Saturday 14th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

सडक विस्तारका लागि पहाड काट्दै

Wednesday, April 19, 2017 National Power

६ बैशाख, चितवन – नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा सडक विस्तारका लागि पहाड काट्दै गरेको ठाउँमा ठूलो चट्टानसहितको पहिरो खस्न लागेपछि बुधदेखि सडक रोकेर सो पहिरो खसालिने भएको छ। नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार गत चैत २१ गते दुईजनाको ज्यान जानेगरी पहिरो खसेकै आडमा ठूलो ढिस्को खस्न लागेको जनाएको हो। सो ठाउँमा माथिबाट चट्टान काट्दै तल झार्ने काम भइरहेको छ। सडकबाट करिब १५ मिटरको उचाइमा रहेको ढिस्कोमाथि काम गर्दा हल्लिन थालेपछि सम्भावित दुर्घटनालाई ध्यानमा राखेर ढिस्को हटाउन लागिएको हो। उनका अनुसार बुधबार बिहान १० बजेदेखि चर्केको चट्टान पहाडबाट हटाउने काम सुरु गरिएको छ। चट्टान सकेसम्म आजै नभए भोलिसम्ममा हटाइसक्ने उनले बताए। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले पहिरो खस्न सक्ने जोखिम देखेपछि हिजोदेखि नै सो ठाउँमा प्रहरी राखेर हेरेर पालैपालो सवारी चलाएको बताए। सो ठाउँमा प्रहरीको रेस्क्यु टिम पनि तैनाथ गरिएको छ। ढिस्को झारेर सफा नगरेसम्म सडकमा आवागमन सम्भव नभएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको थापाले बताए। सो ठाउँमा ४४ मिटर माथिबाट चट्टान काट्ने काम भइरहेको छ। त्यहाँ रहेको पहाडलाई हटाएर १५ मिटर फराकिलो बनाइँदै छ। सो ठाउँ नारायणगढबाट २२ किलोमिटरको दूरीमा पर्दछ। अहिले सो क्षेत्रमा दुईवटा ब्रेकर र एउटा एक्साभेटर प्रयोग गरेर काम गरिँदै छ। सोही ठाउँमा चैत २१ गते पहिरो खसेर चार सवारीसाधन पुरिँदा मोटरसाइकलमा सवार एक र ट्याङ्करमा सवार अर्का एक जनाको मृत्यु भएको थियो।