Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार सारङीवादक गन्धर्वलाई प्रदान

Tuesday, November 7, 2023 National Power

काठमाडौं – नेपाली साङ्गीतिक क्षेत्रका गायन जोडी कन्हैया सिंह परियार र अञ्जना गुरुङद्वारा स्थापना गरिएको ‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार २०८०’ यस वर्ष वरिष्ठ गायक एवम् वाद्यवादक कृष्णबहादुर गन्धर्वलाई प्रदान गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच उहाँलाई नगद ५१ हजार राशीको उक्त पुरस्कार अर्पण गरिएको हो ।

वरिष्ठ कवि तुलसी दिवस, वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा, वरिष्ठ गायिका चन्द्रकला शाह, वरिष्ठ गीतकार विश्व बल्लभ, गायक कन्हैया सिंह परियार, कार्यक्रम संयोजक कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, निर्देशक माधवराज खरेल र टीका गोपाल डिजिटल एम क्रियसन प्रालिका अध्यक्ष गीता सिंहले उक्त पुरस्कार प्रदान गर्नुभएको थियो ।

नेपाली लोकगीत तथा सुगम सङ्गीतमा आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नुभएका सङ्गीतकर्मी एवम् अग्रज तथा वरिष्ठ सारङ्गी बाद्यबाधक कृष्णबहादुर गन्धर्व नेपाली लोकगीत सङ्गीत एवम् सुगम सङ्गीतको विकासमा अनवरत रूपमा योगदान दिँदै आएका प्रसिद्ध व्यक्तित्व हुनुहुन्छ । कार्यक्रममा सम्मानित स्रष्टा गन्धर्वले सारङ्गीमा आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्नुभएको थियो ।

यो पुरस्कार स्थापनापछि पहिलो पटक पुरस्कृत हुनुभएकी गायिका चन्द्रकला शाहले उक्त पुरस्कारबाट पाएको पैसाले आफ्नो पहिलो किताब प्रकाशन गर्नुभएको छ । गायिका शाहको उक्त गीत र गजलसङ्ग्रह उक्त कार्यक्रममा सार्वजनिक गरिएको थियो ।

कन्हैया सिंह परियार नेपाली गीतसङ्गीतको क्षेत्रमा झण्डै तीन दशकदेखि क्रियाशील गायक एवम् सङ्गीतकारका रूपमा परिचित हुनुहुन्छ भने अञ्जना गुरुङ नेपाली सुगम सङ्गीत तथा चलचित्र क्षेत्रमा चर्चाको शिखरका रूपमा रहनुभएकी गायिका हुनुहुन्छ । नेपाली साङ्गीतिक क्षेत्रमा आदर्श जोडीको छवि बनाएको यस जोडीले विगतका वर्षदेखि निरन्तररूपमा नेपाली गीत सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका एकजना सङ्गीतकर्मीलाई नगद राशिसहित सम्मान गर्दै आएको छ । यसअघि वरिष्ठ लोकगायिका चन्द्रकला शाह र वरिष्ठ गीतकार विश्वबल्लभ नेपाली यो पुरस्कारबाट पुरस्कृत तथा सम्मानित भइसक्नुभएको छ ।

यसअघि पुरस्कृत हुने व्यक्तित्व स्वतः ‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ समितिको सल्लाहकारसमेत रहने प्रावधान रहेको समितिका सदस्य – सचिव चलचित्र निर्देशक माधवराज खरेलले जानकारी गराउनुभयो । ‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’ समितिमा वरिष्ठ सल्लाहकारका रूपमा विशिष्ट सङ्गीतकार, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा परिषद्का पूर्वउपकुलपति शम्भुजित बाँस्कोटा, सल्लाहकारमा विशिष्ट लोकगायिका चन्द्रकला शाह, विशिष्ट गीतकार विश्वबल्लभ रहनुभएको छ । अफिसियल उद्घोषकमा रेडियोकर्मी हेम सुवेदी एवम् समाचार संयोजकमा सञ्चारकर्मी कृष्ण भट्टराई हुनुहुन्छ ।

त्यसैगरी ‘कन्हैया-अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार’को आयोजक समितिमा अध्यक्षमा गीता सिंह, कार्यक्रमका संयोजकमा सङ्गीतकार सन्तोष श्रेष्ठ, सदस्यसचिव चलचित्र निर्देशक माधवराज खरेल र सदस्यहरूमा मोडल अपेक्षा सिंह, अनुप सिंह बागदास, निर्देशक हेम प्रभाष, सञ्चारकर्मी कमला जोशी, सिर्जना श्रेष्ठ एवम् अनुगीत सिंह बागदासलगायत रहनुभएको छ ।