Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

चलचित्रकर्मीले लगाए यादव खरेलको हातबाट दसैँको टीका

Wednesday, October 16, 2024 National Power

काठमाडौँ – चलचित्रकर्मीले वरिष्ठ निर्देशक यादव खरेलको हातबाट दसैँको टीका लगाएका छन् । चलचित्र निर्देशक समाजको आयोजनामा लाजिम्पाटस्थित नेपाली चुल्हो रेष्टुराँमा मङ्गलवार आयोजित एउटा विशेष समारोहमा वरिष्ठदेखि कनिष्ठसम्म चलचित्रकर्मीले खरेलको हात बाट टीका थापेका हुन् । कार्यक्रममा कलाकार रवीन्द्र खड्काको हातबाट जमरा तथा निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुलीले दक्षिणा दिएका थिए । चलचित्र विकास बोर्डका पहिलो अध्यक्ष यादव समेत रहेको खरेलसँग वर्तमान अध्यक्ष दिनेश डिसीसम्मले पनि टीका थापेका थिए । असहज स्वास्थ्य अवस्थाका बाबजुद निर्देशक समाजको अनुरोधमा खरेल कार्यक्रममा भाग लिएका थिए । कार्यक्रममा खरेलले सबै चलचित्रकर्मीलाई शुभकामना दिँदै नेपाली फिल्मको विगतका विभिन्न प्रसङ्गहरू स्मरण गर्दै यो क्षेत्रको विकासमा राजा महेन्द्रको योगदान समेत स्मरण गरे । उनले आज प्रविधिको विकासले नेपाली फिल्म क्षेत्रले ठुलो फड्को मार्न सफल भएको उनको धारणा रहेको थियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले अध्यक्षको रूपमा कार्यभार सम्हालेको छोटो अवधिमै नेपाली फिल्म क्षेत्रका लागि विभिन्न सकारात्मक सुधारहरू ल्याउने कार्यको थालनी गरिसकेको जानकारी गराए । सरस्वतीनगरस्थित बोर्डको कार्यालयलाई अपाङतामैत्री, महिलामैत्री बनाएको जानकारी गराउँदै अध्यक्ष डिसीले फिल्म प्रदर्शनको मुखैमै आर्थिक अभावका कारण प्रचार–प्रसार गर्न असमर्थ भएका फिल्म निर्माताहरूका लागि बोर्डको ठुलो पर्दासहितको हल निःशुल्क उपलब्ध गराउने कार्यको थालनी गरेको जानकारी दिए ।

अध्यक्ष डिसीले आगामी वर्ष चलचित्र विकास बोर्डले २५औँ वार्षिकोत्सव मनाउने क्रममा करिब चार महिनासम्म देशव्यापी कार्यक्रमहरू आयोजना गर्दै नेपालका गाउँदेखि सहरसम्मलाई नेपाली फिल्ममय बनाउने तयारी भइरहेको समेत घोषणा गरे । नेपाल चलचित्र कलाकार सङ्घका निवर्तमान अध्यक्ष रवीन्द्र खड्काको संयोजनमा आयोजना गरिएको समारोहमा नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनक दीप पराजुली, महासचिव अरुण कुमार प्रधान तथा सचिव देवेन्द्र पाण्डे, नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला तथा नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्ल, कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, निर्देशक राजेन्द्र सलभ, अभिनेता सरोज खनाल, द्वन्द्व निर्देशक राजेन्द्र खड्गी, निर्माता तथा वितरक गोपालकाजी कायस्थ, महिला निर्देशकहरू सुचित्रा श्रेष्ठ, रक्षा सिंह राणा, अभिनेता धिरेन शाक्य, निर्देशक माधव खरेल, श्रीदेव भट्टराई, कलाकार आरपी पन्त, निर्देशक सूर्य बोहरा, सुवास गजुरेल, कलाकार उत्तम केसी, सुनिल कटवाल, नारायण प्रधान, शिवहरी बैरागी, गोपाल ढकाल छन्दे, अभिनेता पूरन जोशी, निर्देशक रामशरण कोइराला, अभिनेत्री नेन्सी खड्का, गायक सुमित खड्कालगायत थुप्रै कलाकर्मीको उपस्थिति रहेको थियो ।

‘बडादसैँको शुभकामना तथा चलचित्र कर्मीहरूबिच टीका ग्रहण गरौँ भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको निर्देशक समाजका अध्यक्ष जनक दीप पराजुलीले बताए ।