Sunday 29th March 2026

    Lyricist Reema Shrestha Collaborates with Renowned Singer Pramod Kharel    अमेरिकामा बसोबास गर्ने गीतकार श्रेष्ठका सिर्जनाहरूले नेपाली संगीतमा योगदान पुर्‍याउँदै    १६औँ बिन्ध्यवासिनी म्युजिक अवार्ड चैत २७ मा, शम्भुजीत बास्कोटालाई लाइफटाइम अचिभमेन्ट    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

प्रसारण लाइनको सबै सम्पत्ति नेपाल सरकारको हुन्छ : विष्ट

Tuesday, March 1, 2022 National Power

काठमाडौँ-  अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधि सभाबाट अनुमोदन भएपछि पनि कतिपयबाट सम्पत्ति व्यवस्थापनलगायतका विषयमा भ्रम उत्पन्न गर्ने क्रम जारी छ । तर मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)का कार्यकारी निर्देशक खड्गबहादुर विष्टले प्रसारण लाइन निर्माण गर्दा खरिद गरिने सबै सम्पत्ति नेपाल सरकारको हुने स्पष्ट पार्नुभएको छ ।

“निर्माणका क्रममा प्राप्त हुने भौतिक र बौद्धिक सम्पत्तिदेखि कागजपत्र र कम्प्युुटरसम्म सबै नेपालकै हुनेछन्”, उहाँले भन्नुभयो, “एमसीसीले कुनै पनि जग्गा खरिद गर्दैन । एमसीए नेपाल विकास समितिले किनेका कुनै पनि भौतिक वस्तुको अधिकार एमसीसीको हुँदैन । त्यो नेपाल सरकारको विकास समितिअन्तर्गत रहन्छ । ”

पाँच वर्षमा निर्माण सम्पन्न भएपछि यो सम्पत्ति नेपाल सरकारको हुन्छ वा नेपाल सरकारले तोकेको निकायजस्तै विद्युत् प्राधिकरणको स्वामित्वमा जान्छ । एमसीसीको नाउँमा एउटा कम्प्युुटर पनि किन्दैनौँ । “सबै सम्पत्ति, कागजपत्र, बौद्धिक सम्पत्तिदेखि त्यहाँ भएका कम्प्युुटरसम्म सबै नेपाल सरकारका हुन्छन्,” कार्यकारी निर्देशक विष्टले थप्नुुभयो ।
अमेरिकी सेना आउने, जमिन पनि एमसीसीकै हुने भन्ने कुराचाहिँ के हो भन्ने अर्को जिज्ञासामा विष्टले भन्नुभयो, “यो पूरै झुुट र असत्य हो, अमेरिकी सेना नेपालमा आउँदैन र एमसीसी कम्प्याक्टमा सेना प्रयोग नै गर्न पाइँदैन । ”

कम्पनी र कामदार छनोट
विष्टका अनुसार प्रसारण लाइन निर्माणका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट कम्पनी छनोट गरिन्छ । काम गर्ने अधिकांश जनशक्ति (दक्ष वा अदक्ष) नेपालकै हुन्छन् । निर्माण कार्य पूरा गर्न आवश्यक पर्ने कुनै जनशक्ति नेपालमा प्राप्त हुन सकेन भने मात्र निर्माण कम्पनीले जुनसुकै देशबाट पनि ल्याउन सक्छ । काम सम्पन्न भएपछि ती जनशक्ति फिर्ता जान्छन् । अहिले एमसीए नेपालमा ५२ जना कार्यरत रहेकामा एक जना मात्रै विदेशी रहेको उहाँले बताउनुभयो । शतप्रतिशत त नभनौँ, ९९ प्रतिशत जनशक्ति नेपालकै हुन्छ ।
उहाँका अनुसार चार सय किलो भोल्टको प्रसारण लाइन निर्माणको अनुुभव नेपालसँग त्यति छैन । तीन हजार किलोभन्दा बढी भोल्टको प्रसारण लाइन बोक्न सक्ने यसको क्षमता हुन्छ । यस्तो क्षमता भएको छोटो लाइन मात्रै नेपाल विद्युत् प्राधिकरणले बनाउँदै छ । अरू बनेका छैनन् । यो प्रसारण लाइनको कुल लम्बाइ ३१५ किलोमिटर लामो हुन्छ ।

बजेट प्राप्ति र खर्च
विष्टका अनुसार एमसीसीबाट आउने अनुदान सोझै खर्च पनि हुँदैन । नेपाल सरकारको रातो किताबमा परेपछि बजेट प्राप्तिको प्रक्रिया सुरु हुन्छ । सरकारले चालू आर्थिक वर्ष (२०७८÷७९) मा बजेट विनियोजन गरिसकेको छ । आगामी आर्थिक वर्षमा थप बजेट व्यवस्थापन हुनेछ । एमसीसीबाट हरेक तीन महिनामा बजेट प्राप्त हुन्छ । अब बजेटको समस्या हुँदैन ।
त्यसका लागि नेपालबाट कुन–कुन कार्यका लागि कति बजेट चाहिने हो, त्यसअनुसारको तालिका बनाएर अमेरिकाको अर्थ मन्त्रालयमा पठाइन्छ र सोहीअनुसार बजेट प्राप्त हुने जानकारी कार्यकारी निर्देशक विष्टले दिनुुभयो । उदाहरणका लागि तीन महिनामा ३० लाख डलर आवश्यक पर्ने भयो भने त्यो रकम एमसीए नेपालका कार्यकारी निर्देशकबाट खर्च गर्न पाउने गरी प्राप्त हुने प्रावधान छ । अमेरिकाले कति रकम पठायो भन्ने कुरा नेपालको अर्थ मन्त्रालयलाई पनि
जानकारी हुन्छ ।

निर्माण प्रक्रिया
यो अमेरिकी अनुदान सहयोग प्राप्त गर्न पाँचवटा सर्त रहेको उहाँले बताउनुभयो । पहिलो, यो प्रसारण लाइनलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गर्नुपर्नेमा त्यो घोषणाा भइसकेको छ । दोस्रो, एमसीसीले ठूलो आयोजनालाई कम्प्याक्ट भन्छ, एउटा सानो आयोजना छ, त्यसलाई कार्यान्वयन सम्झौता गर्नु थियो, त्यो पनि पूरा भएको छ । तेस्रो, भारतको सीमासम्म हाम्रो प्रसारण लाइन पुुग्छ । भारतमा बिजुली निर्यात गर्न भारतसँग समझदारी गर्नुपर्ने थियो, त्यो पनि पूरा भएको छ । यसबाट नेपालमा खपत हुन नसकेको बिजुली भारतलाई बेच्न सजिलो भएको छ ।

चौथो, संसद्बाट एमसीसीलाई अनुुमोदन गर्नु थियो । त्यो फागुन १५ गते प्रतिनिधि सभाबाट अनुुमोदन गरेको छ । पाँचौँ, प्रसारण लाइनको स्टेसनसम्म पुुग्ने पहुुँच मार्ग बनाउने हो । यो सडक नै भनेको होइन । प्रसारण लाइन लैजान जग्गा चाहियो, वन क्षेत्र परेमा वनका रुख हटाउनुुपर्ने हुन सक्छ । त्यहाँ टावर बनाउनुु पर्छ । प्रसारण लाइन लानका लागि जग्गा खरिद गर्नुपर्ने हुन्छ । त्यो प्राप्तिका लागि नेपाल सरकारको सहयोग आवश्यक पर्छ । त्यसलाई निर्माण क्षेत्रको पहुँच भनिन्छ । त्यो काम भने बाँकी छ ।

नुवाकोट जिल्लाको बेलकोट नगरपालिकाको रातमाटेमा करिब चार रोपनी जग्गा अधिग्रहणको कार्य सकिएको छ । त्यहाँ प्रसारण लाइनको सबस्टेसन बन्छ । अन्यत्र भने बाँकी छ । त्यो जग्गा प्राप्तिको काम अहिलेसम्म पूरा भइसक्ने थियो । कोभिड–१९ ले काम पूरा हुन सकेन । प्रसारण लाइन जाने जङ्गलको रुख गणना गर्न बाँकी छ । त्यसको विवरण तयार भएपछि वन कार्यालय, वन विभाग, वन मन्त्रालय हुँदै मन्त्रिपरिषद्ले अनुुमति प्रदान गरेपछि कार्य सुरु हुन्छ । यो काम बाँकी छ ।

पाँच वर्षको निर्माण अवधि कहिलेबाट सुरु हुन्छ त भन्ने जिज्ञासामा कार्यकारी निर्देशक विष्टले भन्नुभयो, “पाँचवटा सर्त पूरा भइसकेका छन्, जग्गा प्राप्तिको काम सकिएपछि निर्माण अवधिको घोषणा हुन्छ । त्यो घोषणा त अब हामी एक डेढ महिनामा गर्छौं, त्यो घोषणा भएको मितिले पाँच वर्षभित्रै यो प्रसारण लाइन निर्माणको कार्य सम्पन्न गर्नैपर्छ । सकिएन भने नेपाल सरकार आफैँले पैसा लगानी गरेर सक्नुुपर्छ । ” पूूर्व–पश्चिम राजमार्गको एउटा खण्डलाई नयाँ प्रविधि ल्याएर कालोपत्रे गर्ने रहेको बताउँदै उहाँले त्यो जटिल कार्यमा नपर्ने स्पष्ट पार्नुभयो ।

अन्य काम के सकिए ?
उहाँका अनुसार हामीले डिजाइन सकियो, वातावरणीय पूर्वाधार मूूल्याङ्कन (ईआईए) को कार्य सकिएको छ । त्यसैगरी प्रसारण लाइनको रेखाङ्कन गर्ने कार्य पूरा भएको छ । प्रसारण लाइन लैजान ठाउँ–ठाउँमा जग निर्माण गर्नका लागि जग्गामा किला ठोकेर ठाउँ तय भएको छ । यी यावत् काम सकिएका छन् । प्रसारण लाइन (तार) मुनिको जग्गाको भोगाधिकार एमसीए नेपालले लिन्छ र टावरका लागि चाहिने जग्गाचाहिँ किनिन्छ ।