Tuesday 10th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै गृहजिल्लामा स्थानीय तह चुनावको सम्भावित परिणामले चुनौती

Friday, June 23, 2017 National Power

९ असार, डडेल्धुरा – कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नै गृहजिल्लामा स्थानीय तह चुनावको सम्भावित परिणामले चुनौती थपिदिएको छ । उम्मेदवार छनोटमा उत्पन्न आन्तरिक विवाद व्यवस्थापन गर्न देउवा गृहजिल्ला आउँदैछन् ।

देशको शक्तिशाली प्रधानमन्त्री अनि देशकै सबैभन्दा ठूलो पार्टी कांग्रेसको कमाण्डर भएका कारण देउवाको गृहजिल्लामा सबैको चासो छ । ०४८ देखिका कुनै पनि चुनावमा देउवाले डडेल्धुरामा पराजय भोग्नुपरेको छैन । यो शाख बचाउन यसपटक भने देउवालाई निकै चुनौती हुने देखिएको छ ।

देउवाको गृह जिल्ला भएकाले डडेल्धुरालाई कांगे्रसको किल्ला भनेर चिनिन्छ । तर, निर्वाचन आउन केही दिनमात्रै बाँकी रहँदा कांग्रेसलाई आफैंभित्रको विवाद मिलाउन हम्मेहम्मे परेको छ ।टिकट वितरणमा ढिलाइ, टिकट वितरणप्रति कांग्रेस कार्यकर्ताको असन्तुष्टि र कांग्रेस भित्र देउवा गुटभित्रै दुई समूृह भएका जिल्लामा कांग्रेसले प्रतिकुल अवस्थाको सामना गरिरहेको छ ।

जिल्लामा कांग्रेसको प्रतिद्वन्द्वीका रुपमा नेकपा एमालेलाई हेरिएको छ । एमालेले आफ्ना उम्मेदवारको टुङ्गो लगाएर प्रचार प्रसारमा हिँडेको एक महिनापछि मात्र कांग्रेसले टिकट वितरण गरेको थियो ।सदरमुकाम अमरगढी नगरपालिकामा कांग्रेससमर्थक धेरै भए पनि कांग्रेसभित्रको आन्तरिक द्वन्द्वबाट एमालेलाई फाइदा पुग्न सक्ने बौद्धिक समुदायका अगुवा युवराज जोशीको बुझाई छ ।

दुई नगरपालिका तथा ५ वटा गाउँपालिका रहेको डडेलधुरा जिल्लाको सदरमुकाम अमरगढी नगरपालिमा कुल ११ हजार ७ सय ८३ मतदाता छन् । यहाँ कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

कांग्रेसका उम्मेदवार पुराना र स्थापित:

अमगढी नगरपालिकाको मेयरमा दिल्लीराज जोशी र उपमेयरमा पार्वती झुकालले टिकट पाएर मनोनयन दर्ता गराएका छन् । जिल्लामा विवाद भएपछि टिकटको सबै टुंगो देउवा आफैंले लगाएका थिए ।पार्टी सभापति देउवाले टिकट वितरणमा एकलौटी गरेको भन्दै डडेलधुरामा तीन दिन नेता तथा कार्यकर्ताले विरोध प्रर्दशन समेत गरे । मनोनयन हुनुभन्दा केही दिन अगाडि मात्रै कार्यकर्ताको मुल्याङ्कन नगरी आर्थिक चलखेलमा टिकट वितरण भएको आरोप लगाउँदै कांग्रेस कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएका थिए ।

लामो समयदेखि नेपाली कांग्रेसमा आवद्ध मेयरका उम्मदेवार दिल्लीराज जोशी सामाजिक अभियन्ता पनि हुन् । उनी डडेल्धुराको वन संरक्षण पर्यावरण बचाउ अभियानमा राष्ट्रिय स्तरमा तत्कालीन राजा बीरेन्द्रबाट पुरस्कार पाएका नेता हुन् ।साथै जोशीले पहिलो पटक सुदुरका पहाडी जिल्लामा पाइने लालीगुराँसको फूलबाट जुस बनाउने नयाँ प्रविधि भित्र्याएका थिए ।

एमालेबाट युवा नेतृत्व:

कांग्रेसको मुख्य प्रतिस्पर्धी मानिएको एमालेले युवा नेता विपिन ओझालाई मेयरको उम्मेदवार बनाएको छ । उपमेयरमा संगीता भण्डारीलाई अघि सारेको छ ।

अनेरास्ववियुबाट राजनीति शुरु गरेका ओझा ०६५ सालको स्ववियु चुनावमा डडेलधुरा बहुमुखी क्याम्पसबाट सभापति निर्वाचित भएका थिए । व्यवसायी समेत रहेका उनी एमालेका नगर कमिटी अध्यक्ष पनि हुन् ।

माओवादी र राप्रपाबाट महिला:

अमरगढी नगरपालिकामा माओवादी केन्द्रले महिलालाई मेयरको उम्मेदवार बनाएको छ । माओवादी केन्द्रका तर्फबाट शोभा भट्टले नगर प्रमुखमा उम्मेदवारी दर्ता गराएकी छिन् भने उपप्रमुखमा करुणाकर ओझाको उम्मेदवारी परेको छ ।

यसैगरी अमरगढी नगर प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले पनि महिला उम्मेदवार अमिता थापालाई उम्मेदवार बनाएको छ भने नगरपालिकाको उपप्रमुखमा राजेन्द्र भण्डारीले उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै नयाँ शक्ति पार्टी नेपालका तर्फबाट नगर प्रमुखमा अस्मी सिनालको उम्मेदवारी परेको छ भने उपप्रमुखमा टेकराज भट्टको उम्मेदवारी रहेको छ । राष्ट्रिय जनमोर्चाका तर्फबाट नगर प्रमुखमा नरेश झुकालको उम्मेदवारी परेको छ । यसैगरी स्वतन्त्रबाट नगर प्रमुखमा नरभान पार्कीको समेत उम्मेदवारी परेको छ ।