Wednesday 19th February 2025

    चिठ्ठी’सहित ३० नेपाली चलचित्र नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२५ मा प्रतिस्पर्धा गर्न चयन    धुलिखेलमा आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक    बैरागी काइँला नागरिक अभिनन्दन ग्रन्थ लोकार्पण तथा प्रतिभा सम्मान र पुरस्कार अर्पण    माधव राज खरेलको शब्द र राजेन्द्र बजगाईको संगीतमा प्रमोद डिजीको नयाँ गीत    साँगे सम्मेलन २०८१ सम्पन्न

सोरठी नृत्य संरक्षणमा :मगर समुदाय

Thursday, August 24, 2017 National Power

८ भदौ ,पर्वत –  मगर समुदायमा लोकप्रिय सोरठी नाच हराउँदै जान थालेको बेला पर्वतको बाँसखर्कमा सय वर्षपछि सोरठी नाच्न थालिएको छ । अरू गाउँमा सोरठी नाचेको देखेपछि आफ्नो संस्कृति संरक्षण गर्ने उद्देश्यले सय वर्षपछि फेरि नाच्न शुरु गरिएको हो ।

मगर समुदायका विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि अन्य मेला पर्वमा सोरठी नृत्य नाचिन्छ । सोरठी नाच्ने बूढापाका सकिएपछि बाँसखर्कमा एक शताब्दी पहिलेदेखि सोरठी गाउन छाडिएको थियो । तर पुन मगरको कुल देवता करवाकेलीको पूजा गर्ने समयमा अरू गाउँमा सोरठी नाचेको देखेपछि यहाँ पनि शुरु भएको हो । गत वर्ष म्याग्दीको राम्चेबाट प्रशिक्षक झिकाएर एक महिनासम्म तालीम लिएपछि यहाँ सोरठी शुरु भएको छ ।

सोरठी नृत्य सिकेपछि अहिले विवाह, व्रतबन्ध, मृत्यु संस्कारदेखि मेला र उत्सवमा यसको प्रदर्शन गर्न थालिएको छ । सोरठी देखाउन थालेपछि मगर जाति भएको पहिचान दिलाउन सकेको देउराली सोरठी समूह बाँसखर्कका अध्यक्ष डिलबहादुर पाइजा पुनले बताउनुभयो । आफ्नो बाजेको पालामा मात्रै सोरठी चलेको तर बाबुको पालादेखि हराए पनि अब यसलाई नयाँ पुस्तालाई सिकाएर निरन्तरता दिने उहाँको भनाइ छ ।

“एक वर्षअघि सम्म गाउँमा सोरठी चल्थ्यो भन्ने सुनियो तर हामीले देखेनौँ”, उहाँले भन्नुभयो, “अब युवाहरुलाई म आफँै सिकाएर निरन्तरता दिन्छु”, सोरठी नृत्यमा पहिले सरस्वती जगाउने गरिन्छ भने भने त्यसपछि मादलको तालमा नाच्ने गरिन्छ । यो गीतभन्दा पनि मादलको तालमा नाच्ने नृत्य भएको बाँसखर्कका मगर अगुवा तथा सोरठी नृत्यका कलाकार समबहादुर तिलिजाले बताउनुभयो । नृत्यका बेला देवताको नाम लिएर गाउने गरिन्छ । छोटो नृत्य पनि लगातार १ घण्टा र लामो नृत्य १२ घण्टासम्म चल्ने गरेको तिलिजाले बताउनुभयो । नृत्यको शुरुवातमा सरस्वती जगाउने क्रममा सरस्वती जागेपछि महिला र पुरुष काम्दै नाच्ने गर्छन । मगर समुदायका व्यक्ति यति काम्ने कुरालाई सरस्वतीले बास गरेको विश्वास गर्छन् ।

हरेक जातजातिका संस्कृति हराउन थालेका बेला यसरी नै संरक्षण अभियान थाल्नुपर्ने तिलिजाको भनाइ छ । गाविसको आर्थिक सहयोगमा शुरु भएको सोरठी नृत्य संरक्षण अभियानलाई अन्य बस्तीमा पनि विस्तार गर्नुपर्ने धारणा उहाँको छ