Thursday 5th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

नेपाल र चीनका राष्ट्रपतिबीच खोपबाहेक अरू के विषयमा कुरा भयो र?

Thursday, May 27, 2021 National Power

काठमाडौं – चिनियाँ राष्ट्रपति सि जिनपिङले कोरोना महामारी विरुद्ध लड्न नेपाललाई सकेसम्म धेरै सहयोग प्रदान गर्ने कार्यलाई जारी राख्ने बताएका छन् । चिनियाँ राष्ट्रपतिले नेपाली जनताले कोरोना महामारी विरुद्धको लडाईं निश्चित रूपमा जित्ने विश्वास समेत व्यक्त गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन वार्तामा सिले सो धारणा व्यक्त गरेको चीनको सरकारी समाचार एजेन्सी सिन्हाले जनाएको छ ।

भण्डारीसँगको टेलिफोन लगत्तै सिले नेपाललाई १० लाख भेरोसेल खोप प्रदान गर्ने घोषणा गरेका थिए । झण्डै ४५ मिनेट लामो कुराकानीमा कोरोना महामारी मात्र नभई द्विपक्षीय सम्बन्धका धेरै विषयमा कुराकानी भएको चिनियाँ संचारमाध्यमले उल्लेख गरेका छन् । ‘महामारी शुरू भएदेखि नै चीन र नेपालले कोरोना भाइरस विरुद्धको एकअर्काको लडाईंलाई दृढ समर्थन गरेका छन्, ‘सिको भनाइ उद्धृत गर्दै सिन्हाले लेखेको छ, ‘दुवै मुलुक महामारी विरुद्ध लडेका छन् जसले जस्तासुकै कठिन अवस्थामा पनि सँगै हिंड्ने भावनाको प्रतिनिधित्व गरेको छ ।’

दक्षिणएशिया संक्रमणको नयाँ लहरबाट अगाडि बढेको र नेपालले गम्भीर समस्या भोगेको बताउँदै चिनियाँ राष्ट्रपतिले चीनको केन्द्र सरकार, स्थानीय सरकार, गैरसरकारी संस्थाले महामारी विरुद्ध लड्न पहिले कदम चालेको समेत उल्लेख गरेका छन् । उनले यी संस्थाले नेपाललाई स्वास्थ्य सामग्री, उपकरण र भ्याक्सिन उपलब्ध गराउनुको साथै महामारी नियन्त्रणमा चीनको अनुभव साटासाट गरेको राष्ट्रपति भण्डारीलाई बताएका थिए ।

गत वर्षको डिसेम्बर महीनामा दुवैले संयुक्त रूपमा सगरमाथाको उद्घाटन गरेको स्मरण गर्दै राष्ट्रपति सिले नेपाल र चीनबीचको सम्बन्ध विकास र विस्तारका लागि चीनले विशेष महत्व दिएको उल्लेख गरेका थिए ।

दुई नेताको बीचमा बेल्ट एण्ड रोड परियोजनाको बारेमा समेत छलफल भएको थियो । चिनियाँ राष्ट्रपतिले बीआरआईलाई अगाडि बढाउन ठोस कदम चाल्नुपर्नेमा सिले जोड दिएको सिन्हाले उल्लेख गरेको छ । सिले ट्रान्स हिमालय मल्टी डाइमेन्सनल कनेक्टिभिटी नेटवर्कलाई अगाडि बढाउन दुई देशबीचको रणनीतिक साझेदारी सहकार्यलाई अगाडि बढाउन भण्डारीलाई आग्रह गरेका थिए ।

चिनियाँ राष्ट्रपति सिले यो वर्ष संयुक्त राष्ट्रसंघमा चीनको कानूनसम्मत सिट पुनस्थापना भएको ५० वर्षगाँठ भएको भन्दै नेपालले गरेको बहुमूल्य सहयोगलाई कहिल्यै पनि नभुल्ने बताएका थिए । सिन्हाका अनुसार सिले भनेका थिए, ‘सदा झैं चीनले नेपाललाई राष्ट्रिय सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डताको रक्षा गर्नका लागि सहयोग गर्नेछ । साथै नेपालको स्वायत्त विकासको बाटोको छनोट र नेपालको आर्थिक र सामाजिक विकासमा सहयोग गर्नेछ ।’ चिनियाँ राष्ट्रपतिले बहुपक्षीय फ्रेमवर्कमा सहकार्य र समन्वय बढाउने, बहुपक्षीयताको प्रवर्द्धन गर्ने र विकासोन्मुख मुलुकहरूको साझा चासोलाई रक्षा गर्ने बताएका थिए ।

राष्ट्रपति भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको सय वर्ष पुगेको उपलक्ष्यमा चिनियाँ राष्ट्रपतिलाई बधाई दिएकी थिइन् । भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले महत्वपूर्ण प्रगति गरेको र विशेषगरी गरीबी निवारणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएकी थिइन् ।

उनले अझ प्रगति र शान्ति विकासको बाटोमा चिनियाँ कम्युनिष्ट पार्टी अझ सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरेको सिन्हाले उल्लेख गरेको छ । नेपाल र चीन रणनीतिक साझेदार भएको बताउँदै भण्डारीले नेपालले चीनसँगको सम्बन्धलाई ठूलो महत्व दिएको बताएकी थिइन् ।

भण्डारीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै नेपाली भूमि चीन विरोधी गतिविधिको लागि प्रयोग हुन नदिने बताएकी थिइन् । भण्डारीले सिको नेपाल भ्रमणको समयमा प्राप्त नतिजाहरू कार्यान्वयन गर्नका लागि तयार रहेको पनि जानकारी गराएकी थिइन् ।

परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार कोरोना विरुद्ध लड्नका लागि चीनले गरेको निरन्तर सहयोगप्रति धन्यवाद दिएकी थिइन् । भण्डारीले नेपालले चीनसँग खोप खरीद गर्न लागेको र त्यसका लागि सहजीकरण गरिदिन चिनियाँ समकक्षीलाई आग्रह गरेकी थिइन् ।