Wednesday 11th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली

Saturday, December 25, 2021 National Power

विराटनगर –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावअघिसम्म संसद अवरोध गर्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले चुनावबाट अर्को संसद नआएसम्म संसद अवरोध गरिरहने बताएका हुन् ।

संसद अवरोध कहिलेसम्म भन्ने पत्रकारको प्रश्नमा ओलीले सटिक जवाफ दिए– चुनावसम्म । चुनाव अगाडिसम्म संसद चल्दैन त भन्ने प्रश्नमा ओलीले अवरोध गरे पनि बलजफती संसद चलाइएको टिप्पणी गरे । ‘चलिरहेको छ त, हामीले विरोध गरिरहेका छौं, संसद चलिरहेको छ । बलजफ्ती गर्ने बानी परेकाले बलजफ्ती गरिरहेका छन्’ उनले भने ।

गत भदौमा आफ्ना १४ सांसदलाई निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएको विरोधमा नेकपा एमालेले २३ भदौदेखि लगातार संसद अवरोध गर्दै आएको छ । एमालेले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसद सहभागी भई पछि नेकपा एकीकृत समाजवादी गठन भएको थियो ।

सभामुखले कारबाहीलाई मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको भन्दै एमालेले लगातार संसद अवरोध गरेको छ । तर एमालेको विरोधका बाबजुद सभामुख सापकोटाले संसद बैठक सञ्चालन गरिरहेका छन् ।

ओलीले चुनाव जहिजे भए पनि आफूहरु जितेर आउने दावी गरेका छन् । ‘इलेक्सन भएपछि धोवी पाठ लगाइन्छ’ उनले भने ।  सरकार ढालेर केही समय सूर्यमा ग्रहण लगाए पनि यो धेरै समय नरहने उनले बताए ।