Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

ट्वीटरले किन निलम्बन गर्‍यो डोनाल्ड ट्रम्पका छोरालाई ?

Wednesday, July 29, 2020 National Power

माइक्रो ब्लगिङ साइट ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरालाई १२ घण्टाका लागि प्रतिबन्धित गरेको छ । कोरोना भाइरसको कथित औषधिका बारेमा गलत तथ्ययुक्त भिडियो पोष्ट गरेसँगै ट्वीटरले डोनाल्ड ट्रम्प जुनियरको ट्वीटर अकाउन्टलाई १२ घण्टाका लागि निलम्बन गरिदिएको हो ।

मलेरिया रोगको विरुद्धमा प्रयोग गरिने हाइड्रोक्सिक्लोरोक्विन नामक औषधिले कोरोना भाइरसको रोकथाम गर्ने भन्ने गलत तथ्य भएको भिडियो उनले ट्वीटरमा पोष्ट गरेका थिए । स्मरण रहोस् अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त औषधि कोरोना भाइरस रोकथामका लागि उपयोगी भएको दाबी गर्दै आएका छन्, तर चिकित्सा अध्ययनहरुले भने ट्रम्पको दाबी असत्य भएको पुष्टि गरिसकेको छ ।

ट्रम्प जुनियरले पोष्ट गरेको भिडियोले ट्वीटरको कोभिड–१९ सम्बन्धी गलत सूचना विषयक नियम उल्लंघन गरेको ट्वीटरले ठहर गर्दै निलम्बनको कारवाही गरेको हो । उनको ट्वीटर अकाउन्टबाट १२ घण्टासम्म कुनैपनि ट्वीट गर्न नपाउने गरी निलम्बन गरिएको हो । तर उनले ट्वीटरबाट डाइरेक्स मेसेज पठाउन तथा अरुका ट्वीटहरु हेर्न भने पाउँदछन् ।

बीबीसीसँगको कुराकानीमा ट्वीटरले आफ्नो नीति मुताविक नै ट्रम्पका छोारमाथि उक्त कदम उठाएको जनाएको छ । यसअघि ट्वीटरले जातीय विद्वेष फैलाउने खालका सामाग्री रहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ट्वीटमाथि पनि तथ्यजाँचको संकेत राखिदिएको थियो । जसका कारण ट्वीटर र ट्रम्पबीच सम्बन्ध बिग्रिएको थियो ।

पछिल्लो समय कोरोना भाइरसका बारेमा सोसल मिडियाबाट अफवाह तथा गलत तथ्यहरु नफैलिउन् भन्नका लागि ट्वीटरले कडा कदम चाल्ने गरेको छ । ट्वीटरको कदमप्रति जुनियर ट्रम्पका प्रवक्ताले कडा टिप्पणी गर्दै ट्वीटरको यस्तो निर्णय स्वीकार गर्न नसकिने खालको व्यवहार रहेको बताएका छन् ।

जुनियर ट्रम्पका प्रवक्ता एन्डी सुराबियनले भनेका छन्, ‘डाक्टर तथा स्वास्थ्य विज्ञहरुले हाइड्रोक्सीक्लोरोक्विनका विषयमा छलफल गरिरहेको भाइरल भिडियो शेयर गरेबापत डोनाल्ड जुनियरलाई निलम्बन गर्नुले अनलाइनमा वाक स्वतन्त्रताको हत्या गर्न ट्वीटर उद्यत रहेको प्रमाणित भएको छ, यो कदम रिपब्लिकनका आवाजलाई दबाएर आगामी निर्वाचनमाथि हस्तक्षेप गर्ने ट्वीटरको कार्यको एउटा अर्को उदाहरण हो ।’ बीबीसी