Sunday 15th June 2025

    शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न    अहमदाबादमा दुर्घटनाग्रस्त एयर इन्डियाको जहाजमा थिए २४२ यात्रु    प्रेमध्वज प्रधानको ८९औं जन्मजयन्तीमा भव्य सम्मान समारोह, चार संगीतकर्मी पुरस्कृत    ‘गाउँ फर्क’की नायिका प्रतिक्षाको स्टेज जलवा: महोत्सवमा उत्सवमय माहोल    राष्ट्रिय साधना म्युजिक रिवार्ड (अवार्ड) २०८१ सम्पन्न

मोटर भेहिकल सम्झौता कार्यान्वयन गर्ने सहमति

Thursday, March 10, 2022 National Power

काठमाडौँ-  सदस्य राष्ट्रबीच सहजै व्यापार तथा यात्रु आवतजावत गर्न सकिने मोटर भेहिकल सम्झौता (एमभीए) कार्यान्वयन गर्न नेपाल, भारत र बङ्गलादेश समझदारीमा पुगेका छन् । भारतमा दुई दिनसम्म चलेको तीन देशका प्रतिनिधिबीचको छलफल सम्झौता कार्यान्वयन गर्ने सहमतिमा टुङ्गिएको हो । बङ्गलादेश, भुटान, भारत र नेपाल सदस्य राष्ट्र रहेको बीबीआईएन एमभीएमा भुटानले भने सहभागिता जनाएको छैन । सम्झौता कार्यान्वयनमा पर्यावरणीय र सुरक्षा कारण देखाएको भुटान यस परियोजनाको पर्यवेक्षक मात्र रहनेछ ।

चार देशका नागरिकलाई सहजै एक अर्काको देशमा आवतजावत गराउने तथा ढुवानीमा पनि सहजता ल्याउने उद्देश्यले २०७२ जेठ ३२ गते सम्झौतामा हस्ताक्षर भएको थियो । यद्यपि सम्झौता भने अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । दुई वर्षअघि नयाँ दिल्लीमा भएको बैठकयता सम्झौता कार्यान्वयनको कुनै प्रक्रिया अगाडि बढेको थिएन । कोभिड–१९ सङ्क्रमणका कारण सदस्य राष्ट्रबीच बैठक हुन नसकेको भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मङ्गलबार सम्पन्न छलफलले सम्झौतामा रहेका प्रोटोकल कार्यान्वयनका लागि समझदारी जुटाएको हो । यससँगै सम्झौता कार्यान्वयनका लागि एउटा प्रक्रिया छोटिएको छ । सम्झौता कार्यान्वयनमा आइसकेपछि हस्ताक्षरकर्ता देशका नागरिक सडक यात्रामार्फत अर्को देशमा आवतजावत गर्न सक्नेछन् । त्यस किसिमका सवारीलाई आफ्नो देशमा कहाँसम्म प्रवेश दिने भन्ने विषय भने सम्बन्धित देशले नै टुङ्गो लगाउनेछ ।

बैठकका क्रममा नेपाल, भारत र बङ्गलादेशले समझदारीपत्रमा हस्ताक्षर गर्ने र कार्यान्वयन गर्ने तत्परता देखाएको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै भुटानको संसद्बाट अनुमोदन भएको उक्त सम्झौता पनि बैठकले टुङ्गो लगाएको छ ।बैठकमा सदस्य राष्ट्रले सम्झौताको सहज कार्यान्वयनमा जोड दिएका थिए । त्यस्तै यात्रु तथा ढुवानी प्रोटोकल टुङ्ग्याउन विशेष पहल र कार्यतालिका निर्माणमा पनि बैठकमा सहमति जुटेको थियो ।

बैठकको नेपालका तर्फबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्माले नेतृत्व गर्नुभएको थियो । त्यस्तै भारतका तर्फबाट विदेश मामिला मन्त्रालयका सहसचिव स्मिता पन्त र बङ्गलादेशका तर्फबाट विदेश मामिला मन्त्रालयका दक्षिण एसिया हेर्ने महानिर्देशक एटीएम रोकेबल हकले नेतृत्व गर्नुभएको थियो । भुटानको पर्यवेक्षक समूहको नेतृत्व भारतस्थित भुटानको राजदूतावासका प्रथम सचिव थिन्ले नोर्बुले गर्नुभएको थियो ।