काठमाण्डौ – मेरिल्याण्डमा आयोजना हुने नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रदर्शन हुने फिल्मको सूची सार्वजनिक भएको छ । लाइनअपमा बर्लिनको मुख्य प्रतिस्पर्धामा छनोट मीनबहादुर भाम निर्देशित ‘शाम्बाला’देखि दीपक रौनियार निर्देशित ‘राजागञ्ज’ र विनोद पौडेल निर्देशित ‘भूठान’ लगायत छन् । ओपनिङ फिल्मको रुपमा ‘शाम्बाला’ तय छ ।
जुन महिनाको २६ देखि २९ सम्म हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, मेक्सिको, साउदीसहित १५ देशका कथानक, वृत्तचित्र, छोटा चलचित्र र एनिमेसन गरी ३१ फिल्म प्रदर्शन हुनेछन् । महोत्सवको उद्घाटन र समापन मेरिल्याण्डस्थित एएफआई सिल्भर थियटरमा हुनेछ । ४ दिनसम्म चल्ने महोत्सवका फिल्म भने एएफआई सिल्भर थिएटरका साथै ग्रिनबेल्ट सिनेमा थिएटरमा समेत प्रदर्शन हुने जनाइएको छ ।
महोत्सवमा प्रदर्शनका लागि आवेदन परेका मध्येबाट अमेरिका, नेपाल र दक्षिण अफ्रिकाका फिल्मकर्मीको छनोट समितिले फिल्म छनोट गरेको हो । ओपनिङ फिल्मको रुपमा रहेको ‘शाम्बाला’को स्क्रिनिङ एएफआई सिल्भर थियटरमा जुन २६ मा हुनेछ । क्लोजिङ फिल्मको रुपमा फिल्म ‘राजागञ्ज’ छ । समापन समारोह २९ जुनमा सोही स्थानमा हुनेछ ।
‘भूठान’को रेडकार्पेटसहित स्क्रिनिङ हुनेछ जहाँ निर्देशक, कलाकार, निर्माता तथा निर्माण टोलीका सदस्य पनि हुनेछन् । ग्लोबल पिस फिल्म फेस्टिभल, फ्लोरिडासँगको सहकार्यमा यो वर्ष अमेरिकी निर्देशक स्यामुएल जर्जको ‘लिथियम राइजिङ : द रेस फोर क्रिटिकल मिनिरल’ र निर्देशक ओल्ह बर्लान्दिनोको ‘द वार ट्रायल’ गरि दुई फिल्म प्रदर्शन हुनेछन् ।
सुविना श्रेष्ठ निर्देशित अन्तराष्ट्रिय महोत्सवमा प्रशंसा भएको वृत्तचित्र ‘देवी’ र अन्तर्राष्ट्रिय चर्चित निर्देशक फराह कस्सेम निर्देशित वृत्तचित्र ‘वि आर इनसाइड’ पनि महोत्सवमा प्रदर्शन हुनेछन् । प्रिन्स जर्ज काउन्टीका स्थानीय निर्देशक चका बलामानीको फिल्म ‘अ क्रिष्टमस बोनस’ लगायतका फिल्म डीएमभी–क्लोजअप अन्तर्गत प्रदर्शन हुनेछन् ।
प्रदर्शन गरिएका मध्येबाट उत्कृष्ट फिल्मलाई विभिन्न अवार्डबाट पुरस्कृत गरिनेछ । पुरस्कार छनोटको लागि निर्णायक मण्डलको नाम भने केहि दिनमा सार्वजनिक गरिने आयोजकले जनाएको छ । महोत्सव अवधिमा चलचित्र र संस्कृतिबारे प्यानल छलफलका साथै र चलचित्र निर्माणबारे ‘मास्टर क्लास’ पनि हुनेछ । मेरिल्याण्ड राज्यको पाक्र्स तथा योजना आयोगको सहयोगमा उक्त छलफल हुने जनाइएको छ ।
‘हामीले यो वर्ष पनि यस्ता उत्कृष्ट फिल्म महोत्सवमा ल्याउन पाउँदा हामी अत्यन्त खुसी छौं । यी फिल्मले विभिन्न देशका मानव संस्कृति, संघर्ष, सहअस्तित्व र खुसीको कथाहरूको प्रतिनिधित्व गर्दछन । यो महोत्सव तपाई हामी सबैको हो’ महोत्सव निर्देशक युवाकर राजकर्णिकारले भने । नेपाल-अमेरिका फिल्म सोसाइटीले वर्षेनी फेस्टिभल आयोजना गर्दै आएको छ । सोसाइटीका प्रमुख पूर्णसिंह बराइलीले यसवर्षको संस्करणलाई भव्य तुल्याइने बताए ।