Friday 18th October 2024

    सुनको भाउ हालसम्मकै उच्च विन्दुमा    हमासका प्रमुख याह्या सिन्वरको इसराइली आक्रमणमा मृत्यु    मारवाडीका अगाडी मन्त्री पाण्डे किन लम्पसार परे ?    यस वर्षको बडादशैँको टीका र जमरा लगाउने आज अन्तिम दिन    चलचित्रकर्मीले लगाए यादव खरेलको हातबाट दसैँको टीका

सेक्युलरिज्मको सही अनुवाद धर्म निरपेक्षता होइन । :- कमल थापा

Tuesday, January 24, 2017 National Power

धर्म निरपेक्षताको प्रवेशसबैलाई थाहा भएकै कुरा हो, नेपालमा आजसम्म भएका कुनै पनि आन्दोलनमा धर्मको एजेन्डा उठेको थिएन । हिन्दू राष्ट्रको पहिचान मेटाउनुपर्छ भन्ने एजेन्डा दोस्रो जनआन्दोलनको पनि बिल्कुलै थिएन । तर, आन्दोलन सकिएको ३ हप्ता बित्दा–नबित्दै सबैभन्दा पहिलो आक्रमण हिन्दू राष्ट्रको पहिचानमाथि भयो । ०६३ जेठ ४ गते पुनस्र्थापित प्रतिनिधिसभाले जारी गरेको घोषणापत्रमा संघीयताको विषय छोएको थिएन, राजतन्त्रलाई निरन्तरता दिने कुरा गरिएको थियो । तर रहस्यपूर्ण ढंगले हिन्दू राष्ट्रको पहिचान मेटाएर ‘धर्म निरपेक्षता’ उल्लेख गरियो । यसबाट के बुझिन्छ भने धर्म निरपेक्षता नेपालमा नियोजित ढंगबाट लादिएको हो र यसका पछाडि नेपालमा खासगरी पश्चिमा मुलुकहरूबाट आर्थिक सहयोग लिने गरेका केही गैरसरकारी संस्थाको हात छ । तिनीहरू पहिल्यैदेखि खुलेआम हिन्दू राष्ट्रको पहिचान समाप्त पार्ने, धर्म परिवर्तन गराउने कार्यमा लागेका थिए । आन्दोलनमा संलग्न भएका राजनीतिक दल र नेताहरूलाई पनि उनीहरूले प्रत्यक्ष र परोक्ष रूपमा आर्थिक, राजनीतिक तथा नैतिक सहयोग उपलब्ध गराएका थिए । त्यसैको परिणाम स्वरूप आन्दोलन सकिनासाथ बिजुली चम्केजसरी हिन्दू राष्ट्रको पहिचानमाथि आक्रमण भयो ।

हिन्दू राष्ट्र नै किन ?नेपालमा ८१ प्रतिशत हिन्दू, ९ प्रतिशत बुद्धिस्ट, तीन प्रतिशत किरात धर्म मान्ने जनता छन् । यी सबैलाई जोड्दा करिब ९४ प्रतिशत ओमकार वा सनातन परिवारभित्रका सदस्य देखिन्छन् । यिनीहरूको आस्था र पहिचानको संरक्षणबिना मुलुकमा शान्ति र स्थायित्व कायम हुन सक्दैन । दोस्रो कुरा, यति ठूलो जनसमुदायको पहिचानलाई कमजोर बनाउने प्रयास गर्दा सदियौँदेखि नेपालमा कायम रहँदै आएको धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव खल्बलिन्छ र एक दिन ठूलो धार्मिक द्वन्द्वमा मुलुक फस्न सक्ने खतरा रहन्छ । तेस्रो, बहुसंख्यक जनताको पहिचान संरक्षण नहुँदा नेपालीको पहिचान नै दीर्घकालीन रूपमा संकटमा पर्ने खतरा रहन्छ । त्यसकारण नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भनेका हौँ । हामीले हिन्दू राष्ट्रको कुरा गरेर धर्ममा आधारित शासन व्यवस्थाको कुरा गरेका होइनौँ । धर्मको आधारमा कानुन बनाउने कुरा गरेका पनि होइनौँ । हाम्रो आशय भनेको पहिचानको रक्षा मात्रै हो । धर्म निरपेक्षताको उद्भव पश्चिमा मुलुकहरूमा बेग्लै पृष्ठभूमिमा भएको हो । राज्य सञ्चालनमा चर्चको भूमिका अन्त्य गर्नका निम्ति ‘सेक्युलरिज्म’ अवधारणा प्रादुर्भाव भएको हो । किनकि, त्यसले राज्य र जनताबिच कलहको अवस्था पैदा गरेको थियो । नेपालमा धर्म वा धार्मिक संस्था र राज्यबिच कहिल्यै द्वन्द्व भएको छैन । त्यसैले नेपालका निम्ति धर्म निरपेक्षताको आवश्यकता नै छैन । हामीले के पनि बुझ्नुपर्छ भने, सेक्युलरिज्मको सही अनुवाद धर्म निरपेक्षता होइन । सेक्युलरिज्ममा केही हदसम्म तटस्थताको प्रत्याभूति हुन्छ ।

धर्म निरपेक्षताले धर्म र धार्मिक भावनालाई अवरोध गर्ने काम गर्छ । अंग्रेजीमा हामी ‘रिलिजन’ भन्छौँ, तर धर्म भनेको रिलिजन होइन । रिलिजन भनेको सम्प्रदाय हो । सम्प्रदायको संस्थापक हुन्छ । त्यसको प्रादुर्भाव मिति हुन्छ । त्यसलाई परिभाषित गर्ने आधिकारिक ग्रन्थ हुन्छ । तर, सनातन धर्मको कोही संस्थापक छैन । यसको प्रादुर्भाव मिति छैन र यसको आधिकारिक ग्रन्थ पनि छैन । यो त एउटा मानवजातिको सृष्टिको प्रारम्भबाट जुन रीतिस्थिति र परम्परा स्थापित हुँदै गयो, त्यसैको विकसित रूप हो । धर्म परिवर्तनको शृंखलानेपालमा धर्म निरपेक्षताको आडमा योजनाबद्ध र संगठित रूपमा धर्म परिवर्तन गराउने काम तीव्र रूपमा भइरहेको छ ।

लोभ–लालच, डर–त्रास र भ्रम सिर्जना गरेर पछिल्ला आठ–दश वर्षबिच मात्रै दसौँ लाख नेपालीको धर्म परिवर्तन गराइएको छ । धर्म परिवर्तनको निसानामा सबैभन्दा बढी आदिवासी–जनजाति र दलित समुदायका व्यक्ति परेका छन् । यही रफ्तारमा धर्म परिवर्तनको अभियान जारी रहने हो भने केही वर्षपछि नेपालमा हिन्दू, बुद्धिस्ट र किराती नै अल्पमतमा पर्न सक्ने खतरा देखिन्छ । त्यसैले कुरा पहिचानको मात्रै होइन, अस्तित्वको पनि हो । अहिले धर्म रिपेक्षताकै आडमा धार्मिक भावना र धार्मिक आस्थामाथि आक्रमण भइरहेको छ । खुलेआम देशका विभिन्न भागमा गौहत्या भइरहेको छ । धार्मिक ग्रन्थहरूलाई नष्ट पार्ने काम भएका छन् । योजनाबद्ध ढंगबाट हाम्रो परम्परागत धर्म, मान्यता, संस्कृति चाडपर्वप्रति वितृष्णा र घृणा फैलाउने काम भएको छ । यो त राष्ट्रकै अस्तित्वसँग गाँसिएको विषय हो । बहुसंख्यक जनताको आस्था, चाहना र पहिचानलाई निषेध गरेर विदेशीको दबाब र प्रभावमा हामीले केही अल्पसंख्यकलाई खुसी पार्न काम गर्‍यौँ भने भोलि त्यसले निश्चित रूपमा धार्मिक द्वन्द्व निम्त्याउँछ ।

नेपालमा पश्चिमा मुलुकहरू आफ्नो सांस्कृतिक प्रभाव विस्तार गर्न चाहन्छन् । त्यसका निमित्त उनीहरूले ठूलो लगानी गरिरहेका छन् । ब्रिटिस राजदूतबाट व्यक्त भएको विचार र प्रभावले नेपालमा धर्म परिवर्तन गराउनका निम्ति योजनाबद्ध र संगठित रूपमा प्रयास कहाँबाट भइरहेको छ भन्ने कुरा पनि छर्लङ्ग हुन्छ । वास्तवमा धार्मिक स्वतन्त्रता हुनुपर्छ । सबै धर्मबिच समानता हुनुपर्छ । कुनै व्यक्तिले आफ्नो स्वेच्छाले धर्म परिवर्तन गर्न चाह्यो भने पनि त्यो मौलिक अधिकार संविधानमा संरक्षण हुनुपर्छ । तर, धर्म परिवर्तन गर्ने र गराउने अधिकार सुनिश्चित हुनुपर्छ भनेर विदेशी राजदूतले भन्नु निन्दनीय कुरा हो । कुटनीतिक मर्यादा र सिमाको उल्लंघन हो । उहाँकै आफ्नो देश कुनै न कुनै रूपमा धर्म सापेक्ष छ । उहाँको देशमा चर्चको प्रमुख नभई राष्ट्राध्यक्ष, रानी वा राजाको गद्दीमा बस्न सक्ने अधिकार छैन । परोक्ष रूपमा त्यो धर्म सापेक्ष नै भएन र ? उहाँले नेपालमा आएर धर्म परिवर्तनको पक्षमा लबिङ गर्न सुहाउँदैन । सडकदेखि सदनसम्महामीले सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र हुनुपर्छ भनिराख्या छौँ । यो निरन्तर रूपमा चलिरहने विचार हो । हाम्रो पार्टीका अरू एजेन्डा पनि उत्तिकै महत्त्वपूर्ण छन् । तर, स्वाभाविक रूपमा अहिले हिन्दू धर्मको पक्षमा जनलहर देखिएको छ । त्यसैले यो बढी चर्चामा आएको हो ।

:-सम्पादित अंश

लेखक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष हुन् ।

साभार : RPP.org बाट