Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

कार्यकर्ताहरुलाई देउवाको निर्देशन- भारतविरुद्ध आन्दोलन जारी राख्नू

Saturday, November 9, 2019 National Power

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतको विवादित नक्साको विरोधमा भइरहेको आन्दोलनलाई सशक्त पार्न नेपाल विद्यार्थी संघका कार्यकर्तालाई निर्देशन दिएका छन् । भारतले लिपुलेक कालापानीसहित नेपाली भूभागलाई आफ्नो नक्सामा पारेको विरोधमा भइरहेको आन्दोलन जारी राख्न उनले आफ्ना कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

लैनचौरस्थित अस्कल क्याम्पसमा आन्दोलनरत नेविसंघ नेताहरुसँग शनिबार बिहान बूढानीलकण्ठस्थित निवासमा भएको भेटमा देउवाले राष्ट्रियताको पक्षमा आन्दोलन चर्काउन निर्देशन दिएको नेपाल विद्यार्थी संघका नेता प्रकाश अर्यालले जानकारी दिए ।

‘शीर्ष तहका नेताहरुले भारतलाई नक्सा सच्याउन कूटनीतिक दबाब दिने र कार्यकर्ता तहबाट सडक आन्दोलन चर्काउने योजना अन्तर्गत रहेर काम गर्न निर्देशन दिनुभयो,’ अर्यालले भने । अर्यालका अनुसार सभापति देउवाले राजधानीमा देखिने गरी काठमाडौंमा आन्दोलन उठाउनु पर्ने बताएका छन् । कांग्रेस सभापति देउवाले भारतीय नक्सा सच्याउनका लागि दबाब दिन राष्ट्रिय एकता आवश्यक भएको पनि बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले आफूले भारतले जारी गरेको पछिल्लो नक्सा सच्याउन भारतीय राजदूत र कुटनीतिज्ञसँग आग्रह गरेको जानकारी पनि गराएका थिए ।

भारतले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा भारतसँग सीमा जोडिएको नेपाली भूमि लिपुलेक भारतीय क्षेत्रभित्र देखिन्छ । सो नक्सा सच्याउन र अतिक्रमित नेपाली भूमि फिर्ता गराउन माग गर्दै देशभर भारतविरुद्ध प्रदर्शन हुँदै आएको छ । सत्तारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट नेविसंघले अलग-अलग प्रदर्शन गर्दै आएका छन् । नेपाल सरकार र राजनीतिक दलका नेताहरुले समेत लिपुलेक नेपालको भूमि भन्दै भारतको विवादित नक्सा सच्याउन माग गर्दै आएका छन् । तर, भारतले भने आफ्नो नक्सा सही भएको दाबी गर्दै आएको छ ।