Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

फेसबुक संस्थापक जुकरबर्गको सम्पत्ति १ खर्ब डलर पुग्यो

Sunday, August 9, 2020 National Power

काठमाडौं – विश्वको सबैभन्दा लोकप्रिय सोसल मिडिया प्लाटफम फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गको सम्पत्ति १ खर्ब डलर पुगेको छ । फेसबुक कम्पनीले टिकटकको प्रतिस्पर्धी एपको रुपमा इन्स्टाग्राम रील्स सार्वजनिक गरेसँगै फेसबुकको शेयर मूल्यमा बढोत्तरी भएसँगै जुकरबर्गको निजी सम्पत्तिले १ खर्ब डलरको कोशेढुंगा पार गरेको हो । शर्ट भिडियो मेकिङ एप, इन्स्टाग्राम रील्स लञ्च गरेसँगै फेसबुक कम्पनीको शेयर मूल्यमा ६ प्रतिशतको वृद्धि भयो । जसका कारण कम्पनीमा १३ प्रतिशत शेयर स्वामित्व रहेका जुकरबर्गको सम्पत्तिमा समेत उल्लेख्य वृद्धि भएको हो ।

यो सँगै जुकरबर्ग एक खर्ब डलर सम्पत्ति हुने विश्वका तेश्रो व्यक्ति बन्न सफल भएका छन् । अहिलेसम्म एक खर्ब डलर सम्पत्ति हुने व्यक्तिहरुमा अमेजन सिइओ जेफ बेजोस र माइक्रोसफ्ट संस्थापक बिल गेट्स मात्र थिए । डलर खर्बपति जुकरबर्गले आफ्नो जीवनकालमा फेसबुक कम्पनीमा आफ्नो नाउँमा रहेको शेयर मध्ये ९९ प्रतिशत कल्याणकारी कार्यमा दान गर्ने घोषणा गरिसकेका छन् । यसका लागि पत्नी प्रिसिला चानसँगै जुकरबर्गले एक च्यारिटी संस्था समेत स्थापना गरेका छन् ।

चिनिया एप टिकटकको भविष्य अमेरिकामा अनिश्चित बनेसँगै फेसबुकले टिकटककै विकल्पको रुपमा इन्स्टाग्राम रील्स लञ्च गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी ४५ दिनपछि टिकटकसँग कुनैपनि अमेरिकी कम्पनीले कुनैपनि कारोबार गर्न नपाउने एक कार्यकारी आदेशमा हस्ताक्षर गरिसकेका छन् । टिकटकले भने ट्रम्पको उक्त आदेश विरुद्ध अदालत जाने बताएको छ ।

यो एपमा पनि प्रयोगकर्ताहरुले टिकटकमै जस्तै १५ सेकेण्डको छोटो भिडियोहरु बनाएर, सम्पादन गरेर तथा अडियो तथा इफेक्टहरु समेत थपेर अपलोड गर्न सक्दछन् । यस एपमा एकैपटकमा विभिन्न भिडियो क्लिपहरु रेकर्ड गरेर अपलोड गर्न वा पहिले नै आफुसँग रहेको भिडियो समेत अपलोड गर्न सकिन्छ । फेसबुकले पाइलट प्रोजेक्टको रुपमा गतवर्ष ब्राजिलमा इन्स्टाग्राम लञ्च गरेको थियो । पछि त्यसलाई जर्मनी तथा फ्रान्समा र हालै भारतमा समेत सुरु गरिएको थियो, परीक्षणकै रुपमा ।

भारत सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको एक हप्तापछि नै फेसबुकले भारतमा यो एप परीक्षणको रुपमा लञ्च गरिएको घोषणा गरेको थियो । एजेन्सी