Monday 20th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

विद्युत् प्रसारण लाइन निर्माणमा अवरोध गर्ने चेतावनी

Thursday, October 26, 2017 National Power

९ कात्तिक ,लमजुङ – मस्र्याङ्दी करिडोरमा निर्माण हुन लागेको २२० केभी विद्युत् प्रसारण लाइनमा अवरोध गर्ने स्थानीयवासीले चेतावनी दिएका छन् । लमजुङको उदिपुरदेखि मनाङको तालसम्म निर्माण गर्न लागिएको २२० केभी विद्युत् प्रसारण लाइन प्रभावितको माग पूरा नभएसम्म विद्युत् प्रसारण लाइन निर्माण हुन नदिने गठित संघर्ष समितिले यहाँ आयोजित पत्रकार सम्मेलनमा चेतावनी दिएको हो ।

यसअघि उदिपुर–भुलभुले १३२ केभी विद्युत् प्रसारण लाइनबाट प्रभावित भएकाहरूबाटै उक्त समिति गठन गरिएको थियो । एक सय ३२ केभी लाइन निर्माणका क्रममा मुआब्जालगायतका विषयमा असन्तुष्ट भई आन्दोलन गर्दै आएको समितिले सोही प्रक्रियामा २२० केभी निर्माण हुन लागेको भन्दै अवरोध गर्न लागेका हुन् । आफूहरूको पहिलाकै माग पूरा नभएकाले सो माग पूरा नभएसम्म काम अघि बढ्न नदिने संघर्ष समितिका सचिव चन्द्रबहादुर मिश्रले बताउनुभयो ।

समितिले विद्युत् प्रसारण लाइनबारे सरोकारवालाबीच सार्वजनिक सुनुवाइ र वातावरणीय प्रभाव मूल्यांकन सार्वजनिक गर्न माग गरेको छ । यसैगरी तारमुनि रहेको जग्गामा घर निर्माण गर्न नमिल्ने, बेचबिखन हुन नसक्ने र बैंकलगायत कुनै पनि वित्तीय संस्थाले धितोमा नलिने हुँदा उक्त जग्गाको सबै कित्ताको पूर्ण मुआब्जा र क्षतिपूर्ति उपलब्ध गराई लागत कट्टा गराउन माग गरेको छ ।

विश्व बैंकको लगानीमा नेपाल सरकारले लमजुङको उदिपुरदेखि मनाङको तालसम्म २२० केभीको विद्युत् प्रसारण लाइन निर्माण गर्न लागेको हो । उक्त परियोजनाले आगामी १० गते मस्र्याङ्दी गाउँपालिकाको भुलभुलेमा सार्वजनिक सुनुवाइ गर्ने जनाएको छ ।