Tuesday 10th December 2024

    गढीमाई मेलामा दर्शनार्थीको घुइँचो    गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक    पैसाको कमी र यौन असन्तुष्टीका कारण पति-पत्नीको सम्बन्ध कमजोर हुन्छन्    हैदरावादमा पुष्पा–२ को लाइभ कार्यक्रममा भागदौड, एक महिलाको मृत्यु    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै

हाम्रो मत भविष्यमा गएर राष्ट्रघात र भ्रष्टाचारको औजार नबनोस् :कुमार बेलबासे

Thursday, November 30, 2017 National Power

हाम्रो मत भविष्यमा गएर राष्ट्रघात र भ्रष्टाचारको औजार नबनोस्, त्यसैले प्रगतिशील लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन “हँसिया तारा” चिन्हमा आफ्नो अमूल्य मतदान गरौं भनेर आम मतदातालाई अनुनयन गर्ने नेकपा (माले) का स्थायी कमिटी सदस्य तथा प्रवक्ता, एवम् प्रतिनिधिसभाका लागी समानुपातिक उम्मेदवार कुमार बेलबासेसंग पावर न्यूज मासिकका प्रतिनिधि राजन थापाले गरेको कुराकानीलाई प्रस्तुत गरिएकोछ ।

नेकपा (माले) पनि चुनावी मैदानमा प्रतिस्पर्धा गरिरहेको छ तर उम्मेदवारहरुले चर्चा पाउन सकिरहेका छैनन्, तपाईंहरुको अभियान कसरी अघि बढिरहेको छ ?

हो, हामी मुलुकभरका प्रतिनिधि सभा तथा प्रदेश सभाका विभिन्न निर्वाचन क्षेत्रहरुमा प्रतिस्पर्धा गरिरहेका छौं  । पार्टीका उम्मेदवार, नेता तथा कार्यकर्ताहरु प्रचार अभियानमा जुटिरहनु भएको छ  । जहाँसम्म चर्चाको कुरा छ, त्यस्ता उम्मेदवारहरु मात्र प्रायःजसो अहिले चर्चित छन् जसले प्रचार–प्रसारमा करोडौं रकम खर्च गरिरहेका छन्  । निर्वाचन आचारसंहिता विपरीत पैसा खर्च गर्ने र राज्यको स्रोत–साधनको दुरुपयोग गरेर चर्चा बटुल्नेहरुप्रति जनता सजग बन्नैपर्ने हुन्छ  । निर्वाचन आयोगले पनि आचारसंहिताको पूर्ण रुपमा पालना गराउन सक्नुपर्छ  । अन्यथा निर्वाचन निष्पक्ष बन्न सक्दैन, स्वच्छ छवि भएका राम्रो नीति, सिद्धान्त बोकेका पार्टीका उम्मेदवारहरुको चर्चा कम हुनु दुःखलाग्दो कुरा हो  । यद्यपि हाम्रा उम्मेदवारहरु आफ्ना चुनावी एजेन्डाहरु बोकेर जनताको घरदैलोमा पुगिरहनुभएको छ र जनताबाट राम्रो समर्थन पनि पाइरहेका छौं  ।

नेकपा (एमाले) र माओवादी केन्द्र जस्ता दुई ठूला वाम पार्टीबीच गठबन्धन बन्यो  । उक्त गठबन्धनमा अन्य केही दलहरु पनि सहभागी बने र तर नेकपा (माले) किन सहभागी भएन ?

सबैभन्दा पहिले बुझ्नुपर्ने कुरा के छ भने यो गठबन्धन रातारात कसरी बन्यो  । गठबन्धन निर्माण यिनै दलका नेताका पहलमा मात्र भयो या पर्दा पछाडि अर्कैको खेल रहेको छ ? निश्चय पनि एमाले–माकेबीचको गठबन्धनका पछाडि नेपाललाई सदासर्वदा परचक्रीको रणनीतिक स्वार्थ बमोजिमका गतिविधिहरुको क्रिडाभूमि बनाउने तत्वको हात रहेको छ  । छिमेकी भारत र अमेरिकाको नेपाली भूमि उपयोगका आ–आफ्नै स्वार्थहरु छन्  । अमेरिका नेपाली भूमिको प्रयोग गर्दै चीन विरोधी गतिविधि गर्न चाहन्छ भने भारतको मिसन नेपाललाई सिक्किमीकरण गराउने दिशामा केन्द्रित छ  । यी उद्देश्य पूरा गराउन आफू अनुकूलको सरकार बनाउने र भत्काउने खेल यिनीहरुले विगतदेखि खेल्दै आएका छन् र वर्तमानमा यो खेल अझ घनीभूत भएर गइरहेको छ  । यसैको सेरोफेरोमा निर्माण भएको वाम गठबन्धनको सदस्य बन्नुअघि गम्भीरतापूर्वक सोच्नैपर्ने हुन्छ  । हामीलाई पनि प्रस्ताव नआएको होइन, तर, हामीले वैकल्पिक राजनीतिक शक्तिको रुपमा प्रगतिशील लोकतान्त्रिक गठबन्धन निर्माण गरेर निर्वाचनमा जाने निर्णय ग¥यो  । नेकपा (माले) र जनसमाजवादी पार्टी, नेपालबीच नेकपा (माले)को “हँसिया तारा” चिन्हमा संयुक्त रुपमा निर्वाचन लड्ने निर्णय गरी हामी चुनावी प्रतिस्पर्धा गरिरहेका छौं  । प्रगतिशील लोकतान्त्रिक गठबन्धनले संयुक्त घोषणापत्र जारी गरेको छ  । यो वैकल्पिक गठबन्धनले  वामपन्थीलाई आपसी विश्वास, समझदारी र सहकार्यमा ल्याई देशको स्वतन्त्रता, सार्वभौम सत्ता, अखण्डता, राजनीतिक स्थिरता र आर्थिक समृद्धिको पक्षमा काम गर्ने उद्देश्य लिएको छ  । फेरी अहिलेको समय भनेको त राष्ट्र र राष्ट्रिय एकता, स्वतन्त्रता तथा आर्थिक विकासलाई केन्द्रविन्दु बनाई वामपंथी, कम्युनिष्ट, लोकतान्त्रिक तथा राष्ट्रवादी चारै थरीका देशभक्त शक्तिहरूलाई नजीक्याउने र सहकार्यतर्फ बढाउने राजनीति नै बर्तमान नेपालको निम्ति सही राजनीति हो । यस विपरित सत्तास्वार्थ लगायत माथि उल्लिखित विविध संकीर्ण स्वार्थ पूर्ती गर्नको निम्ति पनि देशमा स्वार्थ–केन्द्रीत राजनीति अनि त्यसमा आधारित गठबन्धनहरू देखापरेका छन् । नेकपा (एमाले) र नेकपा (माके) द्वारा निर्मित वामपंथी गठबन्धन र नेपाली कांग्रेस तथा क्षेत्रीय दलहरू लगायतका अन्य दलहरूद्वारा निर्मित लोकतान्त्रिक गठबन्धन यस्तै चरित्रका गठबन्धन हुन् । यी गठबन्धनहरूका कृयाकलापहरूले देशभक्त शक्तिलाई कमजोर बनाउने र प्रगतिशील शक्तिहरूलाई नियोजित गर्ने सम्भावनाहरूलाई अस्वीकार गर्न सकिन्न् । अतः यी गठबन्धनहरू जोखिमयुक्त पनि छन् । तिनीहरूप्रतिको वर्तमान आकर्र्षण राष्ट्र र जनताको निम्ति प्रत्युत्पादक समेत सावित हुन सक्नेछ भनी हामी सबैलाई सचेत गराउन चाहान्छौं । त्यसैले राष्ट्रिय शक्तिहरूलाई एकतावद्ध र शक्तिशाली वनाउने चिन्तन र राजनीतिलाई लागू गर्ने शक्ति निर्माण गर्नको निमित्त नेकपा (माले) र जनसमाजवादी पार्टी नेपालको गठबन्धन निर्माण भएको हो ।

तपाईंले राष्ट्रियताको सवाल उठाउनुभयो, तपाईंहरुको प्रगतिशील लोकतान्त्रिक गठबन्धनले राष्ट्रियताका सवालमा कस्तो दृष्टिकोण प्रस्तुत गरेको छ ?

नेकपा (माले) ले विगतमा पनि राष्ट्रियताका सवालमा सडकदेखि सदनसम्म संघर्ष गर्दै आइरहेको छ  । नेपालको राष्ट्रियतामाथि भइरहेको चौतर्फी प्रहारप्रति देशभक्त शक्तिहरु संवेदनशील बन्नैपर्छ  । हाम्रो गठबन्धनले जारी गरेको घोषणापत्रमा हामीले राष्ट्रियताको बारेमा स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका छौं  । राष्ट्रियताको सुदृढीकरणको लागि नेपाल भारतबीचको खुला सिमानालाई नियमन गर्दै दुवै देशका अध्यागमन कार्यालयहरुले सीमा वारपार गर्ने नागरिकहरुको विद्युतीय प्रणालीमा दर्ता अभिलेख राख्ने व्यवस्था अघि सारेका छौं  । सुस्ता, कालापानी लगायत नेपाल र भारत सिमानाका विभिन्न स्थानमा रहेका विवादलाई विगतका सम्झौता र ऐतिहासिक प्रमाणका आधारमा समाधान गरिनुपर्छ यसको निम्ति हामीले पहल गर्छौं भनेका छौं । सीमा स्तम्भहरुलाई सुरक्षित र आवधिक गरिनेछ भनेका छौं  । सुगौली सन्धिद्वारा निर्धारित लिम्पियाधुरादेखि उदगमित महाकाली नदीको नेपाल भारत सिमानालाई कायम गर्न पहल गरिनुपर्छ र यस अन्तर्गत नै लिपुलेकसम्बन्धी विवादको टुंगो लगाइनुपर्छ, साथै दक्षिणी सिमानामा पानीको प्राकृतिक बहावलाई रोक्ने गरी बनाइएका संरचना हटाउन पहल गरिनुपर्छ, १९५० को सन्धिलाई समयानुकूल परिमार्जन गर्न सुरु भएको कार्यलाई सक्रिय रुपमा अघि बढाइनुपर्छ भनेका छौं ।

यसैगरी ब्रिटिस भारत र नेपालबीच ४ मार्च १८१६ मा हस्ताक्षरित असमान सुगौली सन्धिलाई भारत र ब्रिटेनका सरकारहरुले खारेज गरिसकेको अवस्थामा उक्त सन्धिद्वारा तत्कालीन ब्रिटिस भारतमा गाभिएका नेपाली भूमिको हैसियत र तिनको फिर्तीसम्बन्धी अध्ययन अनुसन्धानलाई समेत प्रोत्साहन गर्ने नीति हामीले लिएका छौं  । पञ्चशीलको सिद्धान्तमा अन्तर्राष्ट्रिय सम्बन्ध, एक चीन नीति र तिब्बत चीनको अभिन्न अंग भएको तथ्यलाई पूर्ण सम्मान गरिनेछ र चीन र भारतबीचका जाहेज संवेदनशीलता सम्मान गर्ने नीति हामीले लिएका छौं  । एउटा मात्र छिमेकी मुलुकसँग रहेको परनिर्भरता हटाउन व्यापार पारवहनलाई विविधकरण गर्ने नीति हामीले लिउका छौं  । राष्ट्रियताका सवालमा हामी अन्य पार्टीभन्दा अब्बल र फरक छौं  ।

तपाईंहरुले अन्य विषयमा के कस्ता चुनावी मुद्दाहरु अगाडि सार्नुभएको छ ?

हामीले विस्तृत रुपमा सम्पूर्ण विषयलाई समेटेर घोषणापत्र जारी गरेका छौं  । यहाँ सबै विषयको चर्चा गर्न त सम्भव छैन  । मूल रुपमा हामीले आर्थिक स्वावलम्बनमा जोड दिएका छौं  । अर्थतन्त्र धराशायी भएर मुलुक विश्वकै कंगाल बनेको छ  । परनिर्भरता चरम रुपमा बढेको छ  । बढ्दो परनिर्भरता र दलाल पुँजीपतिको विरुद्ध राष्ट्रिय पुँजी निर्माणको पक्षमा हाम्रो आर्थिक नीति केन्द्रित छ  । सार्वजनिक क्षेत्र, सहकारी क्षेत्र र निजी क्षेत्र सम्मिलित मिश्रित अर्थतन्त्र रहने, राष्ट्रिय पुँजीको विकास गरिने, आयात प्रतिस्थापन तथा निर्यात प्रबद्र्धनका लागि उत्पादन बढाइने र स्वावलम्बनमा आधारित सामाजिक अर्थतन्त्र निर्माणको नीति हामीले अवलम्बन गरेका छौं  ।

यसको अलावा वैज्ञानिक र व्यवस्थित भूउपयोग नीति, कृषि पर्यटन जलस्रोत उद्योग वाणिज्य यातायात, सञ्चार, स्वास्थ्य, पर्यावरण, महिला, बालबालिका, ज्येष्ठ नागरिक, उत्पीडित तथा विभेदमा पारिएका समुदाय, प्रवासी नेपाली, वैदेशिक रोजगार, शिक्षा, खेलकुद, भाषा संस्कृति लगायत विविध विषय हामीले लामो अध्ययन, अनुसन्धान र छलफलपछि वैज्ञानिक र परिमार्जित ढंगले घोषणापत्रमा समेटेका छौं  । मुलुकको सिंगो मुहार परिवर्तन गर्न र आर्थिक क्रान्ति गरी समृद्धशाली मुलुकको सूचीमा अंकित गराउने दिशामा घोषणापत्र सबल छ  । घोषणापत्र एकपटक अध्ययन गरिदिन म सबैमा हार्दिक अनुरोध गर्दछु  ।

निर्वाचनमा घोषणापत्र, नीति कार्यक्रम अध्ययन गरेर भन्दा मनि, मसलको प्रयोग गरेर मत तान्ने प्रवृत्ति बढेको देखिन्छ, यसमा तपाईं के भन्नुहुन्छ ?

वास्तवमा निर्वाचनमा केही राजनीतिक दल र उम्मेदवारहरुले अत्यधिक मात्रामा खर्च गररहेका छन्  । त्यसैगरी अपराधिक समूहको प्रयोगले निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी र मर्यादित बन्ने सिद्धान्तबाट टाढा गइरहेको छ  । निर्वाचन विरोधीहरुले मच्चाएको चौतर्फी आंतकका कारण पनि भयरहित वातावरणमा निर्वाचन हुन सकिरहेको छैन  । सरकार र निर्वाचन आयोग शान्तिसुरक्षा प्रदान गर्न र आचारसंहिता पालना गराउने काममा उदासीन देखिएका छन्  । यहाँ ठूला भनिएका दलहरुले जे गर्दा पनि हुने तर अरु दलहरुलाई आचार संहिताको लट्ठी लगाएको देख्दा निर्वाचन आयोग ठूला दलहरुको गोटी मात्र बनेको स्पष्टै जनताले महशुश गरेका छन् । हामीहरुले यो विषयलाई पनि प्रचार–प्रसारको एउटा मुद्दा बनाएका छौं । निर्णायक शक्ति भनेको जनता जनार्दन नै हुन् । हामीलाई पूरा विश्वास र भरोसा छ, आचार संहिताको यस्तो उल्लंघन र दण्डहीनताको विगविगीलाई जनताले आफ्नो मतदानबाट नै भरपूर उत्तर दिनुहुने छ ।

तपाईं प्रतिनिधि सभामा समानुपातिक तर्फको उम्मेदवार पनि हुनुहुन्छ, अन्त्यमा सम्पूर्ण मतदाताहरुलाई के भन्न चाहनुहुन्छ ?

म सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरुमा के अपिल गर्न चाहन्छु भने मतदान गर्दा विवेकको प्रयोग गरौं  । हाम्रो मत भविष्यमा गएर राष्ट्रघात र भ्रष्टाचारको औजार नबनोस्, त्यसैले प्रगतिशील लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन “हँसिया तारा” चिन्हमा आफ्नो अमूल्य मतदान गरौं  ।