Monday 21st October 2024

    सुनको भाउ हालसम्मकै उच्च विन्दुमा    हमासका प्रमुख याह्या सिन्वरको इसराइली आक्रमणमा मृत्यु    मारवाडीका अगाडी मन्त्री पाण्डे किन लम्पसार परे ?    यस वर्षको बडादशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन    चलचित्रकर्मीले लगाए यादव खरेलको हातबाट दसैँको टीका

मनाङ मर्स्याङ्दीले बंगलादेशमा खेल्ने

Thursday, January 19, 2017 National Power

माघ ६, २०७३- मनाङ मस्र्याङदीले अर्को महिना बंगलादेशमा हुने ‘शेख कमल इन्टरनेसनल क्लब कप’ फुटबलमा प्रतिस्पर्धा गर्ने भएको छ ।

बंगलादेश फुटबल महासंघले आयोजना गर्ने शेख कमल कपमा सहभागी हुन आएको निमन्त्रणामा मनाङलाई सिफारिस गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक महासचिव सन्जिव मिश्रले बताए । प्रतियोगिता चितागोङमा सन् २०१७ फेब्रुअरी १८ देखि मार्च १ सम्म हुने उनले बताए ।

‘बंगलादेशमा खेल्न जाने निश्चित भइसकेको छ,’ मनाङका अध्यक्ष मुखिया गुरुङले भने, ‘आहा–रारा गोल्डकपमा सहभागी हुन शुक्रबार पोखरा जाँदै छौं । त्यसपछि मोफसलका प्रतियोगितामा सहभागी हुने छैनौं । हामी अन्तर्राष्ट्रिय प्रतियोगिता (शेख कमल कप) का लागि ट्रेनिङ गर्नेछौं ।’ यसबीच सिमरा, झापा र बुढासुब्बा गोल्डकप लगायत मोफसलका प्रतियोगितामा मनाङ सहभागी नहुने उनले बताए ।

शेख कमल कप दोस्रोपल्ट हुन लागेको हो । सन् २०१५ मा पहिलोपल्ट आयोजित प्रतियोगितामा अफगानिस्तान, पाकिस्तान, श्रीलंका, भारत र बंगलादेशका आठ क्लबले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए । घरेलु टिम चितागोङ अबहनीले इस्ट बंगाललाई ३–१ ले पन्छाउँदै उपाधि जितेको थियो । यसपल्ट पनि आठ टिमले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गर्ने बताइएको छ ।

सहिद समारक ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिग आयोजनाबारे एन्फा मौन रहेको अवस्थामा अहिले मनाङले अफ्रिकी मूलका ओलावाले आफिज र सिसोकोसहित १६ खेलाडी लिएर मोफसलमा प्रतियोगिता खेल्दै आएको छ ।

राष्ट्रिय टिमका कप्तान अनिल गुरुङ र उपकप्तान विराज महर्जन, एएफसी सोलिडारिटी कपमा नेपाललाई च्याम्पियन बनाउन मकाउविरुद्ध फाइनलको एकमात्र गोल गरेका सुजल श्रेष्ठ मनाङमा निरन्तर छन् ।

‘देशको प्रतिनिधित्व गर्ने कुरा हो । अरु राष्ट्रिय खेलाडी थप्दै टिम बलियो बनाएर बंगलादेश जानेछौं,’ अध्यक्ष गुरुङले भने । कीर्तिमानी सातपल्ट सहिद स्मारक ए डिभिजन लिग जितेको मनाङसँग एएफसी क्लब च्याम्पियनसिप (प्लेअफ), प्रेसिडेन्ट्स कप (दुईपल्ट) खेलेको अनुभव पनि छ । सन् २०१३ मा भुटानमा सम्पन्न किङ्स कपको उपाधि जितेको उसले सिक्किमको प्रतिष्ठित गभर्नर्स गोल्डकपको फाइनल पनि खेलेको थियो ।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङले उपाधि जित्ने योजनासहित बंगलादेश यात्रा गर्ने बताए । उनको टिमले सिजनको पहिलो उपाधि धनगढीमा शनिबार जितेको थियो । कप्तान अनिलको गोलसँगै फाइनलमा संकटालाई १–० ले हराएर मनाङ सुदूरपश्चिम खप्तड गोल्डकप च्याम्पियन भएको थियो । चार महिनायता विकास रनिङ सिल्ड (नारायणघाट), सुरुङ्गा गोल्डकप (झापा) मा अन्तिम चारबाटै बाहिरिएको मनाङले दुहबी गोल्डकप र हेटौंडा कप फाइनलमा आर्मीसँग हार बेहोरेको थियो ।