Monday 21st October 2024

    सुनको भाउ हालसम्मकै उच्च विन्दुमा    हमासका प्रमुख याह्या सिन्वरको इसराइली आक्रमणमा मृत्यु    मारवाडीका अगाडी मन्त्री पाण्डे किन लम्पसार परे ?    यस वर्षको बडादशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन    चलचित्रकर्मीले लगाए यादव खरेलको हातबाट दसैँको टीका

पूर्वमा बिश्वबैंक को २८ करोड

Wednesday, February 8, 2017 National Power

कृषि तथा पशु सेवामा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले पूर्वाञ्चलमा व्यावसायिक कृषि तथा व्यापार आयोजना कार्यक्रम सञ्चालन गरिएको छ ।

विश्व बैङ्कको अनुदानमा सञ्चालित यस कार्यक्रमका साथै पहाडी जिल्लामा सञ्चालित लघु अनुदान कार्यक्रमबाट समेत गरी रु २८ करोडभन्दा बढी रकम अनुदानको रुपमा वितरण गरिएको छ । उक्त अनुदानमार्फत किसान कृषि तथा पशु सेवातर्फ आत्मनिर्भर हुनुका साथै व्यवसायीकरण गर्नेतर्फ अग्रसर भएको देखिन्छ ।

पूर्वाञ्चलमा व्यावसायिक कृषि तथा व्यापार आयोजनामार्फत सञ्चालित १५ वटा संयुक्त आयोजना र ४४ वटा उप आयोजना सञ्चालनमा छन् । ती मध्ये सप्तरीमा ६, झापामा तीन, सिरहामा तीन, र सुनसरी, उदयपुर, र खोटाङमा एक– एकवटा आयोजना सञ्चालनमा रहेका कृषि तथा व्यापार आयोजना कार्यालय विराटनगरका प्रमुख भानुभक्त मैनालीले बताउनुभयो ।

ती कार्यक्रमका माध्यमबाट किसानबीच रु १८ करोड ६८ लाख ७२ हजार विश्व बैङ्कको अनुदान रकम वितरण गरिएको छ । कूल रु ४९ करोड ९१ लाख ३९ हजार लागतमा सो कार्यक्रम सञ्चालनमा रहेको छ । निजीस्तरमा आयोजना सञ्चालकलाई आयोजनाको लागतको ३० प्रतिशत र समूह वा सहकारीमार्फत आयोजना सञ्चालकलाई अनुदान रकम ५० प्रतिशत दिने गरिएको छ ।

आयोजना सञ्चालकले पेस गरेका आवेदनको वस्तुस्थिति अध्ययन गरी केन्द्रबाट छनोटमा परेका संस्थालाई रु १४ लाखदेखि रु ९९ लाखसम्म अनुदान उपलब्ध गराइएको छ । निजीस्तरमा र सहकारीमार्फत सञ्चालित आयोजनाको कार्य प्रगतिको आधारमा तीन किस्तामा रकम उपलब्ध गराउने नीतिअनुरुप अधिकांशलाई दुई किस्ता उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

विसं २०७३ जेठ महिनादेखि प्रक्रिया सुरु भएको उक्त कार्यक्रममार्फत छनोटमा परेका संस्था वा व्यक्तिसँग गत मङ्सिरमा सम्झौंता भई कार्य दू्रतगतिमा भइरहेको छ । सो आयोजनाको अवधि एक वर्ष मात्र रहेकाले आउँदो डिसेम्बर महिनामा योजना सम्पन्न हुनेछ ।

छनोटमा परेका जिल्लाका किसान वा सहकारीले खासगरी कृषि कार्यक्रमअन्तर्गत तरकारीखेती, माछाखेतीका लागि र पशुसेवातर्फ डेरी, बङ्गुरपालन, कुखुरापालनका लागि अनुदान रकम प्राप्त गरेको बताइएको छ । अनुदान रकम वितरण गरिएपछि कार्यप्रगतिको अध्ययन गर्नका लागि विश्व बैङ्कका प्रतिनिधि, कृषि मन्त्रालय, विभाग, राष्ट्रिय योजना आयोगका उच्च पदस्थ पदाधिकारी र कार्यालयबाट पनि पटक÷पटक अनुगमन कार्यलाई निरन्तरता दिने गरिएको आयोजना प्रमुख मैलानीले बताउनुभयो ।

पूर्वाञ्चलका सोलुखम्बु, खोटाङ, सङ्खुवासभा र ओखलढुङगामा लघु अनुदान कार्यक्रम सञ्चालन गरिएको छ । उक्त कार्यक्रममार्फत रु नौ करोड ८५ लाख वितरण गरिएको छ । आव २०७१÷७२ देखि सुरु भएको सो कार्यक्रमअन्तर्गत किसानसँग २०६ वटा सम्झौता भएका थिए । सो कार्यक्रममार्फत किसानलाई बढीमा रु पाँच लाखसम्म अनुदान उपलब्ध गराइएको छ ।