Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

पत्रकार पराजुलीको पुस्तक ‘क्लोज-अप’ सार्वजनिक

Sunday, March 20, 2022 National Power

काठमाडौं – नेपाली चलचित्रका केही आयाम र पात्रहरुमा आधारित गैरआख्यान पुस्तक ‘क्लोज-अप’ सार्वजनिक गरिएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्र पत्रकार जीवन पराजुलीद्वारा लिखित पुस्तकको सार्वजनिकीकरण गरिएको हो । पुस्तकलाई अभिनेत्री करिश्मा मानन्धर, निर्देशक तथा अभिनेत्रीद्वय दीपाश्री निरौला र झरना थापा, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, निर्देशक नारायण पुरी, कवि एवं फिल्म निर्देशक राजेन्द्र शलभ लगायतले संयुक्त रुपमा विमोचन गरेका हुन् ।

फिल्म निर्देशक तथा समीक्षक दीपेन्द्र लामाले सम्पादन गरेको पुस्तक ३ सय ६३ पृष्ठको छ । ‘अनि सुरु भयो नेपाली चलचित्र उद्योग’, ‘राजेश हमाल स् युगदेखि युगसम्म’, ‘भारतबाट नेपाली चलचित्र स् सीमानाले अलग, भाषा र सिर्जनाले एक’, ‘साँघुरो छ आधा आकाश’, ‘चलचित्र निर्देशनमा चौथौं अंग’ र ‘अन्त्यमा’ गरी ६ खण्डमा विभाजित पुस्तकमा विभिन्न कालखण्ड र ति कालखण्डका चलचित्रकर्मीहरुको अनुभव, भोगाई र संघर्षलाई समेटिएको छ ।

कार्यक्रममा निर्देशक राजेन्द्र शलभले पुस्तकमाथि टिप्पणी गरेका थिए । उनले ‘क्लोज(अप’ एउटा राम्रो दस्तावेज भएको बताउँदै नेपाली चलचित्रलाई नजिकबाट जान्न र बुझ्न चाहनेहरुका लागि उपयोगी हुने धारणा राखे । उनले पुस्तकको अर्को भाग पनि आउन आवश्यक रहेको र छुटेका अन्य पात्रहरुका अनुभवलाई समेट्न लेखकलाई सुझाएका छन् ।

कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धरले डिजिटलको युगमा धेरै कुराहरु इन्टरनेटबाट थाहा पाउन सकिने भएपनि किताबमा जस्तो विश्वास आफूलाई अरुमा नलाग्ने बताइन् । ‘किताबको आफ्नै महत्त्व छ । आजका दिनमा पनि म विश्व सिनेमाको बारेमा जान्न किताब नै खोज्ने गर्छु । किनकि, किताबमा म वास्तविकता भेट्छु । ‘क्लोज(अप’ले पनि नेपाली चलचित्रलाई थप नजिकबाट चिनाउनेछ भन्नेमा विश्वस्त छु,’ उनले भनिन् ।

निर्देशक तथा अभिनेत्री झरना थापाले ‘क्लोज(अप’ले नेपाली चलचित्रकर्मीलाई प्राण भरिदिएकोमा खुसी व्यक्त गरिन् । निर्देशक दीपाश्री निरौलाले भने ‘क्लोज(अप’लाई आफूले नेपाली चलचित्र र चलचित्रकर्मीहरुको दस्तावेजको रुपमा लिएको धारणा राखिन् । उनले कार्यक्रममा भनिन्, ‘चलचित्रकर्मीहरुको यात्रा लाइमलाइटमा रहँदासम्म मात्र देखिन्छ । लाइमलाइटमा हुँदासम्म सबैले वाहवाही गर्छन् तर त्यसपछि हामी थियौं र १ भन्ने खालको स्थिति छ । ‘क्लोज(अप’ले चलचित्रकर्मीलाई लिपिवद्ध गरिदिएको महशुस गरेकी छु ।’

त्यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष दाहालले ‘क्लोज(अप’लाई उत्कृष्ट र सुन्दर सुरुवातको रुपमा ब्याख्या गर्दै भने, ‘नेपाली चलचित्र पत्रकारिता सतहीमात्र भएको अवस्थामा विश्लेषणात्मक लेखसहितको पुस्तकले चलचित्र पत्रकारितालाई नै नयाँ ढंगबाट लैजाने विश्वास लिएको छु । पुस्तकले नेपाली चलचित्रको समग्र इतिहास र पात्रलाई समेट्न नसके पनि भोलीका दिनमा अझ फराकिलो रुपमा पुस्तक ल्याउन म लेखकलाई आग्रह गर्छु ।

पुस्तकबारे कार्यक्रममा अभिनेता उत्तम प्रधान, निर्देशकहरु नारायण पुरी, दिनेश डिसी, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल लगायतले पनि बोलेका थिए । कार्यक्रममा लेखक पराजुलीले पुस्तकमा धेरै पाटो र पात्रहरु समेटिन छुटेको भए पनि चलचित्रको इतिहास झल्किने घटना र सम्बन्धित पात्रका व्यक्तित्वलाई समेटर अरु पुस्तकहरु पनि क्रमशः लेख्दै जाने बताए ।

कार्यक्रममा लेखक पराजुलीले भने, ‘मैले लेखनको एउटा तिर्खा मेटाउन चलचित्र क्षेत्रको केही अंशलाई मात्रै टिपेर पुस्तकको आकार दिएको छु । यो एउटा सुरुवात मात्र हो । पुस्तकलाई पहिलो खण्डको रुपमा मात्र लिन सकिन्छ । पहिलो खण्ड यस अर्थमा कि चलचित्रको इतिहास झल्काउने धेरै कुराहरु लेख्न बाँकी नै छ । त्यस्ता धेरै व्यक्तित्वहरु हुनुहुन्छ, जसले नेपाली चलचित्रलाई आजको स्थानसम्म पुर्‍याउन योगदान दिनुभएको छ । उहाँहरुका बारेमा लेख्न बाँकी नै छन् ।’

ठुलोपर्दा मिडियाले प्रकाशन गरेको पुस्तकलाई किताब यात्राले अनलाइन बजार व्यवस्थापन गरेको छ । यूरोपका विभिन्न देशहरु र थाईल्यान्ड, भारत, दक्षिण कोरिया, अष्ट्रेलिया लगायतका देशहरुमा पनि सार्वजनिक गर्ने तयारी गरिएको कार्यक्रममा बताईयो । ५९९ रुपैयाँ मुल्य रहेको पुस्तक यसै साताबाट देशभर तथा अमेजन मार्फत संसारभर उपलब्ध हुने जानकारी गराइयो । कार्यक्रममा संचारकर्मीसहित चलचित्र क्षेत्रका साथै अन्य विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।