Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

संक्रमितलाई बेड दिन सकिँदैन भन्दै सरकारले उठायो हात

Saturday, May 1, 2021 National Power

काठमाडौं -काठमाडौं उपत्यकासहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेको छ, ‘स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न अस्पताल शय्या उपलब्ध गराउन नसकिने भइसकेको छ ।’

मन्त्रालयको शुक्रबारकै तथ्यांकअनुसार हाल ३६ हजार १३५ सक्रिय संक्रमित होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा २६७८ जना छन् भने आईसीयूमा ३३१ र भेन्टिलेटरमा ११५ जना छन् । यति संक्रमित हुँदा नै अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने भनेर सरकारले हात उठाउनु नालायकीपन भएको र यसले जनतामा त्रास मात्र फैलाउने जनस्वास्थ्यविद्हरु बताउँछन् ।

जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी भन्छन्, ‘यस्तो गैरजिम्मेवारी पूर्ण कुरा मैले अहिलेसम्म कुनै पनि देशमा सुनेको छैन ।’उनका अनुसार स्वास्थ्य मन्त्रालयले यो गैरजिम्मेवारीपूर्ण सूचना जारी गर्दैगर्दा हाम्रो स्वास्थ्य प्रणालीको क्षमता कति छ रु भन्ने कुरामा पनि हेर्नुपर्ने हुन्छ । ‘तर यसमा केवल स्वास्थ्य मन्त्रालयको मात्रै दोष होइन, सिंगै राज्य संयन्त्रले यो क्षेत्रलाई लामो समयदेखि गरेको बेवास्ताको परिणाम हो,’ ईपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख समेत रहेका उनले भने ।

संक्रामक रोग विषेशज्ञ डा. अनुप सुवेदी पनि लकडाउन गरेको सरकारले जनतालाई आधारभूत स्वास्थ्य सेवा पनि दिनसक्दिन भन्न नपाउने बताउँछन् । भन्छन्, ‘अझ जनताले चुनेर पठाएका प्रतिनिधिले त झनै यस्तो भन्ने अधिकारै छैन ।’ सरकारले आजको भोलि नै आईसीयूको शय्या बढाउन नसकेपनि सरकारले चाहने हो भने ठूलो आइसोलेसन सेन्टर बनाएर राख्न सक्ने उनले बताए ।

तर स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारी भने सरकारले हात उठायो भन्न नमिल्ने तर्क गर्छन् । ‘केही जिल्लाहरुमा एकदमै गाह्रो भइसकेको छ । अरु ठाउँमा पनि बेड उपलब्ध गराउन नसक्ने गरी गाह्रो हुन लागेको भनेर हामीले यर्थाथ जे हो त्यही भनेका हौं’ अधिकारीले भने ।