Thursday 16th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

गृहमन्त्रीको नेतृत्वमा केन्द्रीय कमाण्ड पोष्ट गठन

Sunday, August 13, 2017 National Power

२९ साउन, काठमाडौं – गृहमन्त्री जनार्दन शर्माको नेतृत्वमा केन्द्रीय कमाण्ड पोष्ट गठन गरेको छ । अविरल वर्षाका कारण जनधनको क्षति बढ्न थालेपछि उद्धार कार्यलाई चुस्त तथा छरितो बनाउन मन्त्री शर्माको नेतृत्वमा आकस्मिक बैठक बसी केन्द्रीय कमाण्ड पोष्ट गठन गरिएको हो ।

बैठकले भारतीय समकक्षीसँग समन्वय गरी लक्ष्मणपुर बाँध र कोशी ब्यारेजका थप ढोका खुलाउन अनुरोध गरेको छ । त्यसैगरी, बाढीपीडितको व्यवस्थापनका लागि यातायात तथा आपूर्ति व्यवस्थालाई सञ्चालनमा राख्ने, प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल वितरण गर्ने, जोखिममा रहेका भौतिक पूर्वाधारको संरक्षण गर्ने, स्थानीय तहका जनप्रतिनिधिको सक्रिय सहभागितालाई अभिवृद्धि गर्ने लगायतका निर्णय भएको छ । अहिले बाढीग्रस्त क्षेत्रमा नेपाल प्रहरीबाट ५ हजार ६००, सशस्त्र प्रहरीबाट १ हजार ७०० र नेपाली सेनाबाट १ हजार जना गरी जम्मा आठ हजार ३०० सुरक्षाकर्मी परिचालन गरिएको छ ।

शनिबार साँझसम्म मुलुकका ११ जिल्लामा वर्षा र बाढीबाट प्रभावित भएका छन् । अहिलेसम्म बाढीग्रस्त पाँचथर, सिन्धुली, झापा, मोरङ्ग, सुनसरी, सर्लाही, बारा, दाङ, बाँके, मकवानपुर र पाल्पा जिल्लामा गरी कूल ३३ जनाको मृत्यु भएको छ र अन्य चार घाइते छन् । खोज तथा उद्धारमा नेपाली सेनाको हेलिप्याडमार्फत बाँकेका डुबानग्रस्त क्षेत्र नरैनापुर, होलिया, फत्तेपुर, सोनारीको टिकुलीपुर, बैरिया सिक्टा लगायतका स्थानबाट २०० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

त्यसैगरी, झापाकोे मदरगाछी, कपन, कवास, सालपारा, सौरघुटु, सुनसरीको बुढीखोला सप्तरीको हनुमान नगर, तिलाठी, सर्लाहीको बाग्मती क्षेत्र, रौतहटको बाग्मती र लालबकैयालगायत अन्य प्रभावित स्थानबाट र्‍याफ्टिङ बोट लगायतका साधन प्रयोग गरी उद्धारको कार्य भइरहेको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिबाट चिउरा, दालमोठ, भुजिया, चाउचाउ, चामल, दाल, नून, तेल स्थानीयस्तरबाट खरिद गरी पीडितहरुलाई वितरण गरिएको छ ।

नेपाल खाद्य संस्थानका विभिन्न डिपोबाट प्रभावित परिवारलाई खाद्य सामग्री वितरण गर्न प्याकेजिङ गर्ने कार्य भइरहेको छ भने त्यस्ता सामग्री वितरणमा नेपाली सेनाको सबै हेलिप्याड तयारी अवस्थामा राखिएका छन् । मौसमको प्रतिकूलताले प्रभावित क्षेत्रमा उडान भर्न नसकिरहेको बताइएको छ । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले अवरुद्ध राजमार्गलगायत सडक तथा पुल सञ्चालनमा ल्याउन प्रयास गरिरहेको छ । औषधिसहितको स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा पठाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिएको छ ।

यसैगरी, निजी क्षेत्रका हेलिकप्टर प्राथमिकताका साथ परिचालन गर्न नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयलाई अनुरोध गरिएको छ भने स्थानीय भाषामा एफएममार्फत सर्वसाधारणलाई सूचना प्रवाह गर्न आग्रह गरिएको छ । प्राकृतिक विपद्को यो घडीमा खोज, उद्धार र राहत कार्यमा हातेमालो गर्न र दैनिक जीवनमा आवश्यक पर्ने खाद्यान्न लगायतका सामग्री उपलब्ध गराउने कार्यमा आ–आफ्नोतर्फबाट सहयोग गर्न गृह मन्त्रालयले उद्योगी, व्यवसायी, सामाजिक क्षेत्रमा क्रियाशील सङ्घसंस्था, समाजसेवी र सञ्चारमाध्यम सबैमा अपिल गरेको छ ।