Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

बैंकहरुले अचाक्ली व्याजदर बढाएको महासंघको आरोप, फिर्ता लिन माग

Friday, December 24, 2021 National Power

काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरुले लगानी योग्य रकम (तरलता) को बहानामा ऋणको ब्याजदर अचाक्ली बढाएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले आपत्ति जनाएको छ । शुक्रबार प्रेस विज्ञप्ति निकाल्दै महासंघका अध्यक्ष नरेश कटुवालले बैंकको पछिल्लो कामकारबाहीले अर्थतन्त्रलाई थप जटिलतातर्फ धकेल्न खोजेको बताएका छन् ।
कोरोनाका कारण निकै अप्ठ्यारो अवस्थामा परेको उद्योग व्यवसाय पुनः बैंकको व्याजदरका कारण समस्या खेपिरहेको महासंघको ठहर छ । उद्योग व्यवसाय गर्नेहरुले अहिले बैंकबाट सहज तरिकाले ऋण पाउन सक्ने अवस्था छैन ।
लगानीमा रहेको ऋणको पनि बैंकले मनपरी ढंगले व्याज बढाइरहेको भन्दै बढाइएको ब्याज तत्काल फिर्ता लिन महासंघले आग्रह समेत गरेको छ ।
‘पछिल्लो समय बैंकहरुले तरलता अभावका बहानामा उद्योगी व्यवसायीहरुलाई ऋण अड्काउने, मनपरी ढंगले व्याजदर बढाउने लगायतका भइरहेका गतिविधिप्रति नेपाल राष्ट्रिय व्यवसायी महासंघको गम्भीर ध्यानाकर्षण भएको छ’ अध्यक्ष कटुवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अझ खासगरी साना, मझौला तथा घरेलु उद्योगी व्यवसायीहरुलाई बैंक तथा वित्तीय संस्थाहरुले गर्ने व्यवहार समेत फरक हुने र यस्तो अवस्थामा ठूला उद्योगी व्यवसायीहरुलाई मात्रै सहज तरिकाले ऋण प्रवाह गर्ने गरेको समेत गुनासो सुनिन आएको छ ।’

अचाक्ली रुपमा बढाइएको व्याजदर फिर्ता लिएर सहज तरिकाले उद्योग व्यवसाय गर्ने वातावरण निर्माण गर्न महासंघले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकसँग समेत आग्रह गरेको छ ।