
काठमाडौं – नेपाली संगीत क्षेत्रलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यसहित विगत पाँच वर्षदेखि निरन्तर भव्य रूपमा आयोजना हुँदै आएको राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को छैठौं संस्करण आयोजना हुने भएको छ। आयोजक संस्था सामना म्युजिक क्रियशनले आजदेखि औपचारिक रूपमा आवेदन (फारम) खुला गरिएको जानकारी दिएको छ।
अवार्डको अन्तिम कार्यक्रम कहिले र कहाँ हुने भन्ने विषयमा भने अझै टुंगो लागिनसकेको सामना म्युजिक क्रियशनकी अध्यक्ष सामना शाहले बताएकी छन्। यद्यपि, यसपटकको संस्करण अझ भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने तयारी भइरहेको उनको भनाइ छ।
यस छैठौं संस्करणमा जम्मा २२ विधा समेटिएका छन्। सहभागी हुन इच्छुक कलाकारहरूले सामना म्युजिक क्रियशनको अनामनगरस्थित कार्यालय तथा अनामनगरमै रहेको रेडियो मिर्मिरे ८९.४ मेगाहर्ज (राजु बोहरा) लगायतका स्थानबाट फारम प्राप्त गर्न सक्नेछन्। साथै, थप जानकारीका लागि फारममा उल्लेखित मोबाइल नम्बरहरूमा सम्पर्क गर्न आयोजक समितिले आग्रह गरेको छ।
अवार्डमा सहभागिताका लागि २०८१ साल बैशाखदेखि २०८२ साल फागुन महिनाभित्र सार्वजनिक भएका गीतहरू मात्र योग्य हुनेछन्। प्रत्येक विधामा सहभागिता जनाउन रु. १,००० शुल्क तोकिएको छ भने एल्बमतर्फ रु. ५,००० शुल्क लाग्नेछ।
अध्यक्ष शाहका अनुसार, यो अवार्ड प्रारम्भमा पहिलो र दोस्रो संस्करणसम्म “अवार्ड” कै रूपमा सञ्चालन भए पनि तेस्रो संस्करणदेखि “रिवार्ड” को रूपमा रूपान्तरण गरिएको हो। सामना म्युजिक क्रियशनले यस्ता कार्यक्रममार्फत नेपाली गीत–संगीत क्षेत्रमा सक्रिय कलाकारहरूलाई प्रोत्साहन गर्नुका साथै योगदान दिने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ।
नेपाली संगीतको प्रवर्द्धन र संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको यो अवार्डले आगामी संस्करणमा पनि नयाँ प्रतिभा उजागर गर्ने विश्वास गरिएको छ।