ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानमा अध्ययनरत विद्यार्र्थीहरूको हालसम्मको प्रतिक्रिया सकारात्मक नै छ । शिक्षण पद्धतिलाई समयसापेक्ष परिवर्तन गर्दै गएकोमा विद्यार्थीहरूले खेलेर रमाइलोका साथ सिक्ने वातावरण पाएकोमा उनीहरूमार्फत नकारात्मक टीकाटिप्पणी हालसम्म पाइएको छैन ।

अनलाइन प्रणालीलाई व्यवस्थित बनाउन के कस्ता कार्यहरू गर्दै आएको छ यो प्रतिष्ठानले ?
यस प्रतिष्ठानले अनलाइन कक्षालाई व्यवस्थित गराउन विद्यार्थीहरूको हाजिरी अभिलेख राख्दै उपस्थित नभएका विद्यार्थीहरूको घरमा फोन गरी अवस्था बुझ्ने समाधानका लागि पहल गर्ने, शिक्षकशिक्षिकालाई थप उत्साहित गराई पठन पाठन अघि बढाउन हौसला दिने तथा सकेसम्म नयाँ खोज गरी सिकाइलाई प्रभावकारी बनाउन यो प्रतिष्ठान लागिपरेको जानकारी गराउँछु ।

अनलाइन र विद्यालयबाट पठनपाठन गराउँदा नतिजा कतिको फरक आउँदो रहेछ ?
अध्ययनशील विद्यार्थीहरूमा चाहिँ जुन तरिकाले कक्षा सञ्चालन गर्दा पनि खासै फरक नदेखिएको तर केही कमजोर र ठग्ने प्रवृत्ति भएका विद्यार्थीहरूको नतिजा भने केही हदसम्म खस्किएको देखिन्छ ।

विद्यार्थीैहरूका लागि प्रयोगात्मक कक्षा पनि महत्त्वपूर्ण हुन्छ अनलाइन प्रणालीबाट प्रयोगात्मक कक्षा सञ्चालन सम्भव छ ?
अनलाइन कक्षाबाठ पनि प्रयोगात्मक कक्षा सम्भव छ । विद्यार्थीहरूलाई खोजका विषय दिइ उनीहरूले त्यो खोजसँग सम्बन्धित गरेका कार्यहरूलाई प्रस्तुतीकरण गराउन सके सम्भव छ । यो हाम्रो प्रतिष्ठानले गर्दै पनि आइरहेको छ ।

शिक्षा क्षेत्रमा राज्यले के परिवर्तन गर्नुपर्ने देख्नुहुन्छ ?
शिक्षा क्षेत्रमा राज्यले जति पनि लगानी गरेको छ त्यसको अनुगमन नभएको र सबै ठाउँ र गाउँमा उही रूपमा राज्यको ध्यान पुग्न नसकेको हुँदा यसमा ध्यान दिँदै विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने खालको पाठ्यक्रम लागु गर्दै शिक्षा नीतिमा समय सापेक्षताको आधारमा परिवर्तन गर्नुपर्ने देखिन्छ ।

अन्तमा ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको निर्देशक भएकोले विद्यार्थी , अभिभावक र अन्यलाई के जानकारी दिन चाहनुहुन्छ ?
अन्तमा : अनलाइन कक्षा कोरोनको जोखिमबाट जोगिन सक्ने उपयुक्त विकल्प भएको र घरमै बसी शिक्षा आर्जन गरी समयको सदुपयोग गर्न सकिने भएकोले यसलाई सिक्ने अवसरको रूपमा लिइदिनुहुन अभिभावक, विद्यार्थी र सम्पूर्णमा विनम्र अनुरोध गर्न चाहन्छु ।