Tuesday 20th October 2020

    सरकारलाई कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने निर्णय फिर्ता लिन नेता नेपालको आग्रह    गायक सिताराम पोखरेलको मनको मैलो सार्वजानिक ( भिडियो सहित)    'मिस्टर एण्ड मिस टिकटक' का लागि ग्लोबल अनलाईन पेबाट भोटिङ खुल्ला    नेपाल टेलिकमले ९० दिनसम्मका लागि अटम अफर उपलब्ध गराउने    आइसोलेसन केन्द्र निर्माणमा सरकार युद्धस्तरमा लाग्नुपर्छ :डा. उपाध्याय

हवलदारको विहे

Wednesday, September 23, 2020 National Power


काठमाण्डौ- रण बहादुर थापा राणा शासनकाल मैकक काठमाडौंबाट १५ दिन हिडेर गोरखपुर पुगेर भारतीय सेनामा सिपाहीमा जागिर खाएका थिए । त्यस बेला भारतीय सेनामा छनौट भइ जागिर खानु चानचुने कुरा थिएन । नेपाली वीर योध्दाहरुले पहिलो र दोस्रो विश्व युध्दमा देखाएको बहादुरीले नेपालीका लागि भारतीय सेनामा भर्ती हुन त्यती गार्हो पनि थिएन । हुनत उनले नेपालमै राणा शासनकालमा नेपाली सेनामा जागिर खान खोजेका थिए । राणा शासनकालमा सेनामा भर्ती हुन चानचुने कुरा थिएन । दरवारका नजिकका मानिस या चौतारियाको नजिकका मान्छेको सिफारिसमा मात्र नोकरी मिल्दथ्यो ।
रण बहादुर थापाले नजिकै नाता पर्ने एक जना आफन्त मार्फत भर्ती हुन खोजेका थिए तर सकेनन् । भारतीय सेनामा जागिर खाएको तीन वर्षपछि रण बहादुर थापा नेपाल आए । दुई महिनाको छुट्टी लिएर । नेपाल फर्किए लगत्तै उनले गाउँघर नातागोता साथीभाई जताततै निकै फुर्तिफार्ती लगाए । सिपाही मै कार्यरत थिए तर हवल्दार भएको आफैले हल्ला मच्चाए, सबैले पत्याउथे पनि त्यसबेला । वरपर आफ्ना साथीभाइहरु सबैले हवलदार साप भनेर सम्बोधन गर्दा उनी खुसीले कालो जुँगा खुबै मुसार्थे । यसो खल्तीबाट विदेशी मार्वल चुरोट झिकेर दिन्थे । सबै चुरोटको सर्कोसँगै गलल हाँस्थे । यस्तो थियो रण बहादुरको दिनचर्या ।
रण बहादुर थापाको विवाह गर्ने बेला भइसकेको थियो । नजिकैको नाता पर्नेले विवाहको कुरा चलाए । रण बहादुरको पनि पल्टन जाने बेला दिन प्रतिदिन नजिकिंदै थियो । विवाहको कुरा चल्नासाथ रण बहादुर र उनका बाबु विर बहादुरले उक्त प्रस्ताव तत्कालै स्वीकार गरे । रण बहादुरको बुबा विर वहादुर पनि छोराको विवाह गरेर पठाउने सोचमा थिए ।

उपयुक्त लगन साइत जुराएर रण बहादुरको धुमधामसँग विवाह भयो । विवाहको भोलि पल्ट रण बहादुरको बुबा विर बहादुरले भव्य जन्ती बाख्रोको (भोज) आयोजना गरे । दुईवटा खसी काटेर गाउँभरिका मान्छेलाई भोजको निम्ता थियो । जन्ती बाख्रो भोजमा खसीको मासु, भात, मासको दाल, रायोको साग र गोलभेडाको अचार तयार थियो ।
गाउँभरिका मान्छे जम्मा हुँदै गए । दुलाहा रण बहादुर र दुलही मैयाँ बारीको पाटामा राखिएको सुकुल र राडीमाथि भोज खानका लागि बसे ।

जन्ती बाख्रो भोज खान आएका गाउँलेहरु पनि दुइतिर मुख फर्काउदै लाइनै बस्न थाले । खाना बाँड्नेले टपरी आ–आफ्नो बसेको ठाउँ अगाडि राख्दै गए । भात दाल साग र अचार हाल्दै गए । सबैको ध्यान मासु र तातो मासुको झोल तर्फ नैकक थियो । मासु बाँड्नेले बाल्टिन भरि मासु लिएर बाँड्न थाले । दुई चोक्टा मासु र एक डाडु मासुको झोल भातमाथि हालिदिए । कतिको त टपरीको प्वालवाट चुहिएर गयो । कतिले त हात पोल्दा पोल्दै मुछेर बडो स्वादले स्वारप्प गर्दै खाए ।
जन्ती बाख्रो भोजमा गाउँघरतिर जनै लगाउने एकातिर, बालबालिका र महिलाहरु अर्को तिर छुट्याएका थिए । केटाकेटीहरु मासु ‘. मासु‘ मासुको झोल भनेर चिच्याउँथे । खाना बाँड्नेले सुने पनि नसुने र्झै गर्थे । जनै लगाउने र पाहुनाहरुतिर यसो एक दुई पल्ट बाँड्न पुग्थे । केटाकेटीहरु कराउँदै उठ्थे । यस्तो थियो हल्दार रण बहादुरको बिहेको जन्ती बाख्रो भोज । भोलिपल्टदेखि गाउँलेहरुले ४—४ वटा खसी खाए भनेर महिनौं दिनसम्म फलाक्दै हिँड्थे ।

आज भोलि भन्दा भन्दै रण बहादुरको व्यारेक (पल्टन ) जाने समय भयो । भर्खर मात्र विवाह भएको उनलाई पनि नयाँ दुलहीलाई चटक्कै छाडेर जान मन लागेको थिएन । तर पल्टनको नियम अनुशासन मान्नै पर्ने भएकोले उनी जान तयार भए ।
उनले जाने बेलामा धर्मपत्नी मैयाँलाई एकदिन खुसुक्क भनेका थिए । बुझिस् बुढी ! मुक्ती सेनाले राणा विरुद्ध आन्दोलन गर्ने रे ! उसलाई पनि सेना चाहिन्छ रे ! उनीहरुलाई पनि सेना चाहिन्छ रे ! मिल्यो भने म मुक्ती सेनामै भर्ती हुन्छु । राणालाई जित्यौँ भने सँधै यता अफिसर भएर बस्न पाइन्छ । अनि नोकरी पनि यतै हुन्छ । म छिट्टै आउँछु । सधै सँगै बस्न पाऊछौँ बुझिस् ? यति सुनेपछि मैयाँ फिस्स मात्र हाँसिन् । मैयाले रण बहादुरको कुरा त्यती पत्याइनन् किनभने राणालाई जित्नु भनेको चानचुने कुरा होइन भन्ने सम्म बुझेकी थिइन् ।
रण बहादुर हिन्दुस्तान हिड्नु अगाडि २—४ जना मिल्ने साथीहरुलाई बोलाएर उनले देशमा प्रजातन्त्र आउँछ । मुक्ती सेनाले राणाको फौजलाई हराउँछ र म यहाँ ठुलो अफिसर भएर आऊँछु यति कुरा सुुनाउन पनि भ्याएँ । घर परिवारसँग विदावारी लिएर रण बहादुर हिन्दुस्तान तर्फ लागे । नेपालमा काँग्रेसले राणा शासन विरुद्ध सशस्त्र आन्दोलन गर्ने गाइँगुइँ चलेको थियो । भारतमा पनि निकै हल्ली खल्ली मच्चिएको थियो । त्यो कुरा रण बहादुरले पनि सुनेका थिए । रण बहादुर थापा पनि भर्खर विवाह गरेर तरुनी स्वास्नीलाई छोडेर आएको झलझली सम्झन थाले ।

मनबाटै भित्र भित्रै पनि भारतीय सेनाको जागिर छोडेर मुक्ती सेनामा संलग्न हुन मन लागेको थियो ।
२००७ सालमा नेपाली कांग्रेसले राणा शासन विरुद्ध हतियार उठाई सशस्त्र आन्दोलन गर्ने आव्हान गर्यो । आन्दोलन सफल बनाउन मुक्ती सेनालाई जिम्मा दिइएको थियो । मुक्ती सेनाले भारतमा रहेका भुतपुर्व नेपाली सेना र त्यहाँ कार्यरत नेपालीहरुलाई सेनाको जागिर छाडेर मुक्ती सेनामा आउन अनुरोध र आग्रह गरिसकेको थियो । जताततै पर्चा पम्प्लेट र पत्र पत्रिकामा समाचार छ्याप छ्याप्ती छापियो । यो समाचारले दिनहुँ मुक्ती सेनामा भर्ती हुनेको संख्या बढ्दै गयो । रण बहादुर पनि मुक्ती सेनामा सामेल भए । विरगंज, विराटनगर ओखलढुंगाबाट आक्रमण गर्दै मुक्ती सेनाले कब्जा जमाएर विजय प्राप्त गर्यो ।

राणा शासन अन्त्य भइ प्रजातन्त्रको स्थापना भयो ।
रण बहादुर सिपाही थिए । सरकारले रण बहादुरलाई हवल्दार बनाएर सिंहदरबारमा खटायो । रण बहादुर पनि दंग परे । समय वित्दै गयो रण बहादुरको तीन छोरा दुई छोरी थिए । २ छोरा २ दुई छोरीको विवाह पनि उही १—१ वटा खसी काटेर मासुको झोल र भात खुवाएर सिध्याए । फुर्ती भने गाउँ भरिका मान्छेलाई ४—४ वटा खसी काटेर ख्वाएँ भन्थे । गाऊँका मान्छेहरु उनको कुरा सुनेर हाँस्थे। वाद प्रतिवाद कसैले गर्दैनथे गरिहाले भने हलदारी झोक झिकिहाल्थे । उनका यस्तो कुरा सुनेर कोही बोल्दनथे । तर उनका पछाडि कुरा काट्थे ।

रण बहादुरलाई पनि आफ्नो कुरा सबैले स्वीकारे भन्ने लाग्थ्यो । रण बहादुर नमरुञ्जेल त्यो भ्रमबाट कहिल्यै मुक्त हुन सकेनन् । त्यसै कारण गाउँमा उनलाई जे गर्न मन लाग्यो त्यही त्यही गर्दै गए ।
गाऊँलेहरु उनको पछिल्लो समयको हर्कत देखेर वाक्क दिक्क भएका थिए । उनका पछाडि सोझा—साझा गाउँलेहरु समेत यो हवलदार अब निकै बढ्तै भो भन्थे ।
रण बहादुरको कान्छो छोराको विवाह बाँकी नै थियो । नोकरीबाट अवकाश भई पेन्सनमा बसिसकेका थिए ।

उनी समाजसेवा गर्छु भन्दै राजनीति तर्फ लागे । देशमा धेरै राजनैतिक परिवर्तनहरु भए । २००७ सालमा त आफै मुक्ती सेना भएर लडेको हुँदा देशमा मैले नै प्रजातन्त्र ल्याएको सम्म भन्न भ्याए । २०३६ साल, ०४६ सालको जन–आन्दोलनमा केही न केही भुमिकामा देखा परे । कहिले पक्षमा कहिले विपक्षमा । अझ साँच्चै भन्नु पर्दा २०३६ सालको जनमतमा बहुदलिय पक्षले हारे पछि त पंचायती व्यवस्थाको विभिन्न पदमा रहेर काम गरे ।
कहिले निर्विरोध त कहिले चुनाव लडेर । चुनाव जितेपछि त रण बहादुर आफु छोटे राजा कै रुपमा प्रस्तुत भए । रण बहादुरको कान्छो छोरा रविको विवाह बाँकी नै थियो । कान्छो छोरालाई असाध्यै माया गर्थे । ज्यादै पुलपुलाएर राखेका थिए । रविले १० कक्षा सम्म मात्र पढेका थिए । सरकारी नोकरीको लागि छोराको योग्यता नपुग्ने भएर यसो भनसुन गरेर पुलिसको सिपाहीमा जागिर लगाई दिएका थिए । सिपाहीको जागीर खाएको पनि ७ वर्ष भइसकेको थियो । एक पटक पनि प्रमोशन नभएको हुँदा गाउँको मन्दिर उद्घाटन गर्न आउँदा मन्त्रीलाई विन्ती बिसाएका थिए । रण बहादुरले उद्घाटनस्थल मै मन्त्री समक्ष धनुष्टंकार नमस्कार गरी छोराको प्रोमोशनको लागि बिन्ती बिसाएका थिए ।
गाउँलेहरु त्यो दृश्य देखेर छक्क परेका थिए । मन्त्री महोदयले पनि ‘हुन्छु भने जस्तो दृश्य सबैले देखेका थिए । सबैको मनमा रण बहादुरले अब मन्त्रीको हातबाट के फुत्काउने भए भन्ने निकै चासो राखेका थिए । कार्यक्रम सकियो मन्त्री खुसी भएर फर्किए । एक महिना पछि नै रण बहादुरको छोरा रविको सिपाहीबाट हवलदारमा नाम निस्क्यो । रवि लगायत बावु रण बहादुर आमा मैयाको खुसीको सीमा नै रहेन । बाबु रण बहादुरले “ ल अब छोरा हवल्दार भयोअव रविको भव्यसँग विहे गर्ने राम्री असल केटी खोज्नु भनेर गाउँ भरि नै उर्दी नै जारी गरे । २—४ दिन मै गोदावारीबाट सिलवाल थरको छोरी दिने कुरा आयो । दुबै पक्षबीच कुराकानी भयो दुबै पक्ष राजी भए ।
मङ्सीर मै बिहे गर्ने कुरा छिनियो ।

रण बहादुरलाई अब छोराको बिहेको चटारो पर्न लाग्यो । नातागोता इष्टमित्र साथीभाई छर छिमेक सबैलाई निम्ता दिए । कान्छो छोराको बिहे हो जन्ती पनि जानु पर्छ भोजमा आउनु पर्छ सबैलाई भन्दै हिँडे । विवाहमा त्यही ३—४ सय जन्ती थिए होलान् । दुलही घरमा पुगेपछि जन्तीलाई एक—एक गरेर रण बहादुरले निहाले । को आयो को आएन खुबै विचार गरे । दुलही कै घरको पिंडीमा बसेर “ ऐ त्यो किन आएन हँु ? हवलदारको बिहेमा भन्दै सुनाउन थाले । वरपर बसेका सुन्नेहरुले काम पर्यो होला ! घरमा तिथि सराध्द पर्यो कि भन्दा पनि रण बहादुर झनै चर्की चर्की मेरो छोरा हवलदारको बिहेमा त्यो नआउने भनिरहे ।
रण बहादुरको टाईफुई देखेर सबै छक्क परे ।

दुलहीपट्टीका मान्छेहरु सबैले दुलहाको बाबु त हल्दार पाराको रहेछन् ? सबैलाई हकार्दै छन् त ? देख्नेहरु सबै खिस खिस हाँसेर टार्छन् । कोही केही भन्न सक्दा रहेनछन् भनेर निकै टिका टिप्पणी गरे । एक जना नजिकै बसेका जन्तीले खुसुक्क दुलहीपट्टीको मान्छेलाई सुनाए । खुबै धाक लगाउनु पर्ने स्वभावको मान्छे हुन् उनी । उनी पनि हल्दार नै हुन् नि ! उनको विवाह पनि सिपाही मै भएको थियो । सिपाही हुँदैमा म हवलदार हुँ भनेर निकै धाक रवाफ लगाउँथे ।
रविको विवाहकै भोलिपल्ट नै जन्ती बाख्रो भोजको आयोजना गरिएको थियो । रण बहादुरले चारवटा खसी पहिले नै आफ्नो ससुरालीबाट मगाएर राखेका थिए ।
त्यही खसी काटियो । भात, मासको दाल, काउलीको तरकारी र गोलभेडाको अचार अनि खसीको मासु र मासुको झोल । करिब ५—६ सय मानिसकोलागि भोजको तयारी थियो । घर गाउँले, नाता गोता इष्टमित्र, साथीभाइ भटाभट आउन थाले । ठुलो बारीको पाटामा आमने—सामने लामो सुकुल ओछ्याइएको थियो ।

सबै पाहुना निम्तालुहरु भोज खानकोलागि बस्न थाले । उही रण वहादुर आफनै पाला झै केटाकेटी र महिला एकातिर, जनै लगाएका र नातागोता इष्टमित्र एकातिर बसे । भोज खानको लागि टपरी मान्छे पिच्छे बाँड्दै गए । टपरी समाउँदै उचालेर हेर्न थाले टपरीमा प्वाल छ कि छैन भनेर ।
प्वाल देख्ने जन्तीले कराउदै यो टपरीमा प्वाल छ भनेर साट्न खोजे तर के साट्थे । साटुन पनि कसरी ? टपरीमा प्वाल नभए के मा हुन्छ त ? टपरी बनाउदा पात जोड्दै सिन्काले प्वाल पार्दै जोड्दै जाने त हो नि यो सबैलाई थाहा छदैथ्यो । तैपनि सफा र प्वाल नभएको टपरी भए मासुको झोल र भात मज्जाले खान पाइन्छ भन्ने लोभ सबैमा थियो । निम्तालुहरु आउँदै खाँदै जाँदै गर्दै गरे । भान्छामा खानकुरा सकिदै गयो । भान्छेले रण बहादुरलाई बोलाएर अव कति पाहुना आउन बाँकी छ बेला बेलामा सोध्थे । रण बहादुर पनि आउन धेरै नै छन् भन्थे ।

भान्छे पनि उसो भए यो खानाले पुग्दैन पकाउनु पर्छ भन्थे । रण बहादुर पनि माथि भण्डार कोठाबाट ल्याएर पकाउनु भन्थे ।
भान्छे पनि दाल भात त पकाउँला तर मासु सकिन लाग्यो । यती सुने पछि मासुमा २—४ बाल्टीन पानी हालेर नुन खुर्सानी थप्नु नि ? बाहिर म कुरा मिलाउछु । अब रण बहादुरलाई यता फसाद पर्ने भो । मुख्य निम्तालु मन्त्रीज्यु आइपुग्नु भएकै छैन । उहाँकै सिफारिसमा छोरा हवलदार भएको । अझै पनि गाउँलेहरु हुलका हुल आउदैछन् । खाना सकिन लाग्यो नआऊ पनि भन्नु भएन ।

जे होस् यो हवलदारको छोराको जन्ती बाख्रे भोज जसरी पनि सक्नु पर्छ भनेर रण बहादुर आफै बारीको पाटैमा गएर मासु बाँड्नेलाई बोलाएर कानमा केही साउती गरेर पठाए । अनि जन्ती बाख्रे भोज खान बसेकालाई चर्को स्वरमा मासु एक डाडु झोल एक डाडु हाल्नुभनेर उर्दी जारी गरे । तर मासु हाल्नेले दुई चोक्टा मासु र एक डाडु झोल टङ्रङ्ग हालिदिन्थ्यो ।
मासुको झोल टपरीको प्वालबाट चुहिएर सबै भुईमा पुग्थ्यो । भोजमा काम विशेषले मन्त्री आउन पाएनन् । यस पटकको भोज लाजगालले जेनतेन टारे ।रण बहादुरले भोलिपल्टदेखि नै यो हवलदारको कान्छो छोरा रवि हवलदारको बिहे भोजमा ८ वटा खसी गाउँलेले खाए भन्दै धक्कु लाउँदै हिड्थे ।

गाउँले भने यो पटक त ४ वटा मात्र काटेको हैन र हवलदार सा’प भनेर भन्थे । रण बहादुर पुनः फुईँ लगाउदै खाने बेलामा ८ वटा खसी खायौ अहिले दशथरी कुरा गर्छौ भन्दै हिड्थे । रण बहादुरलाई हवलदारको बिहे भोजमा मन्त्री नआएकोमा भने थक्क थक्क लागिरह्यो ।
रण बहादुर हवलदार यस संसारमा अहिले छैनन् । रण वहादुर सिपाही हुदैमा बिहे गरे तर आफुलाई हवलदार भन्न कहिल्यै छाडेनन् । गाउँलेले खसी खानु खाए भनेर भन्न कुनै दिन पनि छुटाएनन् । छोरा रवि हवलदार भैसके पछि बिहे गरे । दुबैको जन्ती बाख्रो भोजमा उही दुई टुक्रा मासु र एक डाडु मासुको झोल । आखिर हवलदारको विवाह पो हो त ।
–सुन्दर पन्त (कथाकार)
नागार्जुन—१०, काठमाडौ ।

पावर न्यूज राष्ट्रिय मासिकबाट साभार