Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

विच्याटका प्रयोगकर्ताले अमेरिकामा मुद्दा हाल्ने तयारी

Thursday, August 27, 2020 National Power

काठमाण्डौ – चिनियाँ मेसेजिङ एप्लिकेसन विच्याटका केही अमेरिकी प्रयोगकर्ताहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन् ।

विच्याटका कारण अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा रहेको भन्दै राष्ट्रपति ट्रम्पले अमेरिकामा विच्याटमाथि प्रतिबन्ध लगाउने सम्बन्धी एउटा कार्यकारी आदेशमा केही दिनअघि हस्ताक्षर गरेपछि विवाद उत्पन्न भएको हो ।

सान फ्रान्सिस्कोमा शुक्रबार अमेरिका विच्याट प्रयोगकर्ता एलायन्स र अन्य व्यक्तिहरु तर्फबाट सामूहिक निवेदन दिइएको छ । उनीहरुले विच्याट मार्फत चीनमा रहेका आफ्ना नातेदार, रोजगारी र अन्य कामका लागि प्रभावशाली सम्पर्क माध्यम रहेको बताएका छन् ।

निवेदकहरुले आफूहरु विच्याट वा यसको संचालक कम्पनी टेन्सेन्ट होल्डिङ्ससँग कुनै आबद्धता नरहेको पनि दाबी गरेका छन् ।

निवेदनमा उनीहरुले संघीय अदालतसमक्ष राष्ट्रपति ट्रम्पको कार्यकारी आदेश रोक्न अनुरोध गरेका छन् । उनीहरुले ट्रम्पको आदेशबाट अमेरिकी प्रयोगकर्ताको अभिव्यक्ति स्वतन्त्रता, धार्मिक स्वतन्त्रता र अन्य संविधान प्रदत्त अधिकारहरु उल्लंघन भएको बताएका छन् ।

निवेदक तर्फका वकील माइकल बाइनले चिनिया–अमेरिकी समुदायका लागि निकै महत्वपूर्ण रहेको विच्याटजस्तो मेसेजिङ एप्लिकेसन रोक्दा संविधानको पहिलो संशोधनको बर्खिलाफ हुने जिकिर गरे ।

राष्ट्रपति ट्रम्पले गत अगस्ट ६ तारिखमा विच्याट र टिकटकमाथि प्रतिबन्ध लगाउने गरी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । उनले यी दुई एप्लिकेसनका कारण अमेरिकी राष्ट्रिय सुरक्षा, विदेश नीति र अर्थतन्त्रमा नै खतरा उत्पन्न हुने दाबी गरेका थिए ।

उक्त आदेशहरु आगामी सेप्टेम्बर २० देखि लागू हुनेछन् ।

एक अनुमान अनुसार अमेरिकामा विच्याटका दशौं लाख प्रयोगकर्ता रहेका छन् । राष्ट्रपतिको आदेशमा विच्याट र टिकटकलाई एप्पल र गूगलका एपस्टोरबाट पनि हटाउन भनिएको छ । यसबाट आम प्रयोगकर्तालाई अझ कठिन हुनेछ ।