Friday 27th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

एप्पल संस्थापकले युट्युबविरुद्ध मुद्दा हाले

Monday, July 27, 2020 National Power

काठमाडौं – एप्पल कम्पनीका सहसंस्थापक स्टिभ वोज्नियाकले भिडियो शेयरिङ प्लाटफर्म युट्युबविरुद्ध मुद्दा हालेका छन् । स्टिभ जब्ससँगै एप्पल कम्पनीको स्थापना गरेका वोज्नियाकले बिटक्वाइनसम्बन्धी फर्जी भिडियो विज्ञापनमा आफ्नो नाम दुरुपयोग गरिएको र सो भिडियो प्रसारण नगर्न अनुरोध गर्दासमेत युट्युबले अस्विकार गरेको भन्दै युट्युबविरुद्ध मुद्दा हालेका हुन् । युट्युबविरुद्ध क्यालिफोर्नियाको उच्च अदालतमा वोज्नियाकसहित १७ जनाले मुद्दा दायर गरेका छन् ।

युट्युबमा स्टिभ वोज्नियाक लगायतका चर्चित व्यक्तिहरुका तस्वीर तथा भिडियो संलग्न गरिएका विभिन्न फर्जी भिडियो तथा प्रवद्र्धनात्मक विज्ञापनहरु निरन्तर प्रसारण हुने गरेको र त्यस्ता सामाग्रीहरुबाट निर्देशित भई क्रिप्टोकरेन्सीको कारोबार गर्दा युट्युब प्रयोगकर्ताहरुले लाखौँ डलर गुमाउने गरेको अदालतमा दायर निवेदनमा भनिएको छ ।

वोज्नियाकले युट्युबको यस्तो गतविधिलाई हालैको ट्वीटर ह्याकिङ काण्डसँग तुलना गर्दै उस्तैखाले ठगीबाट रकम कमाउने गरेको आरोप लगाएका छन् । हालै ट्वीटरमा बिटक्वाइन ह्याकिङका क्रममा बिल गेट्स, जोए बाइडेन, माइकल ब्लुम्बर्ग, एलोन मस्क लगायतको ट्वीटर अकाउन्ट ह्याक भएको थियो । त्यस्तो ह्याकिङविरुद्ध ट्वीटरले कदम चालेको भएपनि त्यस्तै खालका फर्जी भिडियोहरुमाथि युट्युबले भने कुनै एक्सन लिएको छैन ।

युट्युबमा आउने त्यस्ता ठगी भिडियो विज्ञापनहरुमा वोज्नियाक लगायतका चर्चित व्यक्तित्वहरुको तस्वीर तथा भिडियोहरु प्रयोग गर्दै मानिसहरुलाई बिटक्वाइनको कारोबार गरेर दोब्बर कमाउन सकिने लोभ देखाइन्छ । मानिसहरुलाई आफुसँगको बिटक्वाइन ट्रान्सफर गरेमा दोब्बर बिटक्वाइन प्राप्त गर्न सकिने गलत सन्देश दिएका विज्ञापनहरुबाट लाखौँ युट्युब प्रयोगकर्ताहरु प्रभावित भएर ठगिएका छन् । युट्युबविरुद्ध अदालतमा हालिएको मुद्दामा निवेदकहरुले क्षतिपूर्तिको मागदाबी पेश गर्दै युट्युबमा त्यस्ता भिडियोहरुमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् । साथै प्रयोगकर्ताहरुलाई त्यस्ता ठगीपूर्ण विज्ञापनहरुका बारेमा चेतावनी जारी गर्न लगाउन समेत माग गरिएको छ । एजेन्सी