८ जेठ,सिन्धुपाल्चोक/काठमाडौं – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा वंशलाल तामाङ र उपाध्यक्षमा मिरा अधिकारी लामा विजयी भएका हुन् ।
वंशलालले एमाले उम्मेदवार झम्क नेपाललाई २०० मतअन्तरले पराजित गरेका छन् । कांग्रेसका उम्मेदवार तामाङको पक्षमा ५ हजार ३६५ र एमाले उम्मेदवार नेपालको पक्षमा ५ हजार १६५ मत परेको छ । अध्यक्ष पदमा माओवादी केन्द्रका उम्मेदवार चिरञ्जीवी आचार्यले २५८४ मत पाए ।
यसैगरी उपाध्यक्षमा कांग्रेसकी मिरा लामा विजयी भइन् । उनले ५ हजार १६१ मत पाएकी छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी सरस्वती अधिकारीले ५ हजार ८९ मत ल्याइन् ।
उपाध्यक्ष पदको माओवादी उम्मेदवार विसमाइ तामाङको पक्षमा २ हजार ६९६ मत परेको छ ।
यता ललितपुर महानगरपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ । ललितपुर महानगरपालिकाको वडा नम्बर २१ मा माओवादी केन्द्रका अध्यक्षका उम्मेद्वार रविन्द्र महर्जन १ हजार १ सय ९४ मत ल्याएर विजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मनदकृष्ण ढंगोलले ९ सय ६ मत ल्याए । कांग्रेसका बेखमुनी महर्जनले ७ सय ९८ मत ल्याएका छन ।