Monday 9th March 2026

    नेशन्स गट ट्यालेन्ट सिजन २ भव्यताका साथ सम्पन्न    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee

जाजरकोट र रूकुम पश्चिमका भूकम्पमा परेका घाइतेहरूले जिल्लाका अस्पताल भरियो 

Saturday, November 4, 2023 National Power

काठमाण्डौ – जाजरकोट केन्द्रविन्दू भएर शुक्रबार राति गएको भुइँचालमो सयौं मानिस घाइते छन्। कार्तिक १७ गते राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दू भएर गएको भुइँचालोमा जाजरकोट र रूकुम पश्चिमका नागरिक बढी प्रभावित भएका छन्।

केन्द्रविन्दू रहेको बारेकोटमा भने मानवीय क्षति नभएको बारेकोट गाउँपालिकाका अध्यक्ष बिरबहादुर गिरीले जानकारी दिए। भौतिक संरचनाहरू भने पूर्ण रूपमा क्षति भएका छन्। प्रहरीसँगको विवरण अनुसार जाजरकोट र रूकुम पश्चिममा गरी १२८ जनाको मृत्यु भएको छ। त्यसमध्ये जाजरकोटका मात्र ९२ जना रहेका छन्।

घाइतेहरूले जिल्ला अस्पताल जाजरकोट खचाखच भरिएको छ। घाइतेहरूको उद्दार तथा उपचारका लागि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरू परिचालन गरिएको छ। भुकम्पमा परि गम्भीर घाइते भएकाहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत् उपचारका लागि ठूला अस्पतालमा लैजाने काम भईरहेको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी भिमप्रकाश ढकालले जानकारी दिए।

‘भूकम्पमा परी सामान्य घाइते भएकाहरूको स्थानीय अस्पताल तथा मेडिकल र अलि बढी चोट भएकाहरूलाई जिल्ला अस्पतालमा लगेर उपचार गर्ने काम भइरहेको छ,’ डिआईजी ढकालले भने, ‘सिकिस्त बिरामीहरूलाई हेलिकप्टरमार्फत सुर्खेत र नेपालगञ्ज लगिएको छ।’ उनका अनुसार सुर्खेतमा रहेको प्रहरीको स्वास्थ्यकर्मी टोली र नेपालगञ्जमा रहेको नेपाल प्रहरी अस्पतालबाट चिकित्सकको टोली जाजरकोटमा परिचालन गरिएको छ।

सुर्खेतबाट हाडजोर्नी रोग विशेषज्ञ डाक्टर रविन केसीको नेतृत्वमा टोली जाजरकोट गएको छ। रूकुमको आठविसकोट नगरपालिकामा नेपाली सेनाको चिकित्सक टोली उपचारका लागि खटिएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले बताए। यस्तै जिल्ला अस्पताल जाजरकोटमा चिकित्सकहरूको अपरेशन टोली पुगेको उनले जानकारी दिए। उनका अनुसार नेपाली सेनाको हेलिकप्टरले पहिलो उडानमार्फत तीन जनाघाइतेलाई सुर्खेत ल्याएको छ।

उनीहरूलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल लगिएको छ। ‘नेपाली सेनाको हेलिकप्टरलेघाइतेहरूको उद्दार तथा थप उपचारका लागि अस्पता लैजान उडान गरिरहेको छ, बिरामी लिन जाँदा स्वास्थ्यकर्मीको टोली पनि प्रभावित क्षेत्रमा गईरहेको छ,’ मन्त्री जिसीले भने, ‘एम्बुलेन्सहरू र गाडीमार्फत पनिघाइतेहरूलाई अस्पताल लिने काम भईरहेको छ।’

कतिपयघाइतेहरूलाई नेपालगञ्ज पनि उपचारका लागि लगिएको मन्त्री जिसीले जानकारी दिए। त्यस्तै भूकम्पमा परी घाइतेहरूको उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताललाई डेडिकेटेड अस्पताल तोकिएको छ। कोहलपुर मेडिकल कलेज लगायत नेपालगञ्जमा रहेका ठूला अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।

भेरी अस्पताल, सैनिक र प्रहरी अस्पतालका १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ भने घाइतेहरूको आफन्तजनको सहजतका लागि नरेश श्रेष्ठलाई फोकल पर्सन तोकिएको छ। स्वास्थ्यकर्मीको अभाव नहुने व्यवस्था गरिएको पनि प्रजिअ अधिकारीले जानकारी दिए।

हेलिकप्टर बाट आउने बिरामीक‍ा लागि रांझा विमानस्थल , र आर्मिको हेलिप्याडमा २र२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ । रगतको मौज्दात रहेको अपुग भएमा फ्रेश ब्लड आपुर्तिको लागि रक्तदाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको प्रजिअ अधिकारीले जानकारी दिए।

Source : SETOPATI