Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

मजदुरहरुको उपेक्षा र अपमान कसैको हितमा हुँदैन : डा. डि.आर. उपाध्याय

Wednesday, April 22, 2020 National Power

               लेखक : डा. डि.आर. उपाध्याय

काठमाडौ  – विश्वभर नै कोरोना भाइरस (कोभिड-१९) को महामारीले आतङ्क फैलाइरहेको अवस्थामा यसको रोकथाम नियन्त्रणका लागि भन्दै नेपाल सरकारले गरेको ‘लकडाउन’को आज ३० औं दिनमा छौ हामीहरु । सरकारले चरणवद्ध रुपमा लकडाउन लम्ब्याउँदै वैशाख १५ गतेसम्म ‘लकडाउन’को अबधि बढाएको छ । यो बीचमा कोभिड-१९को संक्रमण बाट हामीकहा ४२ जना संक्रमित देखा परेका छन् । हिजो मंगलबारमात्रै ११ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या ४२ पुगेको हो । देश यतिवेला कोरोनाको कहरमा छ भने कसैले यही मौकामा चौका हान्ने प्रवृतिमा संलग्न भएको पनि देएको छ ।

कोरोनाको सङ्कटमा सबै एकजुट भएर लाग्नु पर्ने अवस्थामा मन्त्री परिषदको सोमबार बसेको वैठकले ‘बेमौसमी बाजा’ बजाएको छ । कोरोना भाइरसले विश्वमै महामारी फैलाइरहेका बेला हामीसबै त्यसतर्फ एकजुट भएर लाग्नु पर्ने समयमा राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन अध्यादेश र संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश ल्याएको छ । यसका तत्कालिन र दीर्घकालिन असर समयक्रमसँगै देखिदै जाने नै छन् । यसको अर्को लेखमा चर्चा गरौला म यो छोटो आर्टिकलमा कोरोना कहरमा मजदुरका विषयमा मनमा लाएका केही कुरा राख्दै छु ।

नेपालमा रहेका बिदेशीहरुलाई स्वदेश फर्काउन तिनका राष्ट्रले पहल गरेर लैजाने क्रम अझै पनि जारी छ । तर, बिभिन्न देशमा रहेका विद्यार्थीलगायत नेपालीहरु आफ्नो घर फर्कन पटक–पटक हार गुहार गर्दा पनि फर्कन पाईरहेका छैनन् । यो अत्यन्त दुर्भाग्यपुर्ण बिडम्बना हो ।

बिदेशमा रहेकाहरुको कुरा त परै जाओस आफ्नै देशमा रहेर पनि आफ्नो घर जान भोक भोकै हिँडेर समेत जान नपाउनेको पिडा पढेर सुनेर जोसुकैको गहभरी आँसु छचल्किन्छ । लकडाउनका कारण मुख्य सडकबाट जान नपाएर जङ्गलै-जङ्गल गोरेटो बाटोमा हिँडदै सयौं किलोमिटर पैदल गइरहेका सुत्केरी तथा गर्भवतीहरुको दर्दनाक अवस्थाको घाउ भविष्यमा नेपाली मनमा सजिलै पुरिएला जस्तो लाग्दैन ।
दिनभरी काम गरेर दुई छाक टार्ने अवस्थाका ज्यालादारी मजदुर एक महिना लामो लकडाउनमा काम विहिन भएर बस्नु पर्दा उनीहरुको स्थिती के भयो होला ! सजीलै अनुमान लगाउन सकिन्छ । तिनका कार्यस्थलका झुपडी, टहरा, टेन्टमा रासन पानी सकिएर ठेकदारले पारिश्रमिक नदिएर तथा राहतमा पँहुच नपुग्दा आफ्नो घर फर्किन बाहेक अरु बिकल्प थिएन उनका सामु । तर, लकडाउनमा देश ठप्प भए पछि उनीहरु लाला बालासहित हिडेर जान खोज्दा के-के दुर्दशा भईरहेको छ तपाईं हाम्रा अगाडि त्यस्ता दृश्य यत्र तत्र देखिएका छन् ।

देशमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउन लागी गरिएका सबै आन्दोलन र सङ्र्घषमा यिनै मजदुरको महत्वपुर्ण योगदान रहने गरेको छ । यिनीहरुको नेतृत्व गर्ने देशभरीको राजनितिक दलहरुले ट्रेड युनियन अन्र्तगत सङ्घ सङ्गठनहरु सञ्चालन गरिरहेका छन् । यस्तै सङ्घ सङ्गठनका सयौं नेताहरु अहिले विभिन्न उच्चपद सम्हालेर बसेका छन् । तर, तिनै मजदुर चरम सङ्कटको भुमरीमा फसेका बखत अभिभावक बिहिन भएका छन् । लकडाउनमा यात्रा गर्नु उनीहरुकै जीवनका निम्ती घातक भएको वास्तविकता बुझाएर सरकारी राहतमा मजदुरको यथेष्ट पँहुच पू¥याउन मजदुर सङ्घ सङ्गठनले पहल कदमी गरेको भए दिनहुँ मजदुरहरुको मर्माहत पार्ने अवस्थाका समाचारहरु सार्वजनिक हुने थिएनन् । मजदुरहरु लाई सुरक्षित उपाय गरी गाउँ घर फर्काउनका लागि सम्बन्धित निकायमा सुझाव प्रस्ताव प्रस्तुत गरेर बेलैमा त्यसको कार्यान्वयन गराएको भए केही हदसम्म मजदुरहरु प्रतिको दायित्व पुरा हुन्थ्यो । तर, देशभर रहेका करिव २०लाख यस्ता मजदुरहरु अहिले अनेकौं पीडा कष्ट भोग्न झेल्न बाध्य छन् ।

सत्तारुढ नेकपाका अध्यक्ष पूष्पकमल दाहाल (प्रचण्ड) र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले यत्र तत्र बिचल्लीमा परेका मजदुरहरुको राहत एवम् उद्धारका लागि गरेको आग्रह पछि पनि हजारौं मजदुर बाल बच्चासहित दुरावस्थामा छन् । देशको चौतर्फी बिकाशका लागि रगत पसिना बगाएको तथा जनताको अधिकार प्राप्तीका निम्ति भएका प्रत्येक आन्दोलनमा सशक्त भुमिका निर्वाह गरेको शक्तिलाई उपेक्षा एवम् अपमान गर्नु कसैको पनि हितमा हुन सक्दैन । राहत तथा उद्धारमा पक्षपात धाँधली तथा आ-आफ्ना् कार्यकर्तालाई मात्र खूशी पार्ने नेताहरुले अहिलेको सङ्कटमा मजदुरहरुलाई भरिपुर्ण सहयोग गरेर प्रायश्चित गर्नुपर्छ । अझै पनि धेरै सङ्ख्यामा मजदुरहरु कष्ट झेल्दै आफ्ना घर तर्फको लामो पैदल हिँडाईमा अलपत्र रहेका छन् । यस्ता मजदुरको पीडामा थप पीडा थोपरने काम नगर । पीडामा मलम लगाउँ अन्यथा मजदुरको आँशुले तिमीहरुलाई सधैँ भरी पोल्ने छ । मजदुर पक्षको उपेक्षा र अपमान कसैको हितमा हुँदैन ।